gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

अपडेट हुँदैनन् गुल्मीका स्थानीय तहका वेबसाइट, के गर्छन् सुचना प्रविधि अधिकृतहरु?

हुमाकान्त पोखरेल
गुल्मी, १७ पौष । गुल्मीका स्थानीय तहका वेभसाईटहरु अपडेट नभएको पाइएको छ । सरकारले प्रमुख प्रशासकिय अधिकृत बराबरको तलब दिएर नियुक्त गरेका स्थानीय तहका सुचना प्रविधि अधिकृतहरुले वास्ता नगर्दा वेबसाइट अपडेट नभएका हुन् । जिल्लामा रहेका दुई नगरपालिका १० गाउँपालिका गरी १२ वटै स्थानीय तहका वेभसाईट समयसापेक्ष अपटेड हुँदैनन् । जसले गर्दा नागरिकमाझ गलत सूचना प्रवाह भइरहेका छन् । विशेष गरी बोलपत्र खरिद, सामाजिक सुरक्षा, घटना दर्ता, नागरिक बडापत्र, विभिन्न प्रतिवेदनहरुमा वेबसाइटको अवस्था कमजोर देखिएको छ ।

यो पनि पढ्नुस्: यि हुन् गुल्मीका स्थानिय तहका वेबसाईटहरु, तपाईंको गाउँपालिका/नगरपालिकाको वेबसाईट हेर्नुभो?

इस्मा गाउँपालिकाको वेभसाईटमा अधिकाशं जनप्रतिनिधिहरुको सम्पर्क नम्बर गलत राखिएको छ । त्यस्तै आय–व्यय विवरण, नागरिक वडापत्र, कर्मचारी तथा जनप्रतिनिधि विवरण सहिसँग अपडेट गरिएको छैन । गाउँपालिकाका सुचना प्रविधि अधिकृत बाबुलाल थापाको मासिक तलब प्रमुख प्रशासकिय अधिकृतकै बराबरमा छ, तर उनले नियुक्ति पाएको काम वेबसाइट अपडेट गर्ने फुर्सद पाएका छैनन् । त्यत्तिमात्र होइन, इस्मा गाउँपालिकाको वेबसाइटमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबाहेक अन्य जनप्रतिनिधिको फोटो राख्ने ठाउँ पनि खालि राखिएको छ । यससम्बन्धमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले संवाददाताले आफुको आफुको ध्यानाकर्षण गराएको भन्दै आफुले नियमित वेभसाईट अपडेट गर्न निर्देशन दिने बताए ।

मदाने गाउँपालिकामा दुई बर्ष पुरानो फोटो वेबसाइटको अगाडी राखिएको छ । त्यसपछि केहि कर्मचारी सरुवा भएर गए भने कतिपय कर्मचारी मदानेमा हाजिर भए । तर सूचना प्रविधि अधिकृत शुशिल पोख्रेलको नजरमा कुनै कर्मचारी फेरीएका छैनन । वेबसाइटमा नयाँ कर्मचारी अटाएका छैनन् भने पूर्व कर्मचारी हट्न सकेका छैनन् । अझ अचम्मको कुरा त अधिकृत पोखरेलले आफ्नै नाम वेबसाइटमा राख्न भ्याएका छैनन् । भने केहि महिना अगाडी सरुवा भएकी सहायक महिला विकास निरिक्षक लक्ष्मी केसिलाई कर्मचारी भएको भन्दै मदाने गाउँपालिकाको वेबसाइटमा गलत सुचना दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले आफुले चाहेअनुसारको द्रुत गतिमा काम हुन नसक्दा समस्या भएको र वेबसाइटप्रति आफु पनि सन्तुष्ट नभएको प्रतिक्रिया दिए ।

