फिचर

गरीबको दशैँ: “दशैँ कहिल्यै नआईदिए हुन्थ्यो”

हुमाकान्त पोखरेल
गुल्मी, ३० असौज । रेसुङ्गा नगरपालिका ६ गुरुङ्गगाउँकी पवित्रा मरासिनीका श्रीमान भारतमा विजुलीको काम गर्छन् । केहि दिनको लागि भदौमा उहाँका श्रीमान घर आएका थिए । पछि बिरामी परे । उनलाई ज्वरो आएपछि औषधी खाइरहेका थिए । दसैँ आउन केहि दिन मात्र बाँकि छ । भारतबाट साहुको फोन आयो, ‘बिदा सकियो काममा आउनु ।’ न त उनको जागिर सरकारी हो, न त ठूलै कम्पनीको हामिक नै ।

सामान्य तलबमा काम गर्ने उनका श्रीमान नगए पनि हुन्थ्यो तर घरमा रहेको चरम गरिबीले उनलाई घरमा बस्नै दिएन । अन्तत नजिकै आइपुगेको दसैँमा पनि आँखाबाट आशुँ झार्दै उनले परदेशको बाटो तताए । ‘बिरामी हुनुहुन्थ्यो, साहुको फोन आयो, यतै आएर आराम गर्ने भन्यो ।’ पवित्राले भनिन्, ‘साहुको कुरा काट्न सकिएर, बिरामी मान्छेले पिडा मनभित्रै राखेर हिड्नुभएको छ ।’ पवित्राका पाचँ भैनि छोरी र एउटा छोरा गरी छ जना छोराछोरी छन् । चार छोरीको बिहे भइसक्यो भने बाँकि दुई छोराछोरीले पढ्दै छन् ।

२०७२ सालको भूकम्पले घर आधा भत्काइदियो । अहिले पुरै घर पनि बनाउन नसेकेर जेनतेन निर्वाह गरिरहेका छन् । तर आइपुगेको दसैँले भने उनको भन खुसि छैन । ‘छोरा पर्खदा पाचँवटी छोरी पुगे, लालनपानमा निकै समस्या छ, दुख देखाएर पनि केहि नहुने’ उनले भनिन्, ‘दसैँ कसरी मनाउने भन्ने चिन्ता छ ।’

भर्खर भारत हिड्नुभएका श्रीमानले पनि खर्च पठाउने सम्भावना नदेखेर समुहबाट पाचँ हजार ऋण लिएर दसैँ मनाउन भनेको उनले बताइन् । ‘सबैतिर महङ्गि छ, आएकालाई टिकाटाला गर्नेप¥र्यो, थोरैथोरै दक्षिण पनि दिनुप¥र्यो ।’ पवित्राले गहभरि आशुँ झार्दै भनिन्, ‘पाचँ हजारले दसैँ कसरी मनाउनु ?’ उनले आफूलाई दसैँमा टिका हुनुभन्दा नभएकै ठिक लाग्ने समेत प्रतिक्रिया दिइन् ।

सोहि ठाउँका माधव मरासिनी उमेरले ३३ बर्ष पुगे । दुवै खुट्टा, एउटा हात, एउटा आँखा र एउटा कानले काम गर्दैनन् । ३० बर्षको हुँदा विवाह भयो । ३१ पुग्दा छोरो जन्माए । श्रीमती पनि अपाङ्ग छिन् । घरमा अहिले अहिले बृद्ध बुबा–आमा, श्रीमती, छोरा र एक बहिनी छन् । हुँदा खाने र नहुँदा भोकै बस्नुपर्ने माधवको परिवारलाई पनि दसैँ आएर मन खुसि छैन ।

‘सबैकुरा पैसाले गर्दो रहेछ, पैसा भए पो दसैँ, नभए के को दसैँ ?’ उनले भने, ‘घरमा खान अन्न छैन, साहुले पनि पत्याउदैनन, दसैँ त परैको कुरा हो ।’ उनले विगतका बर्षहरुमा २०० रुपैँया ऋण खोजेर आधा किलो मासु किनेर दसैँ मनाउने गरेको समेत स्मरण गरे । ‘घरका सबैलाई हेर्नुप¥र्यो, चाडपर्वले छुदैँन, मलाई दैवले अपाङ्ग बनाइदियो ।’ माधवले भने, ‘दसैँ त हाम्रो लागि दशा हो, बरु नआए हुन्थ्यो ।’ दसैँपछाडि तिहारमा आउने देउसीँभैलो समुहलाई थोरै पैसा दिएमा ‘दैलोमा कुचो, यो घर कति छुचो’ भन्दै जाने कुराले आफ्नो मन दुख्ने उनले बताए ।

धुर्कोट गाउँपालिका ७ वाग्लाकी सरस्वती घतीको पनि दसैँ आयो भनेर मन खुसि छैन । यो बर्ष टिका नभएपनि छोराछोरीलाई नयाँ लुगा किनिदिनुपर्ने, मेला हेदाँ खर्च हुने पैसाको जोहो गर्ने, मासु जस्ता परिकार किन्ने कुराले प्रत्येक दसैँमा उनको मन पिरोलिन्छ । ‘दसैँ आएपनि खर्च मात्रै हुन्छ, पिडा लुकाएर बाहिर हाँसो देखाउनुपर्ने बाध्यता छ ।’ उनले भनिन्, ‘आम्दानीको स्रोत केहि छैन, दसैँ त हामीजस्ता गरिबका लागि दशासरह हो ।’

देशमा बढ्दै गइरहेको महङ्गि, बेरोजगारी जस्ता समस्याले आफूलाई कुनै चाडपर्वहरु नआए हुन्थ्यो जस्तो लाग्ने गरेको उनको भनाई छ । उद्योग तथा कल कारखानाहरु खोलि स्वदेशमै रोजगारको सिर्जना गर्न सके आफूहरुजस्ता धेरै गरिबहरुलाई राहात पुग्ने उनको भनाई छ । ‘उद्योगहरु खोल्ने, सिपमुलक तालिम सिकाउने जस्ता कार्य गरी रोजगारी उपलब्ध गराएमा मात्र देशमा सरकार छ भन्ने कुरा प्रमाणित हुन्छ ।’ सरस्वतीले भनिन्, ‘हुनेखाने रमाउलान, आफूलाई सधै पिरले छोड्दैन ।’

रोजगारी सिर्जना गर्नुपर्ने
मरासिनी र घर्ती परिवार त केहिप्रतिनिधीमुलक पात्र मात्रै हुन् । अहिले अधिकाशं हुँदाखाने नेपालीहरुलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता छ । मनभित्र पिडा लुकाएरै भएपनि बाहिर हाँसो देखाउनुपर्ने बाध्यता उनीहरुमा छ ।

महिलाले ऋण काढेर दसैँ कटाउनुपर्ने बाध्यता छ । बढ्दै गएको महङ्गि, भष्ट्राचा, कालोबजारी, बेरोजगारी जस्ता समस्याले अहिले धेरै गरिबहरुको दसैँ दशामा परिणत हुँदैछ । ‘हुनेखाने रमाएपनि हुँदाखानेको लागि दसैँ दशा नै हुन्छ, बाध्यताले चाडवार्ड मनाएका हुन्छन् ।’

पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले भने, ‘राज्यले समयमै रोजगारी सिर्जना गर्न सके यो समस्याको अन्त्य हुनेछ ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D