gulminews logo
बुधबार, २०८१ बैशाख १२

अस्पताल शिलान्यासको हतारो: गुल्मीका स्थानीय तहले वर्ष दिनमा घडेरी मात्रै खने

टोपलाल अर्याल
गुल्मी, फागुन २३ । गत वर्ष केपी ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहमा एकै दिन १५ शय्याको अस्पतालहरूको शिलान्यास गर्ने घोषणा गर्‍याे। केन्द्रीय मन्त्री, पूर्वमन्त्री, प्रदेशस्तरका मन्त्री र प्रदेश सभा सदस्यहरूले गाउँगाउँमा पुगेर अस्पतालको शिलान्यास गरे। गाउँगाउँमा अस्पताल शिलान्यास भएपछि नागरिक पनि उत्साहित भए। अधिकांश स्थानीय तहमा अस्पताल निर्माणका लागि नागरिकले निःशुल्क जग्गा दिए। तर, दुई वर्षभित्र स्थापना गर्ने लक्ष्यसहित शिलान्यास गरिएका अस्पताल निर्माणको कामले वर्ष दिन बित्दासमेत गति लिएको छैन।

अस्पताल निर्माणको काम नै सुरु भएन

गत वर्ष गुल्मीको छत्रकोट गाउँपालिकामा लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले १५ शय्याको अस्पतालको शिलान्यास गरे। तर, अहिलेसम्म अस्पताल निर्माणको टुंगाे नै छैन। गत वर्ष वडा नं ४ श्रृंगामा अस्पतालको शिलान्यास गरिएको थियो। पछि त्यो जग्गा भवन मापदण्डअनुसार नभएपछि अझैसम्म जग्गा व्यवस्थापन गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए।
त्यस्तै, कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाका अनुसार गाउँपालिकाको वडा नं ३ मा अस्पतालको शिलान्यास गरिएको छ। तर, अहिलेसम्म काम भने भएको छैन। करिब साढे १२ करोड ३७ लाख १९ हजार तीन सय २९ रुपैयाँको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निर्माणको सम्झौता गरेको छ। मन्त्रालयको निर्देशनअनुसार नक्सा रिभ्यु गर्नुपर्ने भएकाले यो महिनाभित्र काम सुरु गरिने थापाले बताए।

अधिकांश अस्पतालका फिल्ड निर्माण हुँदै

अधिकांश स्थानीय तहमा अस्पतालको फिल्ड निर्माणको काम मात्र भएका छन्। इस्मा गाउँपालिका– ४ दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माणको काम भइरहेको छ। १० करोड ८५ लाखमा सुनील समीर निर्माण सेवा प्रालिले अहिले अस्पतालको फिल्ड सम्याउने काम गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन्।
यता, सत्यवती गाउँपालिकाको वडा नं ६ जुहाङमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। १५ करोडको लागतमा आशिष निर्माण सेवाले अस्पताल निर्माणको काम गरिरहेको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिए। यहाँ पनि अहिले निर्माण व्यावसायीले भर्खर फिल्ड निर्माणको काम गरिरहेका छन्। मदाने गाउँपालिका – ६ पुर्कोटदहमा पनि फिल्डको केही काम मात्र भएको छ। १२ करोड ४८ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको हिमदुम–एसी निर्माण कम्पनीले केही काम मात्र गरेर छाडेको छ।
मालिका गाउँपालिका–४ अर्खबाङमा ११ करोड ६७ लाखको लागतमा खड्का–सगुन जेभीले फिल्ड निर्माणको काम गरिरहेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।
धुर्कोट गाउँपालिका– ६ धुर्कोट रजस्थलमा पनि १३ लाखभन्दा बढीको लागतमा रविना–अर्जुन–न्यु लिजा जेभीले फिल्ड निर्माणको काम गरिरहेको छ। त्यस्तै रूरू क्षेत्र गाउँपालिका– १ को रातामाटामा प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ सय ५९ रुपैयाँमा सम्झौता गरेको छ। भर्खर कल्भर्ड र फिल्ड निर्माणको काम भइरहेको स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिए।

तीन स्थानीय तहमा निर्माणको आशा

जिल्लाका तीन पालिकामा भने अस्पताल निर्माणमा केही आशा जागेको छ। गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको अस्पताल निर्माणमा निर्माण व्यवसायीको सक्रियता देखिएको छ। गुल्मी दरबार गाउँपालिका– ३ को झाँक्री डाँडामा बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए। अस्पतालको पहिलो तल्ला ढलान भएको छ।

मुसिकोट नगरपालिका वडा नं ७ मा खिम्ती–श्रेष्ठ–कालिगण्डकी जेभीले ११ करोड १० लाख २६ हजार एक सय आठ रुपैयाँको लागतमा अस्पताल निर्माणको काम गरिरहेको छ। अहिले पिल्लर राखेर डिपिसीको काम सकिएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए।

चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्रीका अनुसार शान्तिपुरमा अस्पताल निर्माण हुँदै छ। अस्पताल निर्माणका लागि १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपैयाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले सम्झौता गरेको छ। भवनको फाउन्डेसनलगायतको काम र आवासको एक तला ढलान गर्न थालिएको खत्रीले जानकारी दिए।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D