कृषी

स्थानीय प्रविधिबाट गाउँमै उखु प्रशोधन

गंगा खड्का
गुल्मी । मालिका गाउँपालिका–५ का किसानले गाउँमै उखु प्रशोधन गर्न थालेको वर्षौं भइसक्यो। स्थानीय प्रविधिको प्रयोग गरी उनीहरूले उखु प्रशोधन गरेर खुदो निकाल्ने गरेका छन्। घरायसी प्रयोजन र आफन्तलाई कोसेली दिन खुदो निकाल्ने गरिएको किसानहरू बताउँछन्। पुस/माघको चिसोमा यहाँका धेरैजसो किसानले उखु प्रशोधन गर्ने गर्छन्। केहीले उखु पेलेर निकालिएको खुदो बिक्री गरी घरखर्चको समेत जोहो गर्दै आएका छन्। गाउँका करिब ५० घरधुरीले उखु प्रशोधन गर्दै आइरहेको किसानहरू बताउँछन्।

‘दुई दशकदेखि गाउँमा उखु पेलेर खुदो निकाल्दै आएका छौं।’ छापहिले जमलपोखराका स्थानीय शिवलाल अर्यालले भने, ‘धेरैले उखु खेती गरे पनि यसलाई व्यावसायिक बनाउन सकेका छैनन्।’ सबै किसान मिलेर उखु प्रशोधन गर्ने मेसिन खरिद गरे पनि धेरैजसो सामग्री गाउँकै प्रयोग गर्ने गरिएको उनले बताए। ‘मेसिनमाथि राखिएको बाँसको दायाँ/बायाँबाट बल प्रयोग गरेर पेल्नुपर्छ’, उनले भने, ‘तीन/तीन जनाका दरले घचेट्छौं।’ वृद्धवृद्धालाई भने यस्तो काम गर्न गाह्रो पर्ने उनले बताए।

पुरानै शैलीबाट गरिएको खेतीलाई व्यावसायिक बनाएर अघि बढ्न सके गाउँमा थुप्रैलाई रोजगारी दिन सकिने स्थानीय बताउँछन्। उत्पादन गरिएको उखुको बजार ग्यारेन्टी नहुँदा पनि धेरैजसो किसान व्यावसायिक बन्न नसकेका दोहोलीकी ६८ वर्षीय ज्ञानकुमारी कार्कीले बताइन्। ‘स्थानीय सरकार गाउँमै आएको छ, अब हामीजस्ता उखु किसानलाई प्रोत्साहन हुने हिसाबले काम हुनुपर्छ,’ उनले भनिन्। उखु पेलेर निकालिएको खुदो बिक्रीका लागि बजारको राम्रो व्यवस्था बनाउन सके धेरै किसानको रोजाइ उखु खेती हुनसक्ने उनले बताइन्। ‘गाउँमा थुप्रै सम्भावना छन्’, कार्की भन्छिन्, ‘स्थानीय सरकारले यस्ता सम्भावनालाई पहिचान गरी विकास एवं प्रवद्र्धनमा ध्यान दिनुपर्छ।’

जग्गा धेरै भए पनि छापहिलेका स्थानीय प्रेम जिसी थोरै जग्गामा मात्र उखु खेती गर्ने गरेको बताउँछन्। ‘बजारको ग्यारेन्टी भए अरू जग्गामा पनि खेती गर्ने सोच छ।’ उनी भन्छन्, ‘उखु खेतीसम्बन्धी पर्याप्त ज्ञानसमेत छैन।’ हामीसँग पर्याप्त ज्ञान भइदिए यसलाई आम्दानीको भरपर्दो माध्यम बनाउने थियौं।’ कृषि पेसालाई लक्ष्य गरी राज्यले गाउँका किसानलाई उपयुक्त कार्यक्रम ल्याउनुपर्ने जिसीले सुझाव दिए। साथै पुरानै खेतीमा व्यस्त किसानलाई नगदेबालीतर्फ आकर्षित गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।

गाउँभरि एउटै मात्र उखु पेल्ने मेसिन भएकाले उखु पेल्न धेरै दिन पर्खिनुपर्ने किसानहरू बताउने गर्छन्। उखु पेलेवापत प्रतिटिन ५० रुपैयाँ शुल्क लिने गरिएको किसानहरूले बताए। उखु खेती गरे पनि यसको बजार प्रवद्र्धनमा समस्या भएको भन्दै धेरैजसो किसानले बजार व्यवस्थापन गरिदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।

गाउँका उखु किसानहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने छापहिले जमलपोखराका वडाध्यक्ष श्याम गिरीले जानकारी दिए। ‘कृषिका कार्यक्रम जिल्लाबाट सञ्चालन हुँदा धेरै किसानको पहुँच पुग्दैन्थ्यो’, उनले भने, ‘अब गाउँमै सरकार आएको छ। अगुवा किसानको विकासका लागि बजेट विनियोजन गरेर काम थाल्छौँ।’ दशकौंदेखि यस क्षेत्रका किसानले स्थानीय प्रविधिबाटै उखु प्रशोधन गर्दै आएको बताउँदै उनले यसलाई प्रवद्र्धनको खाँचो रहेको औंल्याए। ‘समग्र जिल्लाकै आर्थिक विकास गर्ने सम्भावना छ’, गिरीले भने, ‘पुरानो खेतीलाई व्यावसायिक बनाउनेतर्फ जोड दिन्छौँ।’ -अन्नपूर्ण पोस्ट डट कमबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D