कृषी

गाउँमै तरकारी खेती गरेर स्वरोजगार, बार्षिक साढे तीन लाख रुपैँया भन्दा बढी बचत

हुमाकान्त पोखरेल
गुल्मी , १९ मंसिर । देशमा रोजगारीको सम्भावना नदेखेर अधिकाशं युवाहरुले रोजिरोटिको लागि विदेश रोज्ने गर्छन् । तर समाजका केहि त्यस्ता युवा छन्, जसले थुप्रै अवरोहलाई पार गर्दै आफ्नै गाउँमा स्वरोजगार भएका छन् । त्यसैमध्येका एक हुन्, गुल्मीको रुरु गाँउपालिका ६ रिमुवाका चेतबहादुर बस्नेत ।

४८ बर्षिया बस्नेतले तरकारी खेतीमार्फत जिविकोपार्जन गरिरहेका छन् । विगत दुई बर्षबाट व्यवसायिक तरकारी खेती सुरु गरेका उनले मौसम हेरेर तरकारी र तरकारीजन्य सामग्री उत्पादन गर्छन् । जसको फलस्वरुप उनलाई एकातर्फ रोजगारीको लागि म्यानपावरको ढोका धाउनुपरेको छैन । भने अर्कोतर्फ आफ्नै परिवारसँग बस्ने अवसर प्राप्त भएको छ । अहिले उनको बारिमा ग्रिनटप जातको बन्दा, सोनो मोस्टिक जातको काउली, ब्रोकाउली, मुला लगायतका तरकारी छन् ।

हालसम्म चार रोपनी जग्गामा खेती गर्दै आएका बस्नेतले उत्पादनमा बजारीकरणमा सफलता पाएका कारण थप छ रोपनी जग्गामा पनि व्यवसायिक तरकारी खेती गर्ने योजना रहेको बताए । ‘तरकारी खेतीमा राम्रो सफलता मिलेको छ, अब यसलाई विस्तार गर्दैछु ।’ उनले भने, ‘स्थानीय बजारका साथै खैरेनी, बलेटक्सार तथा पैँचो पसलसम्म विक्रि हुन्छ ।’ अहिले बारिमा लगाएका गोपिपछि भक्तपुरे लोकल काँक्रा, बोडि, सिमि लगायतका तरकारी लगाउने सोच रहेको उनले सुनाए ।

बस्नेतले तरकारी मात्र होइन्, माछा पालन पनि सुरु गरेका छन् । अहिले एउटा पोखरि बनाई त्यसबाट सिँचाई र माछा पालन गर्दै आएका छन् । गत बर्षको फागुनमा एक हजार भुरा राखेको पोखरिबाट अहिलेसम्म एक लाख २० हजारको माछा विक्रि गरेको बस्नेत सुनाउछन् । भने पोखरिमा अझै दुई सयजति माछा रहेका छन् ।

बार्षिक साढे तीन लाख बचत

अहिले उनका दुई छोराछोरी अध्ययनको लागि बुटबलमा छन् । घरमा श्रीमान–श्रीमती । खेतीबाट गरेको आम्दानीले छोराछोरीको पढाई खर्च र घरखर्च चलेको छ । त्यत्तिमात्र होइन्, सबै खर्च कटाउदाँ पनि मासिक औषत ३० हजारका दरले बार्षिक साढे तीनलाखभन्दा बढी बचत हुने उनले बताए । अब तीन लाखजतिको लगानीमा व्यवसायलाई थप फस्टाउने योजना रहेको उनले बताए । तर रोजगारिकै लागि विदेश जाने सोच बनाएकाहरुलाई भने आफ्नै गाँउमा कृषि पेशा गर्न उनले सुझाव दिए ।

अहिले कृषि कार्यमा स्थानीय तथा प्रदेश सरकारले समेत अनुदानको व्यवस्था गरेको छ । तर उनले भने अहिलेसम्म कत्ति पनि अनुदान लिएका छैनन् । ‘अनुदान मिल्छ भन्ने सुनेको छु, अझैसम्म पाएको छैन ।’ बस्नेतले भने । उनले व्यवसायिक खेतिको लागि सिँचाईको अभाव रहेको, ढडेलो लाग्ने गरेको जस्ता समस्या रहेको सुनाए । तर यसमा स्थानीय सरकारले कुनै सहयोग नगरेको बस्नेतले गुनासो गरे । रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले गाँउपालिकाले कृषिको गुरुयोजना बनाउन लागेको बताए । कृषि र पर्यटनमार्फत नै गाँउपालिकालाई आत्मनिर्भर बनाउन सकिने भएकोले उनले कृषिलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D