पर्यटनफिचर

चिच्याएर वर मागिने मालिका मेला, यस्तो ​छ ५ हजार बर्ष पुरानो इतिहास

टोपलाल अर्याल
गुल्मी, ४ मंसिर । ‘मुसिकोट नगरपालिका । मनको पुकार कसैले सुनेन्, बुझेनन् चिच्चाएर बर माग्न आउँला मालिका ।’ यो चर्चित लोक दोहोरी गायक एवं सर्जक बसन्त थापाको गीत हो । थापाले गीतमा भने जस्तै चिच्याएर बर माग्ने बिशेषताले कुर्घा मालिका प्रसिद्ध छ । मुसिकोट नगरपालिका ६ कुर्घामा अवस्थित मालिका भगवतिको मन्दिर गुल्मीसहित पश्चिम बाग्लुङ, अर्घाखाँची, प्युठान र पाल्पाका नागरिकको धार्मिक आस्थाको केन्द्र हो ।

बिशेष गरेर कार्तिक शुक्ल चर्तुदशीका (बैकुण्ठ चर्तुदशीं) दिन मेला लाग्ने गर्दछ । बर्षभर एकादशी, औसी, सोह्र श्रद्धा, स्वस्थानी र साउनभर बाहेक नियमित पुजा हुने गरेको मालिका भगवति मन्दिर व्यावस्थापन समिति अध्यक्ष झविराम शर्माले जानकारी दिए । उनले पछिल्लो समय बैकुण्ठ चर्तुदशीका अवसरमा विभिन्न प्रतियोगीतासहित तीन दिन मेला हुने बताए ।

पहिले बर्षमा एक पटक कार्तिक शुक्ल चर्तुदशीका दिन रातमा मात्रै मेला हुने गर्दथ्यो । रातको समयम । हजारौ दर्शनार्थी । लडाँई झगडा बढि हुन्थ्यो । केहि बर्षदेखि नियमित पुजा सुरु गरेर भिड र घटना कम हुँदै गएको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष शर्माको भनाई छ । मन्दिरमा बोकाको बलि र परेवा उडाउने प्रचलन रहेको छ ।

मालिका मेलामा दर्शनार्थीको घुइँचो

मालिका मन्दिरको छेउँमै पहाडको ठुलो खोच छ । जहाँ ढुङ्गाको कपेराका बिचबाट ठुलो पानी उम्रिएको छ । त्यहि खोचकै कुनामा मालिका देवि छन् भन्ने जनविश्वास छ । जसका कारण सोहि ठाउँमा पुग्न र बर माग्न दर्शनार्थीको निकै ठुलो प्रतिस्प्रर्धा हुन्छ । इस्मा गाउँपालिका ४ दोहलीका कमल गुरुङ मालिका मेलामा परिवार सहित आएका थिए ।

गाडी रिर्जव गरेर राति आएका गुरुङले बिहान करिव ८ बजेतिर मात्रै पालो पाए । निकै ठुलो भिडकाबिच मालिकाको दर्शन गरे । केहिबेर पुजा गरेर बर मागे । ‘भिडमा बर माग्ने स्थानमा पुग्नै गाह्रो पर्छ । पुगेर बर मागेपछि मन निकै पर्फुल्ल हुन्छ,’उनले भने,‘ समय पाएसम्म प्रत्येक बर्ष आउने हो ।’ बिशेष गरेर लाहुरे बन्न युवकहरु, सन्तान माग्नेहरु र रोगबाट मुक्तिका लागि बर माग्नेहरु मालिका पुग्छन् । रेसुङ्गा नगरपालिका १४ पराल्मीकी छली घर्ती पनि बैकुण्ठ चर्तुदशीका दिन बिहानै मालिका पुगिन ।

एकजोर परेवा उडाएर बर मागिन् । उनले पहिले दुखमा परेवा उडाउने संकल्प गरेकाले पुरा भएपछि उडाउन आएको प्रतिक्रिया दिइन् । मालिका व्यावस्थापन समितिका अनुसार मालिका मेला अवधिभर करिव तीन हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । तर, मालिका मेलाको व्यावस्थापन अझै राम्रो हुन नसकेको दर्शनार्थीको गुनासो छ । महिला पुरुष, बृद्धबृद्धा र अपांगहरुको लाइन व्यावस्थापन र मन्दिरसम्म आवतजावत कठिनाइ रहेको छ । ‘स्थानीय र आयोजक मेला व्यावस्थापनका बिषयमा अझै चनाखो बन्नुप¥यो । मन्दिर दर्शनमा भद्रगोल देखियो,‘ अर्घाखाँची छत्रदेव ७ का कमल पाण्डेयले भने,’नागरिकको सास्ती कम नगरे मेलाको महत्व हराउँछ ।’

