कृषी

गुल्मीमा २६ करोडको सुन्तला उत्पादन, यी हुन सुन्तला उत्पादन हुने मुख्य क्षेत्र

हुमाकान्त पोखरेल
गुल्मी, ११ पौष । गुल्मीको धुर्कोट गाउँपालिका १ नयाँगाउँका टिका बहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहार सुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र विक्रि गर्ने भएकोले त झन उनी बगैचामै ब्यस्त हुन्छन् । सुन्तलाकै स्याहार गर्दा कुनै बेला खाने समय समेत पाउदैनन् हमालले ।

बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोहि पाहुना आए समय दिन समेत पाउदैँनन् । आजकल हमाललाई भेट्नपरे सुन्तलाकै वगैचामै पुग्नुपर्छ । ५२ बर्षिया हमालले विगत ३१ बर्षदेखि सुन्तला खेति गर्दै आएका छन् । सुन्तला खेतिबाटै उनले बार्षिक पाचँदेखि छ लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘एक बर्ष विराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल पाचँ लाखको विक्रि गरियो ।’ हमालले भने, ‘यो बर्ष राम्रो उत्पादन भएको छ, कम्तिमा छ लाख पर्ने अनुमान छ ।’ सुन्तला लिन घरमै ब्यापारी आउछन् । उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटबलसम्म पुग्छ । अहिले प्रति किलो ५० रुपँैयामा सुन्तला विक्रि गरिरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारिमा जाने युवाहरुको प्रतिस्पर्धा छ । तर हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । ‘यो पुख्र्यौली पेशा हो, मैले ब्यवसायिकरण गरेको मात्र हुँ ।’ उनले भने, ‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।’ उनले कुल १२ रोपनी जग्गामा सुन्तला खेति गर्दे आएका छन् ।

अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भईरहेको छ । भने थप ४० हजार विरुवा नर्सरीमा छन् । केहि बर्षपछि ति विरुवाले पनि उत्पादन दिदाँ उनको आम्दानी झनै बढ्ने हमाल बताउछन् । घरमा तिन छोरा, तिन छोरी र आफूहरु श्रीमान–श्रीमती गरी ६ जनाको परिवार छ । सुन्तलाको साथसाथै ११ बाख्रा र ११ घार मौरी पनि उनले पाल्दै आएका छन् । घरखर्चको लागि बाख्रा र मौरिबाट प्रशस्त पुग्छ । सुन्तलाको रकम बचत हुन्छ । ‘घरखर्च अन्य आम्दानीबाट चल्छ, सुन्तलाबाट कमाएको रकम बचत हुन्छ ।’ उनले भने, ‘तराईतिर घडेरी किनेर घर बनाउने हो ।’ सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनको भनाई छ ।

सोहि गाउँकै चन्द्र विकले पनि अहिले ६० हजारको सुन्तला विक्रि गरे । नौ बर्षदेखि ब्यवसायीक सुन्तला खेतिमा लागेका विकको बगैचामा एक सय बोटले उत्पादन दिइरहेका छन् भने थप पाचँ सय विरुवा नर्सरीमा छन् । ६० वटा विरुवाबाट सुरु गरेका विकले बर्षैपिच्छे आम्दानी बढाइरहेका छन् । सुन्तला एकपटक लगाएपछि धेरै बर्षसम्म फल्ने र अन्य खेतिलाई झै स्याहार गर्न नपर्ने भएकोले सुन्तला खेतितर्फ आकर्षित भएको उनको भनाई छ । आफ्नै घरपरिवारमा बसेर खेतिपाति गर्दा आनन्द आउने विक बताउछन् । ‘घरमै बसेर काम गर्दा पारिवारिक आनन्द हुन्छ ।’ विकले भने, ‘परिश्रम गर्न सके स्वदेशमै राम्रो कमाई हुन्छ ।’ सुन्तलाको साथसाथै भैँसी, बाख्रा लगायतका माध्यमबाट पनि उनले मनग्य आम्दानी गर्दै आएका छन् । अब सुन्तला र कागतिको माध्यमबाट आम्दानी गर्ने उनको सोच छ । जसका लागि उनले गाउँपालिकाबाट एक लाख अनुदान समेत लिएका छन् ।

गुल्मीमा २६ करोडको सुन्तला
सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ । गत बर्षभन्दा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । राम्रो मौसम, अनुदान लगायतका कुराहरुको तालमेलले गर्दा २५ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘उत्पादन भएको पूरै सुन्तला बजारमा आइपुगेको त छैन ।’ केन्द्रका कृषि प्रसार अधिकृत तनबहादुर रानाले भने, ‘बोटको फल हेर्दा २५ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको आँकलन गरिएको छ ।’

उत्पादन भएको सुन्तलामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने बाँकि ६० प्रतिशत जिल्लाबाहिर निकासा हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गुल्मीमा कुल एक हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ । जसमध्ये छ सय ६० हेक्टरमा ९.८ मेट्रिक टन यस वर्ष सुन्तला उत्पादन भएको छ । त्यसलाई न्यूनतम प्रतिकिलो ४० रुपैँयाका दरले जोड्दा पनि २५ करोड ८७ लाख २० हजार रुपँैयाको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खुद्रा बजारमा भने सुन्तलाको भाउ भने प्रतिकिलो १२० रुपैयाँसम्म रहेको छ ।

