कृषी

धुर्कोट गाउँपालिकाका बाख्रा पालक कृषकलाई खोर सुधार अनुदान रकम हस्तान्तरण

दिपेन्द्र खत्री
गुल्मी, १८ माघ । गुल्मीमा बाख्रा पालक कृषकहरुलाई खोर सुधार बापतको रकम हस्तान्तरण गरिएको छ । धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा २४ जना सदस्यहरूलाई खोर सुधार बापतको रू २ लाख २५ हजार रूपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित “सामुदायिक विकासका लागी बाख्रा उद्यम” परियोजना अन्तरगत सो रकम हस्तान्तरण गरिएको हो ।

“हामीले नयाँगाउको प्रत्यक टोलमा यो कार्यक्रम मार्फत हरेक दिन आम्दानी गर्ने वातावरण बनाउने योजना लिएर आएका छौ”, कार्यक्रमका प्रमुख अतिथि धुर्कोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कमल थापाले भने, “नयाँगाउमा ५ वटा मुल समुह र १५ वटा उपहार समुह मार्फत काम सुरू गरिएको हुदाँ जुन समुहमा पहिला खोर सम्पन्न हुन्छ, त्यो समुह सदस्यलाई खोरको रकम अनुदान दिन्छौँ ।”

गाउँपालिकाले जुन किसानले ५ वटा भन्दा बढि माउ बाख्रा पाल्छ त्यसलाई १० हजार रूपैया र माउ भन्दा कम बाख्रा पाल्ने सदस्यलाई ५ हजार रूपैयाको दरले रकम अनुदान दिने निर्णय गरेकाे साेहि कार्यक्रम मार्फत थापाले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जिसीले यो परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा प्रथम चौमासिकमा १५८ वटा बाख्रा, ११ वटा विउ बोका मुलाटो घाँसको नर्सरी र २४ वटा खोर गरि जम्मा १३ लाख ६१ हजार ७ सय १० रूपैया बराबरको काम सम्पन्न भएको हिसाब सार्वजनिक गरेका थिए । खर्च सार्वजानिक गर्दै खोरको रकम प्राप्त गर्ने २४ जना मध्ये ५ माउ भन्दा माथि पाल्ने २१ जना र ५ माउ भन्दा कम पाल्ने ३ जनालाई खोरको अनुदान बुझाएको जिसिले जानकारी दिए ।

नयाँगाउ सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति कोषाअध्यक्ष शान्ता खत्रीको अध्यक्षता, सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जिसीको स्वागत मन्तव्य तथा धुर्कोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कमल थापाको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यपालिका सदस्य कविता विक, कार्यपालिका सदस्य विमला सुनार, वडा सदस्य तुल्सा राना, वडा सदस्य चेतमान कुवर, वडा सदस्य देव वहादुर पाण्डे वडा सचिव सुर्य प्रसाद खनाल र प्रविधिक संयोजक नारायण जि सी र पत्रकार दिपेन्द्र खत्री लगायतको समेत उपस्थिती रहेको कार्यक्रमको सहजिकरण सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका सामुदायिक सहजकर्ता विष्णु कुंवरले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D