मालिका संरक्षणको आशा

पहिले साँधुरो सडक थियो । मन्दिर परिसर अव्यस्थित भएकाले दर्शनार्थी सजिलो गरेर उभिन पाउँदैनथ्ये । मेलाको व्यावस्थापन राम्रो नभएकाले कैयौ लडाँई र झगडा भए । सडक पुगेपछि पनि सजिलो थिएन् । मालिका परिसरमा पार्किङ थिएन् । स्थानीय तहपछि मालिका संरक्षण र विकासको आशा जागेको छ ।

मुसिकोट नगरपालिकाले मालिकाको संरक्षण र विकासको लागि ११ करोडको डिपिआर बनाएको छ । भुवाचिदी–मालिका–स्वाँरा सडकको स्तरउन्ती गरिरहेको छ । डिपिआर अनुसार अहिलेसम्म करिव तीन करोडको काम गरिएको मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खडक बहादुर खड्काले जानकारी दिए । पार्किङ स्थल, घेराबार, वाल र खेल मैदान निर्माणको काम गरिएको खड्काले बताए । उनले मन्दिर जिर्णोद्धारसहितका अझै थुप्रै काम बाँकी भएको बताए ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले मालिका, मुसिकोट दरवार, सालिमेसहितका प्रसिद्ध धार्मिक स्थल र कफिसंग जोडेर कृषि पर्यटनलाई विकास गरिरहेको बताए । मालिका नजिक जिल्लामै पहिलो स्वाँरा गुरुङ होमस्टे रहेको छ । मुसिकोट नगरपालिकाकी उपपमेयर कमला शर्माले मालिका मन्दिर र स्वाँरा होमस्टेको संगै विकास र प्रर्वद्धन भइरहेको बताइन् ।

डिपिआरसहितको मालिकाको काम र भुवाचिदी–मालिका–स्वाँरा सडक व्यवस्थित भएपछि मालिका मन्दिरको दर्शन र होमस्टे आउने पर्यटकको संख्यामा बृद्धि हुने शर्माले बताइन् ।

५ हजार बर्ष पुरानो इतिहास

मालिकाका बारेमा कतिपय पुराणहरुमा चर्चा गरिएको छ । स्थानीयका अनुसार मालिका मन्दिर द्धापर युगको अन्त्यतिर स्थापना भएको हो । मालिका भगवति प्रकट भएर माल्याश्री नामका क्रृषिलाई बरदान दिएपछि मालिकाको उत्पति भएको पाइन्छ । अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्यश्री क्रृषिको आश्रम रहेको थियो । आश्रममा अरु साधुसन्त र अध्ययन गर्ने बिद्यार्थी पनि रहेका थिए ।

दैनिक पुजा पाठ र घृतधारा तथा चोरु हुन्थ्यो । त्यो स्थानमा अचानक खडेरी ठुलो प¥यो । पानीका मुहानहरु सुके । ताल र खोलाहरु सुकेपछि वनसंगल मासियो । बन्यजन्त लोप हुन थाले । ठुलो हाहाकार मच्चिएपछि स्थानीय क्रृषिसंग बिन्ती बिसाउन पुगे । क्रृषिले मालिका भगवतिको आराधाना गरे । देवि प्रसन्न भएपछि क्रृषिले पानी मागे ।

एक्कासी पहरोबाट पानी निस्कियो । सोहि दिनदेखि क्रृषिले मन्दिर स्थापना गरेर मालिका भगवति देविको पुजा गर्न सुरु गरेको किवदन्ती रहेको मालिकाका जानकार त्रिभुवन माविका शिक्षक दधिराम शर्मा पंगेनीले बताए । पहाडको भित्र मालिका भगवति देवि भएकाले चिच्याएर बर माग्ने धार्मिक जनविश्वास रहेको छ । आफुले मालिका जान्न थालेदेखिनै चिच्चाएर बर माग्ने गरिएको पंगेनीले बताए । उनका अनुसार त्यहि चिच्याएर बर माग्ने नामले प्रसिद्ध मालिका मन्दिरमा बैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्रम बस्ने, भजनकृतन गर्ने, सुनिमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D