स्वास्थ्य

गुल्मीमा भाइरल हेपटाइटिसका बिरामी बढे, डाक्टरले दिए यस्तो सुझाव

गल्मी, फागुन ०७ । गुल्मीको सदरमुकाम तम्घासमा भाइरल हेपटाइटिसका बिरामी बढेका छन् । लामो समयपछि परेको वर्षाका कारण पानीका मुहानहरु प्रदुषित हुँदा भाइरल हेपटाइटिसका बिरामी बढेका जिल्ला अस्पताल तम्घासले जनाएको छ ।

अहिले जिल्ला अस्पताल तम्घासमा पनि प्रदुषि पानीको प्रयोगकै कारण बिरामी परेर जानेको संख्या बढेको डा. उत्तम पच्च्याले बताउनुभयो । शुरुमा पेट दुख्ने, वाकवाकी हुने, रिँगटा लाग्ने, मध्यम ज्वरो आउने, खानामा अरुची हुने जस्ता लक्षण देखा पर्ने गर्छ ।

यो रोग बिशेष गरी पानीको माध्यमबाट फैलन सक्ने भएकाले पानीको मुहान सफा राख्नुपर्ने, पानी फिल्टर गरेर वा उमालेर मात्र प्रयोग गर्नुपर्ने डाक्टर पच्याले सल्लाह दिनुभयो । यस्तै निजि क्लिनिकहरुमा पनि प्रदुषित पानी प्रयोग गरेका कारण भाइरल हेपटाइटिसका बिरामी चेकजाँचका लागि जाने गरेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नं ८ खानीगाउँ, वडा नं १४ पराल्मी,गु ल्मीदरबार गाउँपालिका वडा नं १ बलिथुमबाट चेकजाँचका बढी आउने गरेको स्वाथ्यकर्मीे होम पल्लीको भनाई छ । बिशेष गरी स्कुल उमेर समुहका बिद्यार्थीहरुमा बढी यो समस्या देखा परेको उहाँले बताउनुभयो ।

यस्तो समस्या देखा परे तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँले आग्रह पनि गर्नुभयो । लामो समयपछि केही दिन अघि परेको हिउँको कारण रुघाखोकी, श्वासप्रश्वास सम्बन्धी, निमोनिया, घाँटीमा इन्फेक्सन भएका बिरामीहरु पनि देखा परेको स्वाथ्यकर्मी पल्लीको भनाई छ ।

यो समयमा आफुलाई न्यानो राख्न, प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउन तथा वृद्ध–वृद्धा र बालबालिकाहरुको पनि ख्याल राख्न उहाँले सुझाव समेत दिनुभएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D