हुमाकान्त पोखरेल
गुल्मी, १७ माघ । गुल्मीमा स्थानीयहरु प्रविधीमैत्री बन्दै गएका छन् । जस अन्तर्गत अहिले मोवाइल एपसको लहर चलेको छ । स्थानीय तहका महत्वपूर्ण सुचनाहरु सहज र सरल रुपमा नागरिकहरुले मोबाइल एप्सबाट थाहा पाउँछन् । जिल्लाको रेसुङ्गा नगरपालिका, मालिका, धुर्कोट, मदाने र रुरु लगायतका गाउँपालिकाले मोबाइल एप्स संचालनमा ल्याएका छन् । मोबाइल एप्स्बाट सर्वसाधारणहरुले पनि घरमै बसेर स्थानीय तहका बारेमा कुनै पनि सुचना प्राप्त गर्न सक्ने रेसुङ्गा नगरपालिकाका सुचना प्रविधी अधिकृत तपन पाण्डेले बताए ।
नगरपालिकाले माघदेखि मोबाईल एप्स् संचालनमा ल्याएको हो । सुचना प्रविधि विभागको समन्वयमा निर्माण भएका एप्स् गुगल प्ले स्टोरमा गई डाउनलोड गरी हेर्न सकिने पाण्डेयले बताए । नगरपालिकाका योजना, कार्यविधि, गतिविधि, योजनाको सम्भौता र फस्र्यौट गर्दा आवश्यक पर्ने कागजातहरुको बारेमा पनि एप्स्बाट जानकारी पाउन सकिन्छ । स्थानीय तहबाट प्रदान गरिने सेवाहरु, कार्यक्रम तथा परियोजनाहरु, विभिन्न सुचना तथा जानकारी, सुझाव, गुनासा, समस्या दर्ता, स्थानीय तहका वडाहरुको विवरण, नागरिक वडापत्र लगायतका महत्वपूर्ण स्थानहरु तथा आपतकालिन फोन नम्बर लगायतका कुराहरु मोबाइल एप्स्मा हुने धुर्कोट गाउँपालिकाका सुचना प्रविधी अधिकृत देवराज आचार्यले बताए ।
गुल्मीदरबार गाउँपालिकाले पनि मोबाईल एप्स् एक हप्ताभित्रै सार्वजनिक गर्दैछ । केहिदिनभित्रै पत्रकार सम्मेलन गरी मोबाईल एप्स् सार्वजनिक गर्ने सुचना अधिकारी सुरेश खनालले जानकारी दिए । एप्स् निर्माणको काम सबै सकिएको र केहि प्राविधिक कुराहरु मिलाएपछि एप्स् सार्वजनिक गर्ने उनले जानकारी दिए । इस्मा, छत्रकोट गाउँपालिकामा पनि मोबाईल एप्स् संचालन गर्ने तयारी रहेको छ । जसका लागि फारम भोरेर केन्द्रमा पठाएको र त्यहाँबाट स्वीकृत भएर आएपछि एप्स् संचालनमा आउने छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए ।
पछिल्लो समय सबैका हात–हातमा मोबाईल फोन छ । जसले गर्दा नागरिकलाई मोबाईल एप्स्बारे जानकारी लिन पनि सहज भएको छ । ‘औपचारिक रुपबाट कुनै पनि जानकारी लिन खोज्दा समय बर्ढी खर्चिन्छ ।’ धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधु घिमिरेले भने, ‘सबैको हात–हातमा मोबाईल फोन भएसँगै एप्स् प्रयोगकर्ताको सङ्ख्या बढ्ने अनुमान छ ।’ गाउँपालिकाले गरेका गतिविधि, योजना लगायतका महत्वपूर्ण विषयवस्तुहरु एप्स्मा समेटिएकोले नागरिकहरुले सहज रुपमा सुचना प्राप्त गर्न सक्ने उनले बताए । त्यस्तै रुरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीका अनुसार मोबाईल एप्स्ले स्थानीय तहमा सु–शासन कायम गर्न सहयोग पुग्छ । गाउँपालिकाले गरेका काम तथा आगामी योजना समेत समावेश गरिएकोले सर्वसाधारणले त्यसको अवलोकन गरी आवश्यक सुझाव समेत दिन सक्ने भएकोले बढी लाभदायक भएको उनले दाबी गरे ।