सत्यवती गाउँपालिकाको वेबसाइटमा वडा कार्यालयहरुको सेटिङ्ग राम्रोसँग गरिएको छैन । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाहेक अन्य जनप्रतिनिधिहरुको तस्विर सार्वजनिक गरिएको छैन भने सम्बन्धित अन्य तस्विरहरु पुरानै रहेका छन् । नागरिक वडापत्र, महत्वपूर्ण सुचना, विभिन्न प्रगति प्रतिवेदन, लेखा परिक्षण, कर्मचारीको पुरा विवरण पनि गाउँपालिकाका सुचना प्रविधि अधिकृत प्रेम कुँवरले अपडेट गर्न सकेका छैनन् ।
चन्द्रकोट गाउँपालिकाको वेबसाइटमा अध्यक्ष र उपाध्यक्षबाहेक अन्य कुनै पनि जनप्रतिनिधिहरुको तस्विर सार्वजनिक गरिएको छैन । वेबसाइटको लागि नियुक्त गरिएका गाउँपालिकाका सुचना प्रविधि अधिकृत कृष्ण प्रसाद गौतमले वडा कार्यालय, गाउँपालिकाका महत्वूर्ण सूचना, आय–व्यय विवरण पनि सार्वजनिक गर्न सकेका छैनन् । कतिपय जनप्रतिनिधिहरुको गलत फोन नम्बर वेबसाइटमा राखिएको छ ।
रुरु गाउँपालिकाको वेबसाइटमा कर्मचारी र जनप्रतिनिधिहरुको पुरा विवरण वेबसाइटमा राखिएको छैन । गाउँपालिकाले प्रदान गर्ने सेवा, लाग्ने शुल्क, सेवाका लागि आवश्यक कागजपत्र लगायतका सूचनाका विषयमा गाउँपालिका मौन रहेको छ । त्यत्तिमात्र होइन्, वेबसाइटमा प्रतिवेदनको शिर्षकमा मासिक, चौमासिक र बार्षिक प्रतिवेदन, लेखा परिणक्ष लगायतका नौ शिर्षकमा अपडेट गर्न सक्ने भएपनि कुनै पनि शिर्षकमा सुचना प्रविधि अधिकृत इश्वरी न्यौपानेले वेवास्ता गरेका छन् ।

छत्रकोट गाउँपालिकाको वेबसाइटमा जनप्रतिनिधिको शिर्षकमा जनप्रतिनिधिहरुको फोटो भएपनि कुन प्रतिनिधि कति वडाको भन्ने खुलाइएको छैन । त्यसैगरि गाउँपालिकाको बजेट तथा कार्यक्रम, वडा कार्यालय र तिनका प्रतिनिधि, योजना तथा परियोजना, आय–व्यय विवरण लगायतका पक्षमा सूचना प्रविधि अधिकृत भुषण भुसालले अपडेट गरेका छैनन् ।
धुर्कोट गाउँपालिकाको वेबसाइटमा जनप्रतिनिधि विवरणमा वडाध्यक्षहरुको नाम र तस्विर भएपनि कुन व्यक्ति कति वडाको अध्यक्ष हो भन्ने कुरा जानकारी दिइएको छैन । विद्युतिय शुसासन अन्तरगत घटना दर्ता, सामाजिक सुरक्षा, नागरिक वडापत्र र नमुना फारमहरु गरि चारवटा शिर्षकमा पनि गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवराज आचार्यले अपडेट गर्न भ्याएका छैनन् । धुर्कोट गाउँपालिकामा पछिल्लो केहि महिनामा कर्मचारी फेरिए । एकजना जनप्रतिनिधिले राजिनामा दिए । तर वेबसाइटमा भने सबै अटाएका छन् । गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्रीले भने अपडेट नभएको वेबसाइटबाट असन्तुष्ट रहेको बताए । बेलाबेलामा सेवाग्राहीहरुले अपुरो वा पुराना सुचना सहितको वेबसाईट देख्दा प्रमुख प्रशासकिय अधिकृत बराबरको तलब दिएर नियुक्त गरेका स्थानीय तहका सुचना प्रविधि अधिकृतहरु के का लागि भन्ने समेत प्रश्न उठाउने गर्दछन् ।

हटेका मन्त्री वाहालवाला
गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद गोकर्ण विष्ट गत मंसिरमा सरकारको मन्त्री पदबाट हटे । तर मुसिकोट नगरपालिकाको वेबसाइटमा भने अझैपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा विष्टलाई प्रस्तुत गरिएको छ । विष्टले गत बर्ष नगरपालिकाको चौथो नगरसभा सम्बोधन गरिरहेको पुरानो तस्विर वेबसाइटमा राखिएको छ । नगरपालिकामा प्रतिवेदनअन्तगतका नौ शिर्षकमा कुनै जानकारी उल्लेख गरिएको छैन । विद्युतिय सुशासन अन्तरगतका चार शिर्षक, सार्वजनिक खरिदका सुचना लगायतका महत्वपूर्ण सूचनाहरु वेबसाइटमै राखिएको छैन भने वडाकार्यालयहरुको जानकारी पनि व्यवस्थित तरिकाले सेटिङ्ग गरिएको छैन । नगरपालिकाले वेबसाइटमा जनप्रतिनिधि र कर्मचारीले गरेको मत सर्वेक्षण पनि गरेको छ । जसमा धेरै सन्तुष्ट, र कत्ति पनि सन्तुष्ट नभएको २६÷२६ प्रतिशत, मध्यम सन्तुष्ट २९ तथा कुनै सेवा नलिएकोमा १९ प्रतिशत रहेका छन् ।

