फिचरसमाचार

गुल्मीका शिवको घर बनाउने सपना: नेताले आश्वासन दिए, पुरा गरेनन्

श्रीमतीले टाउकोमा हानेर लागेको चोटको पनि आर्थिक अभावले उपचार भएन

हुमाकान्त पोखरेल
गुल्मी, २६ माघ । अहिले सत्तास्वार्थका लागि केन्द्रमा राजनीतिक विवाद उत्कर्षमा छ । विगतमा मत माग्दा जनतासामु गरेका प्रतिवद्धता बिर्सेर नेताहरु पदकै निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । केन्द्रपछि नागरिकको आश स्थानीय सरकार हो । जसबाट तत्काल आइपर्ने साना–साना समस्या समाधान गर्न सकिन्छ । तर अहिले विपन्न नागरिकको पक्षमा स्थानीय सरकार पनि निष्क्रिय हुँदा नागरिकमा दल र सरकारप्रतिको विश्वास हराउदैँ गएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका ४ दिगाम सिनचौरका ३७ बर्षिया शिव परियार विगत ६ बर्षदेखि बाँसले बारेको छाप्रोमा छन् । स्थानीय तह र प्रदेश तथा संघीय निर्वाचनमा दलका उम्मेद्धवार तथा पार्टीका नेता–कार्यक्रताले घर बनाइदिने आश्वासन दिएर भोट भागे । आश्वासनमा परेर शिवले भोट दिए । तर शिवको घर बनाइदिने आश्वासन अहिले भने बिर्सिएका छन् । ‘निर्वाचनताका घर बनाउन सहयोग गर्ने आश्वासन पाएको हुँ ।’ शिवले भने, ‘भोट दिनेले जितेर पनि गए, तर मेरो समस्याप्रति गम्भिर भएनन् ।’ स्थानीय तहको निर्वाचनपछि छत्रकोेट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र वडाध्यक्ष डिल्लिराम न्यौपाने उनको घरमै पुगि फोटा पनि खिचेर घर बनाइदिने आश्वासन दिएको पनि उनी बताउछन् । ‘गाउँपालिका र वडाध्यक्षले हुन्छ भन्दै आश्वासन दिनुभएको थियो ।’ उनले भने, ‘तर अहिलेसम्म घर बनाउने कुराको कुनै टुङ्गो छैन ।’ बाँसले बारेको छाप्रोमुनि गुजारा गर्नुपर्दा बर्षायामको समयमा पानी चुहिएर निदाउनै नसकिने तथा हिउँदको समयमा आगलागिको डर भएको उनले सुनाए । उक्त छाप्रोमा शिव सहित उनकी आमा, एक छोरा र एक छोरी गरी चार जनाको परिवार बस्दै आएका छन् ।

यसबीचमा संचालन भएको जनता आवास कार्यक्रममा पनि आफु छनोटमा नपरेको उनको गुनासो छ । नेपालको संविधानको भाग २, धारा ३७ को उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने कुरा उल्लेख गरिएपनि गुल्मी छत्रकोटका शिवले भने उक्त अधिकार प्रयोग गर्न पाएका छैनन् । सोही वडाका वडाध्यक्ष डिल्लिराज न्यौपानेले राजनीति गर्नेले मागेको कुरा दिन्नौं भन्न नसकेर आश्वासन दिएको प्रतिक्रिया दिए । शिवको घर र घरको आर्थिक अवस्था नाजुक रहेको आफुलाई जानकारी हुँदाहुँदै पनि कार्यविधिले गर्दा उनको घर बनाउन नसकिएको न्यौपानेको भनाई छ । ‘उनको खरे घर होइन्, बाँसले बारेको झुपडि हो ।’ वडाध्यक्ष न्यौपानेले भने, ‘त्यस्तो परिवारलाई सहयोग गर्ने नीति कार्यविधिमा छैन ।’ एकपटक उपचार गर्न जाँदाको पाँच हजार भने कार्यविधिअनुसार गाउँपालिकाबाट दिएको र केही अवस्थामा आफुले पनि व्यक्तिगत रुपमा सहयोग गरेको उनले बताए ।

