नेपालभर पछिल्लो समय मार्सी चामलको चर्चा ह्वात्तै बढेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएसँगै यो चर्चा चुलिएको हो । अझ पछील्लो समय डक्टर गोबिन्द के.सीको सत्याग्रहको बारे र बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरुको बारेमा प्रसाईँले दिएको अभिब्याक्ती भाईरल बनिरहेको छ, त्यससँगै मार्सी चामलको कुरो पनि झन झन चलिरहेको छ ।
के हो मार्सी चामल ?
मार्सी धानको खेति विशेष गरी जुम्लामा हुने गर्छ । त्यो मार्सी धानबाट तयार गरिने चामल रातो रङ्गको हुने भएकाले यसलाई अंग्रेजीमा रेड राइस पनि भन्ने गरिन्छ । यो चामल हिमालको तल्लो भेग र उच्च पहाडी भेगमा फल्ने गर्छ । यो बिमारीहरुका लागि पनि स्वस्थ्यकर मानिन्छ । यो चामल खाँदा धेरै समय भोक नलाग्ने विशेषता समेत रहेको छ । मार्सी धानको उत्पत्ति नेपालमै भएको हो । अत्याधिक चिसो सहन सक्ने र पानीमा फल्ने भएकाले यसको नाम मार्सी राखेको विज्ञहरु बताउँछन् ।
जुम्लाको गुठीचौर र बुँग्रामाडीचौर बाहेक प्रायः सबै गाविसमा यो धानको उत्पादन किसानस्तरबाट हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रवक्ता बालकराम देवकोटाका अनुसार यो जातको धानको खोस्टा केही कालो हुने र चामल रातो हुन्छ । देवकोटाका अनुसार कुल धानखेत हुने क्षेत्रफल दुई हजार नौ सय ५० हेक्टरमध्ये तीन सय हेक्टरमा कालिमार्सी धानको उत्पादन हुन्छ । संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ । जुम्लामा करिब दुई हजार मेट्रिक टनको हाराहारीमा यो जातको धान उत्पादन हुन्छ । जुम्लाको सबैभन्दा उच्च स्थान छुम्चौंर र हाकुमा पनि यो जातको धानको उत्पादन किसानले गर्दै आएका छन् ।
चैतमा बीउ छरिने मार्सी धान कात्तिकमा घर भित्र्याउने चलन छ । जो जातको धान २ महिनाको ब्याड तयार गरेर हिलोमा रोपिन्छ । यो धानको बिउ रोपेदेखि काट्दासम्म ७-८ महिना लाग्ने विज्ञ बताउँछन् । चिसो हावापानीमा रोपिने भएकाले यो धान फल्न धेरै समय लाग्ने गरेको हो । यसको बोट करिब १ मिटर लामो हुने गर्छ । विज्ञका अनुसार जुम्लामा फल्ने मार्सीमा आइरन, स्टार्च, सेलेनियमको मात्रा अरु धानको भन्दा धेरै हुन्छ । यो धानको चामल अरु भन्दा स्वस्थ्कर र स्वादिलोपनि हुने गर्छ ।
कती पर्छ १ किलो मार्सी चामललाई?
जुम्लामा उत्पादन भएको यो जातको धानको चामल तत्कालीन समयमा राणा र शाही परिवारले भरियामार्फत दरबार भित्र्याउने गर्थे । ‘राजा वीरेन्द्रको पालामा यहाँको चामल दरबारमा पुग्थ्यो’, स्थानीय कृषिविज्ञ हरिहर न्योपानेले भने, ‘अब भने जाँदैन । व्यापारीले काठमाडौं लगेर बिक्री गर्दै आएका छन् ।’ उनका अनुसार जुम्लामै किसानले यो चामल प्रतिकिलो एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् । काठमाडौंको केही व्यापारीले सोही चामल प्रतिकिलो दुई सय ५० सम्ममा बिक्री गर्छन् ।