यी हुन सुन्तला उत्पादन हुने मुख्य क्षेत्र
जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ९ अर्लाङ्ककोटमा ८० हेक्टर जमिन सुन्तला उत्पादन क्षेत्रमा पर्छ । तर त्यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ । बाँकि ३० हेक्टर जमिनमा ब्यवसायिक सुन्तला खेति गरिएको छैन । मुसिकोट नगरपालिकाको वडा नम्बर ८ वामीमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर रहेको छ ।

रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमिन सुन्तला उत्पादनका लागि योग्य छ । तर त्यहाँ जम्मा १० हेक्टरमा मात्र सुन्तला खेति गरिदैँ आएको छ । छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन गरिदैँ आएको छ । जहाँ २४० हेक्टर सुन्तला खेतिका लागि सम्भावित क्षेत्रफल हो । सोहि गाउँपालिकाकै हर्दिनेटामा २०० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये १६१ हेक्टर र हुँगामा ५० हेक्टर खेतियोग्य जमिनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

गुल्मीदरबार गाउँपालिकाको गौडाकोटमा एक सय हेक्टर सम्भावित क्षेत्रफलमध्ये जम्मा ५० हेक्टरमा मात्र सुन्तला खेति गरिदैँ आएको छ । गुल्मीदरवारको वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल रहेको छ । त्यस्तै सोहि गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा १४० हेक्टर जमिनमा सुन्तलाको ब्यवसायिक खेति गरिएको छ । जहाँको सम्भावित सुन्तला खेति क्षेत्र २३० हेक्टर हो । सोही गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँमा २२५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

सोहि गाउँपालिकाकै वडा नम्बर २ पीपलधारामा १ सय ३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल २ सय हेक्टर रहेको छ । त्यस्तै वडा नम्बर ३ हाडहाडेमा १२९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ । जहाँको सम्भावित क्षेत्रफल २२० हेक्टर हो । वडा नम्बर ४ जैसिथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरिदैँ आएको छ । वडा नम्बर ७ वाग्लामा ३० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये १५ हेक्टरमा उत्पादन गरिदैँ आएको छ ।

मदाने गाउँपालिकाको भनभनेमा कुल ४० हेक्टर जमिन सुन्तला खेतिका लागि योग्य छ । तर त्यहाँ ३० हेक्टरमा मात्रै उत्पादन गरिदैँ आएको छ । सोहि गाउँपालिकाको पुर्काेट दहमा ३० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये जम्मा १० हेक्टरमा मात्र खेति गरिएको छ । कालिगण्डगी गाउँपालिकाको भुर्तङ्गमा कुल ३५ हेक्टर जमिन सुन्तला खेतियोग्य छ । तर त्यसमध्ये जम्मा १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ । सोहि गाउँपालिकाकै जयखानीमा १०० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये ७० हेक्टरमा मात्र लगाइएको छ ।

त्यस्तै अर्वेनीमा ६० हेक्टर सम्भावित क्षेत्रफलमध्ये २० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ भाडगाउँ, ४ अर्खले, ५ को बालकाटे र ६ को गुरुङ्गगाउँ लगायतका स्थानमा १९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जबकि त्यहाँको सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको छ । चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये जम्मा ४० हेक्टरमा मात्र लगाइएको छ ।

विचौलियाको मारमा कृषक
गुल्मीमा सुन्तलाको उत्पादन अध्याधिक मात्रामा हुने गरेको छ । तर जिल्लामै भण्डारण गर्ने चिस्यान केन्द्र छैन् । जसले गर्दा किसान बिचौलियाको मारमा पर्ने गरेका छन् । ‘टिपेर लामो समयसम्म राख्न पनि मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ ।’ धुर्कोट गाउँपालिका १ नयाँगाउँकी कृष्णा कुवारीँले भनिन्, ‘आफूखुसि मूख्य राखेर ब्यापारिले लैजान्छन् ।’ आफूहरुसँग ५० रुपैँया प्रतिकिलो लगेर बजारमा ८० देखि बढी मूख्यमा बेच्ने गरेको उनले बताइन् । किसानले अझैपनि सुन्तलाको वास्तविक मूख्य नपाएको भन्दै उनले गुनासो समेत गरिन् । त्यस्तै किसानलाई भण्डारणको समस्याले गर्दा पनि सस्तैमा सुन्तला विक्रि गुर्नपरेको गुनासो सुन्तला कृषकले गरेका छन् । भने जिल्लाका अधिकाशं ठाउँमा सिँचाईको अभाव, प्राविधिक ज्ञानको कमी लगायतका समस्याले पनि किसानहरु मर्कामा परेका छन् ।

जिल्लाबाट प्राविधिक र अन्य सुविधा स्थानीय सरकारले दिने
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यान्वन इकाइ घोषणा भएको छ । यसले सुन्तलाको उत्पादन, वृद्धि उन्नत र आधुनिक प्रविधि उपलब्ध गराउन पहिलो वर्षमा सुन्तला जोन क्षेत्रका लागि ८१ लख ८८ हजार रुपैयाँ विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानहरुले विचौलियामा परेको गुनासो गरिरहदाँ कार्यालय भने त्यसो नभएको दाबी गर्छ । त्यसका साथै प्राविधिक ज्ञान कृषि ज्ञान केन्द्रले प्रदान गर्ने र अन्य सुविधा स्थानीय सरकारले गर्नुपर्ने उनले प्रतिक्रिया दिए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker