कृषी

तरकारी खेतीबाटै मनग्य आम्दानी

तम्घास, कार्तिक २९ । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्छन् । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उनको दैनिकी हो । कारण हो, उनले विगत ६ वर्षदेखि व्यावसायीक खेती गर्दै आएका छन् । रानाको जीवनको ऊर्जाशील उमेर रोजगारीको सिलसिलामा भारतमै बिते । बल हुने बेलासम्म पो भारतमा काम गर्ने, बल सकिएपछि के गर्ने ? उनले सोचे । त्यसपछि हुगाका आफ्नो साथीको बारीमा जाँदा तरकारी खेती गरेको देखेर राना पनि प्रभावित भएर आफूले पनि त्यसै गर्न शुरु गरे ।

रानाले अहिले कूल १० रोपनी बारीमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । जसमा टमाटर, काउली, बन्दा, आलु, खुर्सानीलगायत तरकारी लगाएका छन् । राना पहिले–पहिले उत्पादित तरकारी डोकोमा बोकेर विभिन्न ठाउँमा बेच्न हिड्ने गर्थे । अहिले भने तरकारी लिन पैँचो पसलको गाडी घरमै आउछ । बारीमा पुरोना, विन सेरिन र सिर्जना गरी तीन जातका टमाटर लगाइको छ भने अन्य तरकारी पनि फरक–फरक जातका लगाएका छन्।

तरकारी बिक्रीको लागि उनले पैँचो पसलसँग सम्झौता गरेका छन् । समयअनुसार काउली रु १२०, सिमी १३०, बन्दा ५५ तथा टमाटर ३० देखि ७५ प्रति केजीसम्म बिक्री हुन्छ । बजारमा तरकारीको माग बढी हुँदा मूल्य बढ्ने र माग कम हुँदा मूल्य कम हुने उनले बताए । उनले कूल दश वटा टनेलमा टमाटर लगाएका छन् । टमाटरको तलपट्टि गोपीका बिरुवा लगाएका छन् । अहिलेको मौसममा मात्रै सय क्वीन्टल टमाटर उत्पादन हुने उनले बताए। वार्षिक रुपमा उत्पादन गर्दा लागेको खर्च कटाएर मात्रै चारदेखि रु पाचँ लाख आम्दानी हुने उनले बताए ।

उनको परिवारमा बुबा, आमा, श्रीमती र दुईभाई छोरा छन् । परिवारबाट पनि राम्रो सहयोग भएकाले काममा झनै हौसला मिलेको उनको अनुभव छ । साथै आफ्नै घरमा उत्पादन भएको तरकारी खादा कुनै रोग नलाग्ने र स्वस्थ भइने पनि उनको अनुभव छ । छत्रकोट गाउँपालिका–१ हुगाँका ४० वर्षीया दानबहादुर पल्लीले २०७२ बाट खुल्ला रुपमा टनेलबाहिर टमाटर खेती शुरु गरे। अहिले १० रोपनी जग्गामा ४१ वटा टनेल बनाएका छन् । जसमध्ये १० वटा पक्की टनेल र ३१ वटा कच्ची टनेल छन् । उनको मुख्य उत्पादन टमाटर हो । त्यसका साथै राज्मा सिमी, रायो र गोपी पनि उनले बिक्री गर्दै आएका छन् । टनेलमा टमाटर र टमाटरको फेदमा गोपी लगाएर उनले एकै ठाउँमा दोहोरो उत्पादन लिँदै आएका छन् । एक केजी सिमी ८० देखि १००सम्म बिक्री हुन्छ । यो वर्ष पनि ६ क्वीन्टल सिमी उत्पादन गर्ने पल्लीको लक्ष्य छ । उत्पादित सबै तरकारी बुटवलमा पठाउने भएकाले पनि बजारको कुनै समस्या नभएको उनले सुनाए।

टमाटर, सिमीलगायत सबैजसो तरकारी खेतीबाट कूल १२ लाख आम्दानी हुने र त्यसबाट खर्च कटाउदा ६ लाख बचत हुने उनले बताए । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको चार लाख अनुदान र आफ्नो चार लाख गरी कुल आठ लाखमा १० वटा टनेल थप गरेका थिए । साथै वार्षिक १० वटा टनेल वृद्धि गर्दै लैजाने योजना रहेको उनको भनाइ छ । “गर्न सके स्वदेशमै सुन फलाउन सकिदो रहेछ”, उनले भने, “राज्यको तर्फबाट अनुदानको सट्टा पुरस्कार दिने लगायतका प्रोत्साहनका काम गर्नुपर्छ ।’

पानीको समस्या

युवाहरुले व्यावसायिक तरकारी खेती गर्न चाहेपनि सिँचाइको लागि पानीको उपलब्धता नहुँदा समस्या परेको छ । हुँगामा विगत दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको ‘स्मार्ट कृषि गाउँ’ पनि लागू भएको छ । तर आवश्यक पानीको उपलब्धता नहुँदा समस्या खेप्नुपरेको छ । “आवश्यक सिँचाँइ अभावले सोचेजती काम हुन सकेको छैन”, दानबहादुर पल्लीले भने, “हाम्रो धेरै लगानी पानीको लागि खर्चनुपरेको छ ।” अर्का स्थानीय होमबहादुर पल्लीले पनि पानीकै अभावले गर्दा स्मार्ट कृषि गाउँ कार्यक्रममा समस्या परेको बताए । “स्मार्ट कृषि गाउँ कार्यक्रम आएकोमा खुसी छौँ ”, उनले भने, “पानीको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन ।”

छत्रकोट गाउँपालिकामा चालू आवमा कुल रु दुई करोड ३५ लाख खानेपानीको लागि विनियोजन भएको छ । तर सिँचाँइको लागि भने आवश्यक बजेट विनियोजन भएको छैन । गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले हुँगा, पल्लिकोटलगायतका स्थानमा ठूला खानेपानीका आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। कुलोबाट सिञ्चित हुने धेरै क्षेत्र नभएकाले पहिलेदेखि भएका कुलालाई व्यवस्थित गरेर सञ्चालन गर्ने योजना रहेको उनले सुनाए। -रासस

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D