gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका पुग्नुपर्ने ठाउँहरु………

-सन्तोष महतारा
म प्राय गुल्मीका सबै ठाउँमा पुगेको छु । गाउँ-गाउँमा पुगेको छु । टोलटोलमा पुगेको छु । चोकचोकमा पुगेको छु । कहिले घुम्ने भनेर पुगेँ, कहिले कामले गर्दा पुगेँ त कहिले यत्तिकै पुगेँ । जसरी पुगेपनि म प्राय गुल्मीका सबै ठाउँमा पुगेँ ।

यो पनि पढ्नुस्: भ्रमण वर्ष २०२० मा गुल्मीमा के के हुँदैछ ?

सदरमुकाम तम्घासमा बस्दै आएको म तम्घासबाट नै जिल्लाका सबैजसो ठाउँमा पुग्दा कहिले अचम्म देखेँ । कहिले आश्चर्यता देखेँ । कतै आनन्द र हाँसो लाग्ने र मनमा हर्षउल्लास दिने खालका ठाउँमा पुगे । कतै आँशु नै आँशु बग्ने ठाउँमा पुगेँ । कहिले हाँसेर फर्किए, कहिले रोएर फर्किए । कतै महल देखेँ । कतै झुपडी देखेँ । वास्तममा म जहाँ पुगे, त्यहाँ यथार्थ र वास्ताविकता देखेँ ।
म गुल्मीका विभिन्न ठाउँमा पुगेर देखेका रमणीय स्थानहरुमा अब भ्रमण बर्ष २०२० मा आन्तारिक तथा बाह्य पर्यटकलाई पुराउनुपर्दछ भन्ने मेरो सोचाई रहेको छ । यसमा गुल्मेली जनता साथै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको देख्दछु ।

यो पनि पढ्नुस्: गुल्मीमा कहाँ घुम्ने ? यि हुन् छुटाउनै नहुने १८ गन्तब्य

जिल्लामा रहेको पर्यटकीयस्थल रेसुङ्गामा सबै आन्तारिक तथा बाह्य पर्यटक पुग्न अत्यन्तै जरुरी छ । रेसुङ्गामा आनन्दको वातावरण छ । मनमोहक दृष्‍य, अनि त्यो सफा वातावरण सहितको सिरसिर बतास । सम्झिँदा पनि रमाइलो लाग्छ, आनन्द लाग्छ । अहो ! त्यो अवस्था । तर अवस्था जति राम्रो भएपनि रेसुङ्गाले समृद्धि खोजेको छ । पर्यटक खोजेको छ । पर्यटकलाई सडकको राम्रो सुविधासँगै विकासका काममा अझ बढी प्राथामिकता दिएर अघि बढ्नुपर्ने देखिन्छ । सुन्दर नगरी तम्घासबाट माथि रेसुङ्गासम्म ठ्याक्क केबलकार राख्ने हो भने रेसुङ्गाको अवस्था मेटिन नदिन र अझ बढी पर्यटक तान्न बिशेष सहयोग पुग्ने छ । भ्रमण बर्ष २०२० मा रेसुङ्गाको समुद्धि हुनेगरी सबै लागौँ ।

तम्घास नजिकै गुल्मीदरबार गाउँपालिकामा रहेको चारपाला दरबार पनि पर्यटकको रोजाईमा पर्ने छ । यसको पनि प्रचारप्रसार गर्नु जरुरी छ । कालीगण्डकी गाउँपालिकाको कालगण्डकी ए जलविद्युत् परियोजना पनि त्यसको अवस्था बारे बुझेर पर्यटकलाई तानेर यसको प्रचारप्रसार गर्नु जरुरी रहेको छ । । त्यहाँबाट विजुली पोखरासम्म पुग्ने गर्दछ । देख्दाखेरि पनि गरे के सम्भव छैन भन्ने खालको, आन्नदको बाताबरण रमाइलो छ । त्यसबाट केहि न केहि प्रेरणाहरु लिन सहजै सकिन्छ । त्यहाँसम्म पुग्न कालीगण्डकी शान्तिपुरबाटबाट विकासका काममा अझ तिव्रता पाएमा विकासले फड्को नै मार्दछ । पर्यटकको ओइरो लाग्ने गर्दछ ।