जहाँ दुईजनामात्र कर्मचारी
दुईजना कर्मचारीको भरमा स्थानीय तह संचालन भएको छ भन्दा अचम्म लाग्न सक्छ । तर कालिगण्डकी गाउँपालिकामा दुईजना मात्र कर्मचारी भएको गलत जानकारी नागरिकलाई दिइएको छ । वेभसाईटमा प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली र सुचना प्रविधि अधिकृत ओम बहादुर थापाको मात्र विवरण दिइएको छ भने अन्य कर्मचारीको नाम र पद वेबसाइटमा समावेश गरिएको छैन । गाउँपालिकाको दुई बर्षको बार्षिक योजना र परियोजना, सार्वजनिक खरिद, बोलपत्र, वडा कार्यालय, विद्युतिय सुशासन सेवा तथा नौ प्रकारका प्रतिवेदन, वडा कार्यालयबारे पुरा जानकारी लगायतका विषयवस्तुहरु सुचना प्रविधि अधिकृत थापाले अपडेट गर्न सकेका छैनन् । जिल्लामा सबैभन्दा बढी उदेकलाग्दो कालिगण्डकी गाउँपालिकाको वेबसाइट रहेको छ ।

जहाँ उपाध्यक्षको तस्विर अन्तिममा छ
मालिका गाउँपालिकाको वेबसाइटमा गाउँपालिका उपाध्यक्षको अपमान गरिएको छ । वेबसाइटमा राखिने तस्विरमा अध्यक्षपछि उपाध्यक्षको तस्विर हुनुपर्नेमा पहिले वडाध्यक्षको तस्विर राखेर महिला उपाध्यक्ष देवा अर्यालको फोटो सबैभन्दा पछाडी राखिएको छ । सूचना प्रविधि अधिकृत जगत पौडेलले सबै वडाध्यक्षका तस्विर राखेपनि कुन प्रतिनिधि कति वडाको अध्यक्ष भन्ने खुलाएका छैनन् । ्कतिपय जनप्रतिनिधिले गलत सम्पर्क नम्बर अपडेट गराएका छन् ।
रेसुगां नगरपालिकाको वेबसाइटमा वडा प्रोफाइलभित्र वडाबारे कुनै जानकारी दिइएको छैन । भने प्रतिवेदनअन्तरगतका मासिक, चौमासिक, बार्षिक, लेखापरिक्षण, अनुगमन, सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण र प्रकाशन गरी नौ शिर्षकमा सूचना प्रविधि अधिकृत तपन पाण्डले कुनै जानकारी दिएका छन् । गुल्मीदरबार गाउँपालिकाको वेबसाइटमा पनि महत्वपूर्ण सूचना, विभिन्न प्रतिवेदन लगायतका विषयवस्तुहरु सूचना प्रविधि अधिकृत सुरेश खनालले वेबसाइटमा अपडेट गरेका छैनन् ।

जनप्रतिनिधि नै हेर्दैनन् वेबसाइट
सम्बन्धित स्थानीय तहका महत्वपूर्ण गतिविधि जानकारी सहज रुपमा पु¥र्याउनको लागि वेबसाइट निर्माण गरिएको हो । तर स्थानीय तहका जनप्रतिनधिहरुले नै वेबसाइट हेर्ने गरेका छैनन् । इस्मा गाउँपालिका १ का चुरा बहादुर खत्रीले आफुले अहिलेसम्म गाउँपालिकाको वेबसाइट नहेरेको बताए । त्यस्तै मालिका गाउँपालिका उपाध्यक्ष देवा अर्यालले पनि हालसम्म पनि आफुले गाउँपालिकाको वेबसाइट नहेरेको प्रतिक्रिया दिइन् । उनले संवाददाताले फोन गरेपछि वेबसाइट हेर्ने समेत बताइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D