कृषी

मुसिकोट नगरपालिकामा कफि खेती विस्तार गर्न १ सय ५० रोपनी जग्गा प्राप्ति हुँदै

सागर भण्डारी
गुल्मी, १ असौज । मुसिकोट नगरपालिकामा कफि खेती विस्तार गर्न जग्गा खरिदका लागि नेपाल सरकारले स्वीकृत प्रदान गरेको छ । कफिको जननी भनेर चिनिएको नगरपालिकाको वडा नं ५ आँपचौरमा रहेको कफि विकास केन्द्रलाई कफी खेती विस्तारका लागि १ सय ५० रोपनी जग्गा खरिदका लागि स्वीकृती प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

नेपाल सरकारका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले भाद्र ३० गते आयोजित पत्रकार सम्मेलनमा जग्गा खरिदका लागि स्वीकृति दिएको जानकारी गराउनुभएको अधिकृत भण्डारीले बताउनुभयो । आँपचौरको लाम्चे विसौना देखि देउरालीसम्म सम्भव भए २ सय रोपनी र नभए १ सय ५० रोपनी जग्गा प्राप्तिका लागि स्वीकृत प्रदान भएको कफी विकास केन्द्र आँपचौर गुल्मीका बरिष्ठ बागवानी अधिकृत बद्री प्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा बसोबास गर्ने घरधुरी र स्थानीयको जग्गालाई मुआब्जा दिनका लागि प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालयका सदस्य र नेपाल सरकारले तोकेका व्यक्ति सम्मिलित जग्गा प्राप्ति समिति निर्माण हुने पौडेलले बताउनुभयो । उक्त समितिले वर्तमान दररेटलाई मुल्याङ्कन गरी लालपुर्जाको आधारमा मुआब्जा दिने तरिका निर्धारण गर्ने र सोही आधारमा कफी विकास केन्द्रले जग्गा खरिद गर्ने अधिकृत पौडेलको भनाई छ । जग्गा प्राप्तिका लागि सघिंय सरकार मार्फत ३ करोड बजेट विनियोजन भएको छ ।

देशकै एकमात्र कफी विकास केन्द्रमा यस अगाडी ३७.३३ रोपनी जग्गा रहेको छ । जग्गा कम हुँदा केन्द्रको उद्धेश्य बमोजिम कार्य गर्न र प्रविधि विस्तारका लागि कठिनाई हुने गरेको थियो । उक्त जग्गा उपलब्ध हुनासाथ जात अनुसारको विरुवा उत्पादन गर्न, विउ विरुवा उत्पादन गर्न, कफीहरुको नमुना जर्मप्लाजम गर्न, ब्लग बनाउन, तथा अनुसन्धानमा समेत सघाउ पुग्नुका साथै धेरै कार्यक्रम सञ्चालन गर्न सकिने पौडेलले बताउनुभयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D