कृषी

व्यावसायिक टिमुर खेती शुरु

रासस
बेझाड, साउन १६ । जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ ।

जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई पकेट क्षेत्रका रुपमा छनौट गरी कृषकले समूहमा टिमुर खेती गर्न थालेका छन् ।

अर्चले, ठिमुरे र सत्यवती क्षेत्र उत्पादनका लागि सम्भावना बोकेकाले पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक खेती शुरु गरिएको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताउनुभयो । “टिमुर खेतीलाई व्यावसायिकरण गर्न नसक्दा पाल्पाबाट हराउन पुगेको थियो, अहिले वन कार्यालयले व्यावसायिकरण गर्ने उद्देश्यले पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालेको हो”, उहाँले भन्नुभयो ।

टिमुरको बजारमा माग बढ्दो र बजार मूल्य उच्च रहे पनि कृषकले आम्दानीको स्रोत बनाउन नसकेको प्रमुख पौडेलले बताउनुभयो । जडीबुटीभित्र पर्ने, जङ्गलमा पर्याप्त मात्रामा पाइने, भान्सामा अत्यावश्यक वस्तुजस्तो पर्ने भए पनि जनचेतनाको कमीले गर्दा टिमुरको व्यावसायिक खेती गरी उपयोगमा ल्याउन नसक्दा व्यावसायिक तवरले सफलता प्राप्त गर्न नसकिएको हो ।

वन कार्यालयको सहयोगमा सत्यवती, ठिमुरे र अर्चलेमा छ÷छ हजार टिमुरका बिरुवा रोपण गरिएको कार्यालयका वन प्राविधिक रामशरण चौधरी बताउनुहुन्छ । उहाँका अनुसार अघिल्लो वर्ष पनि वन कार्यालयको सहयोगमा ठिमुरेमा पाँच हजार बिरुवा लगाइएको छ भने पालुङ्गमैनादी क्षेत्रमा प्राकृतिक टिमुरलाई व्यवस्थापनमा मात्र सहयोग गरिएको छ ।

तेजपात, टिमुर र अम्रिसोको बजार राम्रो रहेकाले कृषकले यथेष्ट आम्दानी लिन सक्नेछन् । एक हजार पाँच सय मिटरदेखि माथि चिसो हावापानी, समशीतोष्ण पहाडी क्षेत्रमा टिमुर लगाउन उपयुक्त मानिन्छ । गाउँका खेर गएका वनमारा र झारपातले भरिएका खाली जमिनलाई सदुपयोग गरी व्यावसायिक तवरले टिमुर लगाएर कृषकले आयआर्जन गर्न सक्ने सम्भावना छ ।

निस्दी गाउँपालिका–६ अर्चलेको लेकडाँडा कृषि पशु वन उत्पादन समितिले वनमारासहितको झाँडीले ढाकिएको जमिनलाई सदुपयोग गरी व्यावसायिक रुपमा टिमुर लगाएको छ । यहाँका स्थानीयवासीको आयस्तर उकास्न करिब एक सय २० हेक्टर क्षेत्रमा फैलिएको जमिनमा टिमुर, दालचिनी र अम्रिसो खेती यसै वर्षबाट शुरु गरिएको छ ।

टिमुर खेतीलाई व्यावसायिकरण गर्ने उद्देश्यले करिब १६९ घरधुरीका कृषकले समूहमार्फत खेती गर्न थालेको समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले बताउनुभयो ।
समितिले टिमुरसँगै ५० हजार अम्रिसो र सात हजार पाँच दालचिनीको बिरुवा लगाएको छ । टिमुरको बोटमा काँडा हुने, काँडाले घोच्यो भने घाउ पाक्ने भएकाले घर तथा बस्ती नजीकमा समेत यसको बिरुवा लगाइँदैन । यो प्राकृतिक जङ्गलमा आँफै हुर्किएको बोटबाट टिप्ने गरिन्छ । गाउँका केही व्यक्तिले टिपेर बुटवलको बजारमा पु¥याई न्यूनतम मूल्यमा बिक्री गर्दछन् ।
कृृषकमा टिमुरबाट भन्दा अन्य क्षेत्र दालचिनी, अम्रिसोबाट छोटो समयमा धेरै आम्दानी लिने प्रवृत्ति बढेकाले उनीहरुको आकर्षण कम भएको पाइएको छ ।

लगाएको तीनदेखि पाँच वर्षपछि उत्पादन लिन सकिने र एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिने भए पनि यस खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने राम्रो ज्ञान नभएका कारण खेती विस्तार हुन नसकेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मानव स्वास्थ्यलाई अत्यन्त राम्रो मानिने, औषधिका रुपमा प्रयोग हुने भए पनि यसको खेती विस्तार गरी उपयोगिताका विषयमा गाउँका कृषकलाई चेतना नभएका कारण अन्य खेतीमा जस्तो टिमुर खेतीमा कृषकको आकर्षण नभएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D