gulminews logo
बिहीबार, २०८१ बैशाख २०

अभिभावक बिहिन गुल्मीको कार्की गाउँ: बालबालिकाको काँधमा काज किरिया

टोपलाल अर्याल
गुल्मी, २३ मंसिर । गुजुप्पको बस्ती । इस्मा गाउँपालिका ४ को पैयाँपाटा । दुई घर बाहेक सवै कार्की । तीन बर्षमा एक पटक आउने कुलपुजाले सवै परिवार खुसी थिए । देश परदेशबाट आएका अभिभावक र छोराछोरीले कार्की गाउँको उमंग फरक नहुने कुरै भएन । समुदाय अनुसारको कुल पुजा ठुलो पर्वनै भएकाले स्वभाविक पनि थियो । दुर्भाग्य त्यो खुसी धेरै दिन टिकेन । मङसिर १७ गते कुलपुजाकै लागि हिडेका कार्की परिवार चढेको जिप बाग्लुङको बडिगाढ गाउँपालिका ७ मा दुर्घटनामा प¥यो ।

दुर्घटनामा एउटै गाउँका १६ जनाले ज्यान गुमाए । दुई जना उपचारको लागि काठमाण्डौ छन् । अहिले कार्की गाउँका अधिकांश घर शोकमा छन् । केहि घरमा दुई÷तीन जनानै दुर्घटनामा परेका छन् । जसका कारण सहयोग गर्ने मान्छेसम्म गाउँमा नभएको सोहि गाउँका बद्री कार्कीले बताउनुभयो । ‘एक परिवारको दुख जस्तो भएन, गाउँनै शोकमा छ,’उहाँले भन्नुभयो,‘बाँकी रहेका घरहरुले मात्रै सहयोग गर्न मुस्किल परेको छ ।’

बल्लबल्ल अडिएको कच्ची घर । देख्दै अप्ठ्यारो । सेतो बस्त्रमा कलिलो अनुहार । ढोक्कै छेउमा टुसुक्क बसेकी १६ बर्षीया इशा कार्की । आमा ४२ बर्षीया सिता र दुई बर्षीया बहिनी अनुष्काले सडक दुर्घटनामा ज्यान गुमाए । किरिया कर्म इशाको काँध छ । उनी मङसिर १९ बाट आमाको किरिया बसेकी छन् । बुवा प्रेम कार्की मजदुरीको लागि भारतमा हुनुहुन्थ्यो । दुर्घटनाको खबर सोहि दिननै थाहा पाउनुभयो । पत्नी र छोरी गुमाएका कार्की बिक्षिप्त हुनुहुन्छ । उहाँ १८ गते साँझ घर आउनुभयो । पत्नी सिताले मेलापातबाटै घर धान्नु भएको थियो । प्रेम भारतमा काम गर्नुहुन्थ्यो । अब छोरी मात्रै घरमा भए । ‘साना छोराछोरी छोडेर कसरी फर्कर्ने, काम नगरे उपाय छैन,’आँसु पुच्छदै कार्कीले भन्नुभयो,‘दैवले बिचल्ली पा¥यो ।’ इशा कक्षा सातमा पढ्छिन् । १० बर्षीया बहिनी पुजा कक्षा दुईमा पढ्छिन् । अर्धबार्षिक परिक्षा संचालन भइरहेकै बेला दुर्घटना थियो । अहिले दुवै बहिनीनै परिक्षा दिनबाट बञ्चित भएका छन् ।

बुवा चन्द्रदिप बस्नेत परदेश । आमा मिनाको दुर्घटनामा ज्यान गयो । छुट्टिएर बसेको परिवारमा १३ बर्षीया सुनिल र नौ बर्षकी बहिनी रबिना मात्रै भए । दाजुबहिनीकै अर्धबार्षिक परिक्षा थियो । परिक्षा राम्रो गर्न भन्दै हिडेकी आमा फर्किनन् । परिक्षा र आमा दुवैबाट बञ्चित भएकाले सुनिलसंगै नौ बर्षीया बहिनी रबिना बस्नेत पीडामा छन् । त्यहि माथी सानो उमेरमै आमाको काज किरियाले सुनिललाई थप पीडित बनाएको छ । ‘सानो मान्छे आमाको शोकले आफै पीडामा छ, त्यसैमाथी काज किरिया र चिसोले थला पर्ने भो,’हजुर बुवा लाल बहादुर बस्नेतले भन्नुभयो,‘ जस्तो पनि भोग्नु पर्ने रहेछ ।‘ मौसम चिसो र सानो मान्छे भएकाले खानपानका कारण स्वास्थ्यमा समेत समस्या परेको बस्नेतले बताउनुभयो । सोहि गाउँकै भुमि कार्कीले पनि दुर्घटनामा ज्यान गुमाउनुभयो । घरमा पति तिलबहादुर र १६ बर्षिय छोरा बिष्णु कार्की थिए । आफु बिरामी, त्यो माथी सानो छोराले किरिया गर्नुपर्ने भएकाले थप पीडा भएको तिल बहादुर कार्कीले बताए । उहाँले आमा नभएरको पीडा त्यसैमाथी परिक्षा दिन नपाउँदा छोरा बिष्णु थप चिन्तित बनेको बताउनुभयो । स्वास्थ्यमा समेत समस्या देखिएको छ ।

सोहि गाउँका महेन्द्र कार्कीले पनि दुर्घटनामा ज्यान गुमाउनुभयोे । छोरा १७ बर्षीय मेघराज र १३ बर्षीय प्रेम कार्कीले बुबाको किरिया थालेका छन् । महेन्द्र २० बर्षमा कुल पुजाकै लागि भारतबाट गाउँ आएका हुनुहुन्थ्यो । उहाँ भारतमा नशारोग बिशेषज्ञ डाक्टरका असिस्टेण्ड हुनुहुन्थ्यो । राम्रो कमाई भएकाले दुई छोराले राम्रोसंग पढेका पनि थिए । सानो परिवार खुसी थियो । ‘नियतीले खुसी सहेन त्यसैले बज्र्रपात प¥यो,’महेन्द्रका बुवा झवि कार्कीले दुख व्यक्त गर्नुभयो,‘खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेरमा परिवार बिचल्लीमा परे ।’ सोहि दिन दुर्घटनाको खबर पाएकी पत्नी जमुना कार्की छोराहरु लिएर १८ गते गाउँ आउनुभयो ।
टोपलाल अर्याल

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D