सत्यवती गाउँपालिकाको खैरेनी जोहाङ्ग पनि पर्यटकको केन्द्र बन्न यसको अवस्था र ब्यवस्था फेरबदल गर्नु जरुरी छ । पक्की बाटो यताउता आनन्दका घरहरु स्वच्छ वातावरण, रमाइलो महसुश हुने खालको छ जोहाङ्ग खैरनी । पर्यटकका लागि आर्कषक क्षेत्र ठुलोलुम्पेक पहिरोले क्षत-बिच्छेद नै बनायो यसलाई तत्काल नै ध्यानमा राखेर पहिलाभन्दा अझ बढी राम्रो बनाएमा पीरहरु मेटिन सक्थे कि ! यसबाट पनि पर्यटक भित्राई आर्थीक समृद्धि हुन सक्छ ।

चन्द्रकोट गाउँपालिका केन्द्र नजिकै एउटा त्यस्तो पर्यकटीय स्थल रहेको छ, झरनासँगै बनेको आनन्दको त्यो बनाबट । मायाको यथार्थलाई झल्काउने खालको त्यो रुवरुप आन्दको थियो । तर त्यहाँ नै खानानास्ताको ब्यवस्था गरेर, केहि न केहि अझ बढी आनन्द आउने खालको रमणीय बनाउने हो भने अझ बढी पर्यटक आउन सक्थे । यसबाट पनि थुप्रै सम्भावाना हुन सक्छन् । चन्द्रकोटकै अर्को पर्यटकीयस्थल टिमुरे दह पनि कम्ती सुन्दर छैन ।

मुसिकोट नगरपालिकामा नेपाल मै कफिका लागि प्रसिद्ध आँपचौरमा पुग्दा कताकता आनन्दको र रमाइलो महसुश हुने खालको वातावरण थियो । तर यसलाई देशमा मात्रै सिमित नगराई गुल्मेली कफि विश्वभर पुराएमा जिल्ला सँगै देशको पनि पहिचान बन्न सक्थ्यो ।

जिल्लामा रहेको मालिका गाउँपालिकाको, मालिका मन्दिर सँगै छापहिले लेकपोखरा उल्टेढुङ्गामामा पनि पर्यटक भित्राउन सकिन्छ । रमणीय र पर्यटकीय स्थल त्यहाँ पुग्दा ती ठाउँहरु विकासको खोजीमा बसिरहेको प्रष्ट्र नै देखिन्छ । सडकको अवस्था राम्रोे र त्यहाँ पुगेपछि पर्यकटहरुलाई केहि कमी हुन नदिने ब्यवस्था मिलाउने हो भने ती पर्यटकीय स्थलले मुहार फेर्न सक्थे कि ! त्यस्तै मदाने गाउँपालिकाको कङ्के देउरालीमा पुग्दा पनि त्यस्तै आनन्ददायी र रमणीय ठाउँ थियो । तर विकासको आशमा बसिहेको सोही ठाउँमा कसैको नजर नलाग्नु निराशाजनक नै भएको छ । स्थानिय तहले बिशेष प्राथामिकता दिने हो , त्यहाँ पर्यटकको गनतब्य नै बन्छ । त्यस्तै धुर्कोट गाउँपालिकामा पनि केहि पर्यकटीय स्थल आराम गरेर बसेको देखेँ ।

देशमा नै चिरपरिचत बिचित्र गुफा आज प्रचारप्रसारको कमीले थन्किएको छ । प्रचारप्रसारको कमी भएका र आराम गरेका ती ठाउँहरुलाई विकास र समृद्धि सँग जोडेर बाह्रै महिना बग्ने खोलाहरुलाई उचित ब्यवस्थापन गर्ने हो भने सोही ठाउँको विकासमा कायपलट नै हुने थियो ।

