गोकर्ण प्रकास ज्ञवाली
भदौ १५ । गुल्मी लामाखर्क रुपन्देही समाजले विशेष कार्यक्रमबिच चौथौं बार्षिकोत्सब तथा साधारण सभा सम्पन्न गरेको छ । समाजले बार्षिकोत्सबको अबसरमा समाजको गत आर्थिक बर्षको आयव्यय विवरण प्रस्तुत गरिएको थियो । समाजका कोषाध्यक्ष वसन्त कुमार ज्ञवालीले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत एवं छलफलको लागी पेश गरेका थिए ।
समाजले यसअघि सदस्यता नविकरण अभियान, स्तनक्यान्सर पिडित परिवारलाई आर्थिक राहत संकलन कार्यक्रम, दशैंमा गाऊँ जान यातायात संचालन कार्यक्रम, तिज मिलन, बनभोज कार्यक्रम, समाजको बचत तथा ऋण समूह सदस्यता अभियान जस्ता धेरै कार्यक्रम गरेको र केही अभियान निरन्तर रहेको समाजका अध्यक्ष गणेश ज्ञवालीले बताए ।
त्यस्तै समाजका सचिव कपिल ज्ञवालीले स्तन क्यान्सर पिडित गुल्मी बलेटक्सारकी कमला ज्ञवालीको लागी हालसम्म देशविदेशमा रहने लामाखर्क समाजका शुभेच्छुकहरुबाट हालसम्म दुईलाख बढि रकम संकलन गरी पिडित परिवारलाई चरणबद्धरुपमा हस्तातरण गरिसकेको बताए । साथै उनले समाजको पहलमा कमलाको छोरालाई बुटवलकै शहिदस्मारक बोडिङ स्कुलमा निशुल्क अध्ययनको व्यवस्था मिलाईएको पनि बताए । कार्यक्रममा अतिथि रहेका गुल्मी बलेटक्सार रुपन्देही समाजका अध्यक्ष हेम थापाले पनि कमलालाई राहतस्वरुप नगद रु.एकहजार उपलव्ध गराएका थिए । साथै अन्य दाताले पनि सहयोग रकम उपलव्ध गराएका थिए ।
समाजले बार्षिकोत्सब कार्यक्रमबिच हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गरि तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चेलीहरु उलेख्य मात्रामा उपस्थित भई सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको समाजका सल्लाहकार संयोजक गोकर्णराज ज्ञवालीले बताए ।
बार्षिकोत्सब कार्यक्रमबिच लामाखर्क बचत तथा ऋण समूहको गत आर्थिकबर्षको प्रतिवेदन सहकारी समूहकी कोषाध्यक्ष कोपिला अर्याल तथा ऋण लगानी संयोजक वसन्त कुमार ज्ञवालीले प्रस्तुत गरेका थिए । सहकारी समूहले छोटो समयमै बचत तथा ऋण अभियान सफल बनाई उचित लाभांस वितरण गर्न सफल भएको सहकारी अध्यक्ष गोकर्णराज ज्ञवालीले बताए ।
कार्यक्रमबिच लामाखर्क सहकारी समूहले सहकारी संचालनमा उत्कृष्ट भूमिका निर्वाह गर्ने कोपिला अर्याल र वसन्त कुमार ज्ञवालीलाई प्रमाण पत्र सहित सम्मान गरेको थियो । त्यस्तै विज्ञापन/नगद/जिन्सी आदि विविध सहयोग गर्ने दातालाई समाजले प्रमाणपत्र सहित सम्मान गरेको थियो ।
बार्षिकोत्सब कार्यक्रम गणेश ज्ञवालीको अध्यक्षता, समाजका सल्लाहकार नेत्रनाथ ज्ञवालीको प्रमुख आतिथ्यता, सल्लाहकार कुलानन्द ज्ञवालीको विशिष्ट आतिथ्यता, निवर्तमान अध्यक्ष ईश्वरी ज्ञवाली र बलेटक्सार रुपन्देही समाजका अध्यक्ष हेम थापाको आतिथ्यता र सचिव कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो |