कृषी

गुल्मीमा ३० प्रतिशत मात्रै रोपाई, खोला सुके मुल पुरिए

टोपलाल अर्याल
गुल्मी, २४ असार । साउन लाग्न धेरै दिन छैन् । मुल फुटेर खोला तरि नसक्नु हुनुपर्ने । ९० प्रतिशत अझै बेसी झर्ने मुडमा छैनन् । बेला ढिप्कीयो । पानीले ठग्यो । खोला किनारका लगभग सवै खेतमा रोपाई सकिनुपर्ने । जिल्लाको सवैभन्दा ठुलो इस्मा गाउँपालिकाको चौरासी फाँट । अहिलेसम्म निरस छ । ‘किसानलाई प्रकृतिले पनि ठग्यो बिउ बुढो भयो, खोलामा पानी छैन,‘धुर्कोट गाउँपालिका ५ का सुवास पाण्डेयले भने,‘ किसान मर्कामा परिरहेका छन् ।’ मानो रोपेर मुरी फलाउने बेला जिल्लामा ३० प्रतिशत रोपाँई भएको छैन् ।

गत बर्ष भन्दा यसबर्ष समयमै पानी नपरेकाले धान रोपाँई केहि ढिलो भएको हो । लामो समय पानी नपरेका कारण खोलामा पानी नभएका कारण अझै गुल्मीमा ७० प्रतिशत रोपाई हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताए । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार किसानहरुले समयमै धानको ब्याड राखेको भएपनि असार १६ गते अगाडि बर्षा नभएकाले रोपाई ढिलाइ भएको पन्थीले बताए ।

आकाशे पानीको भरमा रोपाई गर्नेहरु धेरै पानीको प्रतिक्षामा छन् । गुल्मी जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये नौ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । भने एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । केही खेतमा चैते धानसहित मकै बाली समेत लगाइएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटका किसानहरु बिउ बुढो हुँदै गएपछि चिन्तामा परेका छन् ।

सडक निर्माणले मुल पनि सुक्यो, कुलो पनि पुरियो
यो बर्ष नौलो कुरा भएन् । तर अहिलेका स्थानीय तहको प्रमुख काम पनि सडक निर्माण नै हो । जसका कारण धेरै ठाउँका पानीका मुल सुक्दै गएका छन् । भने भएका पनि सडकका कारण पुरिदै गएका छन् । केही भागहरुमा सडक निमार्ण गर्ने क्रममा कुलो पुरिएको छ भने कतै भत्किएपछि समस्या भैरहेको छ । ‘पानी लामो समय नपरेपछि त्यतिकै पनि मुल सुक्ने बेला भयो,’मुसिकोट नगरपालिका ३ का कृष्ण घिमिरेले भने,‘भएका पनि डोजरले पुरेर सके ।’

जिल्लाका धेरै चैते धान हुने खेतहरु सडकका कारण अहिले बाँझो नै छन् । इस्मा गाउँपालिका २, ३ र ६, मालिका गाउँपालिकाको ६ र ८ साथै धुर्कोट गाउँपालिकाका ५ वडाका करिव पाँच सय रोपनी खेतमा सडकका कारण चैते रोपाई हुँदैन् । बर्खामा पनि धेरै मुस्किलले पानी ल्याएर रोपाई हुँदै आएको धुर्कोट गाउँपालिका ५ का युवराज भण्डारीले बताए । यी खेतका अधिकांश कुलोहरु तम्घास–सिमलटारी–प्युठान सडक निर्माणको क्रममा पुरिएको भण्डारीले बताए ।

अहिले गुल्मीमा खुमलटार, मार्सी, काठेचिन्ह्र, हर्मसराज, खुमल आठ, मन्सुरी, मनसरा, रामधान लगायत करिव एक दर्जन जातका धान उत्पादन हुने गर्दछ । यस वर्ष साउन महिनाभर सवै ठाउँमा रोपाई सकिने अनुमान गरिएको छ । समयमै पानी नपरेकाले किसानहरुले समयमै रोपाई गर्न नपाएकाले यस बर्ष धान उत्पादन घटन सक्ने समेत कृषि विकास कार्यालयले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D