gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीकै खबर: सम्पत्ति खोज्दा ‘डिभोर्स’, वैदेशिक रोजगारीको पीडा

घनश्याम गौतम
गुल्मी, भाद्र १३ । बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी इश्मा–४ सिम्पानीकी ३० वर्षीया विना थापा दूधेबालक छाडेर घरबाट हिँडेको तीन साता पुग्न थाल्यो । पति बाबुराम थापा पत्नीको खोजीमा तम्घासमा भौंतारिरहेका छन् तर उनको अत्तोपत्तो छैन ।

‘घरमा ९ महिनाको छोराले आमाको दूध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए,’ बाबुरामले भने, ‘तैपनि कतै फेला पार्छु कि भनेर खोज्दै छु ।’ तम्घासको बैंकमा रहेको ४ लाख रुपैयाँ निकालेर ल्याउने बहानामा हिँडेकी विनालाई प्रहरीले पनि खोज्दै छ तर फेला पार्न सकेको छैन । भारतको दिल्ली पुगेर २४ वर्षदेखि कमाएको सबै सम्पत्ति लिएर पत्नी फरार भएपछि उनी विक्षिप्त छन् । ‘खातामा भएको १९ लाख रुपैयाँ सबै निकालिछे,’ उनले भने, ‘घरका गाई, भैंसी, बाख्रा, कुखुरासमेत छैनन् ।’
bidesh bideshi
विवाह भएको १३ वर्षसम्म सँगै र राम्रै चलेको उनको घरबार बिदामा आएका बेला हिसाबकिताब खोज्न थालेपछि बिग्रिएको हो । वर्षको एकपटक आउने बाबुरामले आएका बेला सबै हिसाब खोज्दैनथे । छोटो समयमै फर्किने भएकाले नखोजेको र घरमा आउँदा राम्रै व्यवहार हुने र पैसा सबै तम्घासमा बैंकमा छ भनेपछि विश्वास लागेको उनले बताए । यसपटक लामो बिदामा आएका उनले हिसाब खोजेपछि पत्नीसँग मनमुटाब बढेको थियो । ‘शंका लागेपछि पैसा खोज्दा सम्बन्ध बिग्रन थाल्यो,’ उनले भने, ‘तम्घासमा भएको रकम लिन गएकी श्रीमती सम्पर्कविहीन भइन् ।’ अहिले छोराछोरी हेरी मन बुझाउने गरेको उनले बताए ।

प्रहरी कार्यालयका मुद्दा फाँटका असई सत्यनारायण यादवका अनुसार विदेशमा भएका पति घर फर्केर सम्पत्ति खोज्नेबित्तिकै सम्बन्धविच्छेद गर्ने र हराउने महिलाको संख्या बढदै गएको छ । ‘अहिले महिलापीडित पुरुषको उजुरी बढ्दो छ,’ उनले भने, ‘लामो समय पति विदेशमा बस्ने र रकम पठाउने, यता पत्नी अर्कैसँग लागेर सम्पत्ति सक्ने र पछि हिसाब खोज्दा भाग्ने वा डिभोर्स माग्ने प्रवृत्ति बढ्दै छ ।’ सम्पत्ति खोज्ने पतिसँग सम्बन्धविच्छेद माग्दै अदालत पुगेर उल्टै थप सम्पत्ति माग्ने महिलाको संख्या बढ्दै गएको उनले बताए ।

गुल्मी दरबार गाउँपालिका–१ बलिथुमका हुमबहादुर सर्तुंगी पनि पत्नीबाटै पीडित भए । मलेसिया गएर ३ वर्ष दु:ख गरी कमाएको सम्पत्ति सकेर ५ वर्षको छोरा पनि लिएर पत्नी जमुना घरबाट हिँडिन् । पैसा कमाएर सुखी घरबार बनाउने उद्देश्य लिएर मलेसिया पुगेका उनी फर्केर आफैंले पठाएको पैसा खोज्दा जमुना घर छाडेर हिँडिन् । ‘पैसा खोज्दा छोरोसमेत गुमाएँ,’ उनले भने, ‘डेढ लाख रुपैयाँ नगदसमेत लिएर वैशाख २४ मा भागेकी श्रीमतीको अहिलेसम्म अत्तोपत्तो छैन ।’

पत्नी हिँडेपछि अहिले सन्तान न सम्पत्ति भएको उनको गुनासो छ । प्रहरीका अनुसार यो वर्ष मात्र सम्पत्ति लिएर पत्नी फरार भएको भन्दै ६ पुरुषले खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएका छन् । त्यस्तोमा अधिकांश रोजगारीका लागि विदेश गएर फर्केका छन् । पछिल्लो ३ वर्षको तथ्यांक हेर्ने हो भने लैंगिक हिंसाको घटना घट्दो छ तर पत्नीपीडित पुरुषको संख्या बढ्दो छ । आव २०७२/७३ मा लैंगिक हिंसाका १ सय ३४ घटना भएकामा आव ०७३/७४ मा ९५ मा झरेका छन् ।

बालबालिका अलपत्र
सम्पत्ति लिएर महिलाले सम्बन्धविच्छेद वा फरार हुँदा त्यसको पीडा भने बालबालिकामा पर्न थालेको छ । प्रहरीमा बर्सेनि बालबालिका बिचल्ली बनाएर भाग्ने महिलाको संख्या बढ्दो छ । बाबु रोजगारीका लागि विदेशमै भएको अवस्थामा आमा हिँडेपछि अलपत्र पर्ने बालबालिकाको संख्या सयभन्दा बढी छ । पछिल्लो समय बाबुबिनाका आमाबाट जन्मिएका र आमाले छाडेर गएका बालबालिकाको संख्या बढ्दै गएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख प्रतिभा पन्थीले बताइन् ।

‘पछिल्ला वर्षमा आमाले छाडेर गएका र बाबुविहीन बालबालिका बढ्दै छन्,’ उनले भनिन्, ‘ठयाक्कै तथ्यांक छैन तर अपलत्र परेका बालबालिकालाई सहयोग माग्न आउने क्रम बढ्दो छ ।’ प्रहरीमा उजुरी परेपछि सहयोगका लागि आग्रह गर्ने बढ्दै गएको उनले बताइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D