सदरमुकाम साथै आसपासका क्षेत्र समेटेर बनाइएको रेसुङ्गा नगरपालिकामा केहि गाउँ नगरप्रमुख चिन्न र देख्न समेत बञ्चित छन् । मेयर साबलाई यो कुरा जानकारी हुनुपर्दछ कि , नगरपालिका भित्र तम्घास बजार मात्रै पर्देन । नगरभित्र भइराखेको बेथितिले जिल्ला नै कता कता नराम्रो सोच्ने बेला आयो कि भन्ने मलाई लाग्छ । नगरभित्रका दुखी गरिब जनताहरुलाई नगरप्रमुखले चिन्ने दिन कहिले आउँला भन्ने आशा गरिरहको महशुस भइराखेको छ । साथै जिल्लाको छत्रकोट गाउँपालिका मानकोट पुग्दा गाउँ नै रित्तिन लागेको देखेँ । धेरै सख्याको बसाइँसराइँले जिल्लामा धेरै असर पुग्ने मेरो ठहर छ । ऐतिहासिक रुपमा गणना भएका घरहरु अहिले एक्लिदैँ छन् । गाउँमा खानेपानीको समस्या छ । बाटोको समस्या छ । गुणस्तरिय शिक्षा छैन । त्यसैले पनि गुल्मीबाट तराई मधेश तर्फ बसाइँसराइँ गरेर जाने सख्या बढी भएको हो भन्नेमा दुई मत नै छैन । गुल्मीदरवारगाउँपालिका भित्र पसिरँहदा चारपाला पनि पुगेको छु । ऐतिहासिक दरवार भएको सोहि ठाउँमा नजिक नजिक अझ पर्यटकलाई आर्कषण गर्ने खालकोे स्थल बनाएको दरबारको प्रचारप्रसार र अस्तित्व लाखौँ बर्ष सम्म पनि रहन सक्छ भन्ने मेरो सकारात्मक बुझाई छ ।

रुरु गाउँपालिका रिडिमा रहेको रुरु क्षेत्र धाम नेपाल कै चार धाम मध्येको एक धाम हो । जसको प्रचारप्रसार भने कम नै भएको देखेको छु । यस्तो महत्वपूर्ण क्षेत्र जसको प्रचारप्रसार मा कुनै कमी हुन नदिनु उपयुक्त थियो । पछिल्लो समय प्रचारको लागि महायज्ञ गरेको भन्ने एउटा सकारात्मक पक्ष पनि हो । जहाँ प्रचार मात्रै नभएर त्यसक्षेत्रको विकासमा जोड दिनुपर्दछ । रिडिमा नै बन्न सुरु गरेको तिन जिल्ला जोड्ने तिनमुखे पुल अलपत्र नपर्नु दुखत बिषय नै हो । यसलाई सार्थकता दिने हो भने गुल्मीको विकासमा दरिलो खम्बा गाडिने छ ।
जिल्लामा रहेका पर्यटकीय स्थलहरु र यीनमा पर्यटक भित्राउन अझ बढी प्रयास गरिनुपर्दछ भनिरहँदा भ्रमण बर्ष २०२० लाई सफल बनाउन अब हामी गुल्मीमा रहेका पर्यटक स्थललाई समस्यष नदेखाई यीनीहरुको प्रचारप्रसार गरेर अगाडी बढ्नुपर्ने मैले देख्दछु । विकास भएन भनेर फेरी एक बर्षपछि भनौँला अहिले भने भ्रमण बर्षमा सकेसम्म धेरै पर्यटक गुल्मीमा भित्राउने प्रयास गरौँ ।

जिल्लामा रहेका पर्यकटीय स्थलहरुलाई मुख्य प्राथामिकतामा राखी प्रचारप्रसारलाई तिव्र पारेर आन्तारिक तथा बाह्य पर्यटक भित्राउने हो भने भ्रमण बर्ष २०२० सफल मात्रै होइन गुल्मीमा आर्थीक समुद्धिको यात्रा पनि सफल हुने छ । यसका लागि स्थानियतहका जनप्रतिनिधिहरुले नितान्त ध्यान दिनु आवश्यक र उत्तिकै जरुरी छ ।

(महतारा गुल्मी साप्ताहिक पत्रिकाका सहसम्पादक हुन् ।)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D