स्वास्थ्य

जिल्ला अस्पतालको दुरावस्था: ९० प्रतिशत बिशेषज्ञ डाक्टर छैनन्, अप्रेशन गर्ने कोठामा पानी चुहिन्छ

टोपलाल अर्याल
गुल्मी, २४ पुस । जिल्ला अस्पताल तम्घाससंगै अन्य आवासहरु पनि जीर्ण भएपछि समस्या भएको छ । अस्पतालबाट गुल्मी अर्घाखाँचीका सरदर एकदेखि डेढ सय बिरामीले दैनिक सेवा लिन्छन्् । त्यो सेवा सहज र सरल छैन ।

एउटा कोठामा दुई डाक्टरले बिरामीको उपचार र परिक्षण गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले बताए । उनले अत्यधिक गर्मी र चिसोमा बिरामीको संख्या बढ्दा र अन्य सेवा थप गर्दा अस्पतालको भौतिक अवस्था राम्रो नभएकाले समस्या हुने गरेको छ । त्यो संगै कर्मचारीलाई बस्ने आवास गृह पनि जिर्ण रहेको छ । जसका कारण बाहिरबाट आउने डाक्टरहरुलाई व्यावस्थापन गर्न निकै समस्या रहेको पाच्याले बताए । त्यस्तै अस्पताल र आवास गृहमा पानीको समेत चरम अभाव रहेको छ । स्रोत साधनको अभावमा आधारभूत कुराहरुको पनि व्यावस्थापनमा निकै समस्या रहेको पाच्याले बताए ।

५० शैया, ९० प्रतिशत बिशेषज्ञ छैनन्
जिल्ला अस्पताल तम्घास कागजमा ५० शैयाको हो । तर आवश्यक सेवा सुविधा र भौतिक पूर्वाधारका हिसावले १५ शैयाभन्दा फरक छैन । गुल्मी अर्घाखाँचीका सरदर एकदेखि डेढ सय बिरामीले दैनिक सेवा लिएका छन् । त्यो सेवा सहज र सरल छैन् । एउटा कोठामा दुई डाक्टरले बिरामीको उपचार र परिक्षण गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । जिल्ला अस्पताल तम्घासमा भौतिक पूर्वाधार मात्र होइन, जनशक्तिको पनि अभाव भएको छ । अस्पतालमा कुल १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर त्यो दरबन्दी कागजमै सिमित रह्यो ।

अहिले एकजना मात्र विशेषज्ञ डाक्टरले १० जनाकै काम चलाएका छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरु ९० प्रतिशत छैनन् । ‘१० जना विशेषज्ञ डाक्टरमध्ये म एक्लैले काम चलाउनुपर्छ, बिरामी र कार्यालयको काम धेरै, जनशक्ति थोरै,’ पाच्याले भने, ‘सेवा प्रभाहमा निकै कठिनाई छ ।’ दरबन्दी चार जना र चार जना छात्रवृति करार र एक जना एनएसआइका गरि नौ जना मेडिकल अधिकृत छन् । भने एक जना दरबन्दी र एक जना छात्रवृति करारका डेन्टलका डाक्टर रहेको अस्पतालले जनाएको छ ।

नर्स ६ महिनासम्म तलव बिहिन
जिल्ला अस्पतालका दुईजना नर्सले यो आर्थिक बर्षमा एक पटक पनि तलब बुझेका छैनन् । सामाजिक विकास मन्त्रालयबाट बजेट नआएकोले अझैसम्म पनि तलब आएको छैन । प्रति महिना २३ हजार पाँच सयका दरले दुई नर्सको दुई लाख ३५ हजार रकम सामाजिक विकास मन्त्रालयले अझै नपठाएको पाच्याले बताए ।

