अर्थकृषी

चिउरीले बनायो मालामाल, पाखाबारीकै चिउरी बन्यो आम्दानीको स्रोत

अब्दुल्लाह मिया, घनश्याम गौतम
बलिथुम (गुल्मी) — गुल्मी दरबार गाउँपालिका–१ थाक्सीपोखराका छविलाल रजाली मगर ७२ वर्षका भए । भारतीय सेनाको जागिरपछि निवृत्त जीवन आफ्नै घरमा बिताइरहेका छविलालको गाउँ–पाखाभरि चिउरीका रूख छन् ।

गुल्मीदरबार गाउँपालिकामा रहेको चिउरी मिल देखाउँदै सामुदायिक वनका अध्यक्ष छविलाल । तस्बिर : अब्दुल्लाह/कान्तिपुर
डिगौरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छविलालको टोली चिउरीको उपयोगबारे बुझ्न २०७२ सालमा खरबाङ गएको थियो । त्यहाँ चिउरीबाट घिउ निकालेर साबुन कारखाना चलाइएको थियो । किनभने खरबाङमा पनि बलिथुममा जस्तै प्रशस्तै चिउरीका रूख छन् ।

साबिकको बलिथुम गाविस (गुल्मी दरबार गाउँपालिका १), जुभुङ गाविस (गुल्मी दरबार गाउँपालिका २) र पराल्मी गाविस (रेसुंगा नगरपालिका १४) चिउरीका लागि विख्यात छ । यहाँका पाखा/पखेरादेखि व्यक्तिका निजी जमिनमा पनि चिउरीका थुप्रै रूख छन् । छविलाल र उक्त सामुदायिक वनका सदस्यहरूले यी चिउरीबाट बागलुङको खरबाङमा जस्तै साबुन उद्योग स्थापना गर्ने संकल्प लिएर वन कार्यालय र अन्य संस्थाहरूसँग सहयोगका लागि हात फैलाए । ढिलै भए पनि उनीहरूले मिहिनेतको फल हात पारेका छन् । गत माघ १४ मा सामुदायिक वनकै जग्गामा चिउरी भण्डारण तथा प्रशोधन केन्द्र (चिउरी मिल) स्थापना भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा.युवकध्वज जीसी र मन्त्रालयको योजना महाशाखा प्रमुख डा.प्रेम कँडेलले माघ १४ मा उक्त केन्द्र उद्घाटन गरेका थिए ।

जिल्ला वन कार्यालय, गुल्मी र नेपाल पन्छी संरक्षण संघ (बीसीएन) को आर्थिक सहयोगमा उक्त केन्द्र स्थापना गरिएको हो । वन कार्यालय र बीसीएनले संयुक्त रूपमा तीन वर्षअघिदेखि उक्त क्षेत्रमा स्थानीय बासिन्दाको जीविकोपार्जन र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो । त्यही कार्यक्रममार्फत् बलिथुमका स्थानीय बासिन्दाले आफ्नै पाखा/पखेराको चिउरी आम्दानीको स्रोत बन्न सक्दो रहेछ भनेर बुझेका हुन् । चिउरी प्रशोधन केन्द्र स्थापनाका लागि जिल्ला वन कार्यालयले करिब ४ लाख ७४ हजार उपलब्ध गराएको थियो भने घिउ निकाल्न मिल्ने मेसिन खरिद गर्न बीसीएनले ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

‘त्यति रकम पाएपछि हौसिएर हामीले आफ्नै जमिनमा भवन बनायौं अनि मेसिन लेरायौं,’ समूहका अध्यक्ष छविलालले भने, ‘मेसिन सञ्चालनमा आइसकेको छ ।’ वन समूहले आफ्नै सामुदायिक वन, नजिकका अन्य सामुदायिक वन र निजी जमिनमा भएका चिउरी संकलन गरी घिउ निकाल्ने योजना बनाएको छ । केन्द्र स्थापना भएपछि वर्षौंदेखि खेर गइरहेको चिउरी आम्दानीको स्रोत बन्ने भएपछि सबैको मुहारमा उज्यालो छाएको छ ।

‘चिउरीमा साबुन बनाउने कच्चा पदार्थ हुनेरहेछ भन्ने बुझेपछि सबै जना उत्साही छौं,’ समूहका युवा जीवित खडका मगरले भने, ‘आफ्नै पाखा/पखेरामा रहेका प्राकृतिक स्रोतको उपयोग गर्न सके आम्दानी गर्न सकिने रहेछ भन्ने बुझ्यौं ।’

यो वर्षदेखि उनीहरूले चिउरी संकलन गर्न थालिसकेका छन् । अहिले चिउरीको फल लागिसकेको छ । असार–साउनसम्ममा फल टिपिसक्नुपर्ने हुन्छ । पाकेको फलभित्र हुने बिजुला (गेडा) मेसिनले पेलेपछि तेल निस्किन्छ । त्यसैलाई घिउ भनिन्छ । बिजुलाबाट ३३ प्रतिशतसम्म घिउ निस्किन्छ ।

समूहले उत्पादन गरेको चिउरीको घिउ काठमाडौंका एक व्यापारीले खरिद गरिदिने वाचा गरिसकेका छन् । त्यसका लागि ती व्यापारीले स्थलगत अध्ययन गर्न बलिथुम गएका थिए । सुरुका केही वर्ष समूहले व्यापारीलाई घिउ बेच्ने निष्कर्ष निकालेका छन् । ‘पछि समूहबाटै साबुन कारखाना चलाउने योजना छ,’ अध्यक्ष छविलालले भने ।

बलिथुम क्षेत्रमा जीविकोपार्जन तथा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको बीसीएनका वरिष्ठ कार्यक्रम अधिकृत मित्र पाण्डेले चिउरी आम्दानीको राम्रो स्रोत बन्न सक्ने अहिलेसम्मको सिकाइले पुष्टि गरेको बताए । ‘स्थानीयको लगाव अत्यधिक देखिएकाले चिउरी आम्दानीको स्रोत बन्नेमा हामी ढुक्क छौं,’ पाण्डेले भने । -कान्तिपुर दैनिकबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D