आमा पनि मानसिक रोगी

उनका बुबाका दुईवटी श्रीमती हुन् । शिव कान्छी तिरका हुन् । ४० बर्षअघि आफन्तले भारतमा घरमा अर्की श्रीमती नभएको भन्दै शिवकी आमालाई कान्छी श्रीमतीको रुपमा बिहे गराइदिए । बिहे गरेर शिव जन्मेको दुई बर्षको हुँदा उनकी आमालाई सर्पले टोक्यो । पाँच बर्षको हुँदा आमाले मानसिक सन्तुलन गुमाईन् । तीन बर्षपछि आमालाई ठिक भयो तर शिव १२ बर्षको हुँदा बाबा–आमा छुट्टिए । आमाले शिवको मुख हेरेर बसिन् । तर बुबाले जेठी आमालाई लिएर बुटवल झरे । छुट्टिदाँ उनीहरुलाई पुरानो घर प¥यो । आठ बर्षपछि उक्त घर पनि भत्कियो । उनीहरु छिमेकी ध्रुव ज्ञवालीको गोठमा दुई बर्ष बसे । दुई बर्षपछि विविध कारणले गोठ पनि छोड्नुप¥यो । त्यसपछि अकंलको छोराले टिन दिएर बाँसको छाप्रोले बारेर अहिलेसम्म पनि छाप्रोमै गुजारा चलाएका छन् ।

राज्यले मात्र होइन्, दैवले पनि ठग्यो

शिवलाई राज्यले मात्र होइन्, दैवले पनि ठगेको छ । उनले तम्घासमा तीन बर्षसम्म सिलाई सिकेका थिए । त्यसपछि उनी श्रीमती लिएर बुटबल झरे । बुटबलमा एक छोरा र एक छोरी जन्मिए । थप कमाई हुने आशले कालिगढ कामकै लागि उनी आफन्तको साथमा ०७६ फागुनमा काठमाडौ गए । काठमाडौमा काम गर्ने कालिगढकी साहुनीले सच्चाईमा लगेर गइन् । सच्चाई भन्ने सबै कार्यक्रमको हो भनेर उनी कार्यक्रममा पनि गए । तर उक्त कार्यक्रम क्रिश्चियन धर्मको रहेछ । उनले पछि थाहा पाए र उनले मानसिक सन्तुलन गुमाए । त्यत्तिबेला लकडाउन भएकोले पनि उनलाई उपचारमा गार्हो भयो । आफन्तहरुले बल्लतल्ल अस्पताल पु¥याए । २० दिनको अस्पताल बसाईपछि उनी निको भएको आशमा औषधी नलिइकनै बुटवल फर्के । उनी बुटबल आएलगत्तै श्रीमतीसँग झगडा सुरु भयो । त्यत्तिबेला श्रीमतीले टाउकोमा हानेको चोट अझै छ । उनले हानेको कारण टाउकाको अप्रेशन गर्नुपर्ने छ । अप्रेशन गर्दा दुई लाख खर्च लाग्ने भएपनि रकम अभावमा उपचार गर्न नसकेको शिव बताउँछन् ।

दुई महिना पछाडि बिरामी, सात लाख खर्च

शिव उपचार गराएपछि बुटबल फर्किए लगत्तै श्रीमतीले छोरी माइत पठाएर आफु हिँडिन् । शिवले छोरालाई लिएर घर फर्किए । घर फर्किएको दुईमहिनापछि पुन: मानसिक समस्या भयो । बिरामी भइसकेपछि आफन्तले पाल्पा लगे । पाल्पा पनि नभएपनि थप उपचारको लागि काठमाडौं लगे । काठमाडौंमा करिब सात लाख खर्च भयो । ‘ऋणधन गरेर आफन्तले औषधी गराए, ऋण तिर्न अझै बाँकी छ ।’ उनले भने, ‘भाग्यले नै ठगेपछि कसको के लाग्छ र ?’

अहिले घरमा उनकी ६० बर्षिय आमा सहित तीन बर्षिय छोरा आयुस र ६ बर्षिकी छोरी आयुसा छन् । शिव आफैलाई पनि मासिक चार हजारको औषधी खानुपर्छ । ‘कहिलेकाँही त औषधी खाने रकम समेत हुँदैन, बिहान बेलुका छाक टार्न पनि समस्या हुन्छ ।’ शिवले भक्कानिदैँ भने, ‘एकमाथि अर्को समस्या थपिँदा छोराछोरीलाई राम्रो शिक्षा पनि दिन पाएको छैन ।’ आफुलाई राम्रो घर बनाउने र छोराछोरीलाई राम्ररी पढाउने इच्छ्या रहेको उनले बताए । त्यसको लागि उनले सबैसँग सहयोगको आशा पनि गरेका छन् । कोही कसैले शिवको परिवारलाई सहयोग गर्न चाहे शाइन रेसुङ्गा विकास बैंकमा रहेको खाता नम्बर ००१००७०००९७३२३०००००१ अथवा ९८५७०४९३३३ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D