त्यस्तै अस्पतालमा पोस्टमार्टम गर्ने ठाउँको समेत अभाव छ । ‘अस्पताल आफै जिर्ण अवस्थामा छ,पोस्टमार्टम गर्ने ठाउँको निकै अभाव छ,’ अस्पतालका डाक्टर रामचन्द्र पन्थीले भने, ‘अस्पताल सबैको हो, जनसमुदाय गम्भिर हुनु जरुरी छ ।’ २४ सै घण्टा बिजुली अथवा जेनेरेटर समेत नहुँदा भरपर्दो सेवा दिन नसकिएको अस्पतालले जनाएको छ । त्यस्तै अप्रेसन गर्ने कोठामा बर्षामा पानी चुँहिदा समस्या परेको छ ।

जिल्ला अस्पतालका भावी योजना
आफ्नै समस्या हुँदाहुँदै पनि जिल्ला अस्पतालले प्रभावकारी सेवा प्रदान गर्न विभिन्न योजनाहरु बनाएको छ । अस्पतालले कम्युटरबाट सेवा प्रदान गर्ने, अस्पतालमा क्यान्टीन संचालन गर्ने, आफ्नै एम्बुलेन्स प्रभावकारी संचालन गर्ने योजना अगाडी सारेको छ ।

साथै प्रयोगशाला सेवा थप विस्तार गर्ने, डिजिटल टोकम प्रणाली विकास गर्ने लगायतका योजना अस्पतालको छ । त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका एम्. डि. का अन्तिम बर्षका आवासीय डाक्टरहरुलाई ग्रामिण क्लिनिकल अनुभवका लागि समन्वय गर्ने लगायतका योजना पनि अस्पतालका रहेको पाच्याले जानकारी दिए ।

जिल्ला अस्पतालको डिपिआर हुँदै
जिल्ला अस्पताल तम्घासको स्तरउन्नतीका लागि डिपिआर भैरहेको छ । भौतिक संरचनाको अभावमा जिल्ला अस्पताल समस्यामा छ । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले प्राविधिकहरुको टोलीले जिल्ला अस्पताल तम्घासको डिपिआरको काम गरिरहेको जानकारी दिए । यद्यपी प्रतिवेदन भने अझै आइसकेको छैन । डिपिआरको काम सकिएपछि आवश्यक बजेट बिनियोजनको लागि प्रदेश तथा केन्द्रिय निकायसंग समन्वय र छलफल भैरहेको भुसालले बताए ।

दैनिक सरदर एक सय बिरामी
अहिले जिल्ला अस्पताल तम्घासमा दैनिक सरदर एक सय बिरामीले उपचार गर्ने गरेको अस्पतालका कम्प्युटर अप्रेटर देवराज खनालले बताए । आइतबार मात्रै जिल्ला अस्पतालमा ओपिटी र इमरजेन्सीमा गरि एक सय ४० र सोमबार एक सय १८ जनाले उपचार तथा स्वास्थ्य परिक्षण गराएको अप्रेटर खनालले बताए ।

त्यस्तै जिल्ला अस्पतालसंगै बाहिर मेडिकलहरुमा पनि चिसोका बिरामीहरु बढ्दै गएका छन् । दैनिक क्लिनिकमा आउने बिरामी मध्ये ३० प्रतिशत बिरामी चिसोबाट प्रभावित आउने गरेको शुभ लक्ष्मी क्लिनीकका संचालक होम पल्लीले बताए । बिरामीहरु सवैभन्दा बढि १० बर्षभन्दा मुनिका बालबालिका रहेका छन् । भने बृद्धबृद्धा पनि चिसोबाट बिरामी हुने गरेका छन् ।

दुई महिनामा मात्रै साढे ४ हजारलाई सेवा
पछिल्लो दुई महिना मंसिर र पुसमा मात्रै चार हजार चार सय ३४ जना बिरामीले जिल्ला अस्पताल तम्घासबाट सेवा लिएको अस्पतालले जनाएको छ । मंसिर र पुसमा बहिरंग तर्फ दुई हजार एक सय २६ महिला र एक हजार चार सय ६० पुरुषले सेवा लिएका छन् ।

त्यस्तै अन्तरंगतर्फ एक सय ४१ महिला र ३९ पुरुष गरी कुल एक सय ८० जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस्तै तीन सय ९० महिला र दुई सय ७८ जना पुरुषले आकस्मिक सेवा लिएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D