शिवलाल सुबेदी
गुल्मी । गुल्मीका विभिन्न भागमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । शुक्रवार दिउँसोदेखि परेको वर्षासँगै जिल्लाका उच्च भूभागमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।
जिल्लाको सदरमुकाम नजिकै रहको रेसुङ्गाडाडाँसगै मदाने,मालिका, सत्यवती, भार्से, टिमुरेदह, ग्वाघा लगायतका जिल्लाको उच्च भुभागमा हिमपात भएको स्थानीयबासीले बताएका छन्। मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीका अनुसार शुक्रवार दिउसोदेखि वर्षा भएपछि शनिवार बिहानै हिमपात भएको भएको हो।

‘धेरै बर्षपछि अहिले हिमपात भयो’ अध्यक्ष केसीले भने,‘लामो समयसम्म पानी नपरेपछि खडेरी पर्यो अहिले वर्षासहित हिमपात भएको छ।’ यता पानीसँगै हिमपात भएपछि स्थानीयवासी खुसी भएको रेसुङ्गा नगरपालिका ३ का पदमलाल पाण्डेले बताए। ‘भदौ देखि पानी परेको थिएन,लामो समयपछि पानी पनि पर्यो उनले भने,‘पानीसँगै हिमपात पनि परेर चिसो बढेको छ।’

वर्षासँगै परेको हिमपातले गुल्मीमा चिसो बढेर जनजीवन प्रभावित भएको छ। चिसोको समयमा बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्। ‘वर्षासँगैको हिमपातले चिसो बढेको छ यस्तो वेला बालबालिकामा निमोनिया र बुढापाखामा दमको समस्या बल्झन सक्छ स्वास्थ्यकर्मी होमबहादुर पल्लीले भने “चिसोको समयमा तातो र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्छ।’

वर्षा र हिमपातले किसान खुसी
लामो समयको खडेरीपछि वर्षा र हिमपात भएपछि किसान भने खुसी भएका छन्। खडेरीले हिउँदेबाली सुक्नै लागेका बेला भएको वर्षाले बालीनालीलाई फाइदा पुगेको मदाने गाउँपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए।

सिँचाइको सुविधा नभएका अधिकांश ठाउँमा बाली सुक्न लागेको बेला परेको वर्षा र हिमपातले हिउँदेबाली, तरकारीबाली र फलफूललाई धेरै फाइदा पुग्ने भुसालको भनाई रहेको छ। यस्तै लामो समयपछि पानीसँगै हिमपात भएकाले आफु निकै खुसी भएको रेसुङ्गा नगरपालिका १० का विनोद कुवँरले बताए।

गहुँ, तरकारी सबै सुक्न थालेको थियो उनले भने हिमपात र पानीले बालीनाली सप्रिने भएकाले धेरै खुसी छु। लामो समयदेखि ब्यवसायिक तरकारी खेती समेत गदै आएका कुवँरका अनुसार सिचाईको अभावमा तरकारी राम्रो हुन नसकेको समयमा वर्षा र हिमपातले धेरै फाईदा पुगेको बताए।