फिचर

लोप हुने खतरामा गन्धर्व जातिको गायन पेशा

हुमाकान्त पोखरेल
गुल्मी, ३० कात्तिक । ‘दुःखीलाई आएन काल ः बाचुञ्जेली सधैको यहि चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घाका चुरा बहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गित गाउन थालेको ६२ बर्ष भयो । सात बर्षको उमेरबाट गन्दर्भ जातिले गाउने गित सिकेका उनी अहिले ६९ बर्षका भए । उनी उमेरले बृद्ध हुँदै गए । शरीरमा पहिलेझैँ काम गर्ने जाँगर छैन । तर आफ्नो गायन पेशाप्रति भने उनको रुचि घटेको छैन् । आफ्ना बाउ–बाजेले गाउँगाउँमा गई गित गाएरै जिविकोपार्जन गरेको प्रथालाई उनी कायम राख्न चाहान्छन् । तर उनलाई उमेरले साथ दिएको छैन । भने छोराहरुले त्यसप्रति ध्यान दिन सकेका छैनन् ।

पहिले–पहिले आजकाल झै सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्रीहरु गाउँबाटै जुटाउनुपथ्र्यो । जसले गर्दा गन्धर्भ जातिका मानिसहरु गाउँगाउँमा गित गाउन जान्थे । गित गाएपछि गाउँलेले दिएको नुनु, चामल, दाल, तरकारीले आफ्नो जिविकोपार्जन चलाउथे । चुरा बहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवा लगायतका थुप्रै ठाउँ पुगे । ६२ बर्षसम्म उनले देशमा शासन–व्यवस्था परिवर्तन भएको दखे । थुप्रैले निर्वाचनमा भोट मागेको र महत्वपूर्ण आशा देखाएको उनीसँग अझै सम्झना छ । तर बिडम्बना, उनले भने अझै पनि शासन–व्यवस्था परिवर्तन भएको महशुस गर्न पाएका छैनन् । जसले गर्दा उनको गायन पेशा फष्टाउनुको सट्टा झन खुम्चदै गएको छ । आफुहरुको गायन पेशालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएको कारण लोप हुँदै गइरहेको चुराबहादुरको गुनासो छ । ‘गाउँमा अझै पनि गित सुन्ने चाहाना गर्छन, तर उमेरले साथ दिएन ।’ उनले भने, ‘राज्यले हेरेन, छोराले सिकेनन् ।’

उनको छिमेकी पेम बहादुर गन्धर्व उमेरले ५० बर्ष पुगे । नियमित गन्धर्व जातिको गित गाएरै जिविकोपार्जन गर्न थालेको पनि २६ बर्ष भयो । १२ जना छोराछोरीमध्ये अहिले ११ जना जिवित छन् । उनी गित गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बाग्लुङ, अर्घाखाँची लगायतका स्थान पुगे । त्यसैबाट परिवारको गुजारा गरेका उनको अहिले भने त्यत्ति गाउने जागँर छैन । कारण हो, पेशा सम्मानजनक नहुनु । ‘गाउँमा गित गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन ।’ प्रेम बहादुरले भने, ‘बाध्य भएर गायन पेशाप्रति कम समय दिनुपरको छ ।’ पहिले–पहिले गित गाईसकेपछि अन्न, नुन लगायतका सामग्री दिएपनि आजकल पैसा मात्र दिन थालेको उनले बताए । प्रेम बहादुरले गित गाउने मात्र होइन, सारङ्गि बनाउन पनि जानेका छन् । आफै सारङ्गी बनाउने र बजाउने हुँदा केहि रुपमा सहज छ । तर समाजले नै नकारात्मक रुपमा हेर्दा आफुलाई दुःख लाग्ने गरेको उनी बताउछन् । ‘कुनैकुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन् ।’ उनले भने, ‘गाउन जाँदा बचन सुन्नुपर्छ ।’

नयाँ पुस्ताले सिकेनन्

चुरा बहादुरका छोरा चारभाई छन् । तीमध्ये जेठो छोराले घर–गाउँमै मजदुरी गर्छन । भने माइलो, साइँलो र कान्छो छोरा रोजगारीको लागि भारतमा छन् । प्रेम बहादुरका पनि तीनभाई छोरा छन् । जसमध्ये एउटा सानै छ । बाँकि दुईभाईमध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन । भने अर्को छोरा रोजगारीकै लागि विदेश जाने तयारीमा छन् । बम्घामा गन्दर्भ जातिका ११ घर छन् । जसमध्ये तीन जना बृद्धले मात्र सारङ्गि रेट्दै गित गाउछन् । चुरा बहादुर, प्रेम बहादुर र बल बहादुर गन्धर्व । गित गाउने अन्यको निधन भयो । पुराना हराउदैँ गए ।

नयाँ विदेश धाउन थाले । जसको कारण यो पेशा लोप हुँदै गएको छ । ‘अहिलेसम्म जसोतसो पेशा थामिएको छ, तर अब धेरै नरहने भयो ।’ चुरा बहादुरले भने, ‘छोराहरुले सिक्नै खोज्दैनन् ।’ आफुले छोराहरुलाई सिक्न धेरै आग्रह गरेपनि उनीहरुले नमानेको उनको गुनासो छ । प्रेम बहादुरले पनि नयाँ पुस्ताले अनुशरण गर्न नसक्दा आफुहरुको पेशा संकटमा परेको बताए । आफु रहुञ्जेल सारङ्गि बजाएपनि आफुपछि यो पेशा नै लोप हुनेमा चिन्ता व्यक्त गरे । ‘सारङ्गि रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन् ।’ उनले भने, ‘रेडियो, टेलिभिनसँगै गायन पेशा पनि लोप हुँदै गएको छ ।’

जिविकोपार्जन चलेन

प्रेम बहादुरका माइला छोरा शरण गन्धर्भले गायन पेशाबाट जिविकोपार्जन नचल्ने भएकोले आफुहरुले बढी चासो नदिएको प्रतिक्रिया दिए । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसहरुले गायन पेशालाई त्यत्ति महत्व दिन छाडेकोले आफुहरुले पनि गाउन नसकेको बताए । रोजगारिको लागि भारतमा रहेका शरण केहि समयको लागि घर आएको बताए । ‘यहि पेशाले हार्मि हुर्कियौँ, जोगाउन मन त लाग्छ ।’ उनले भने, ‘तर आम्दानी हुँदैन ।’ यदि राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफुहरु त्यसमा लाग्ने उनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D