अर्थकृषी

किसानले बल्ल मुल्य पाउन थाले, गाउँबाटै खसीबोका तौलेर बिक्री वितरण शुरु

टोपलाल अर्याल
गुल्मी, २ मंसिर । धुर्कोट गाउँपालिका ४ जैसीथोककी बसन्ता भण्डारी केहि दिन अघिसम्म हचुवामै खसी बोका बेच्थिन् । उनले अहिलेसम्म थुप्रै खसी बोका बेचिन । त्यसरी बेच्दा कहिले उनले कहिले क्रेताले घाटा खान्थे । धेरै जसो खसीबोका बेच्दा आफुलाई मारमा परेको उनी बताउँछिन् । ‘हचुवामा बेच्दा किसान मर्ने रहेछ,’ उनले आफ्नो विगत सम्झँदै भनिन, ‘अब त मरे पनि हचुवामा बेच्दिनँ ।’ अहिले भण्डारी खसी बोका बेच्ने भएपछि सहकारी लगेर छोड्छिन् ।

हिमचुली कृषी तथा पशु विकास सहकारी संस्था जैसीथोकले खसीबोका जोखेर बेच्छ र उनलाई पैसा पठाउँछ । अहिले व्यापारी किसानकोमा आउँदैनन्, सहकारीमै पुग्छन् । यो सहकारीमामा जैसीथोकका पाँच सय २० जना महिला आवद्ध छन् । बिहिबार बसन्ताले सहकारी मार्फत साढे ४३ किलोको बोका स्थानीय व्यापारीलाई जोखेर बेचिन् । ‘श्रमको मुल्य पाएपछि ढुक्कै, बसन्ताले हर्षित हुँदै भनिन, ‘अब अरु किसानहरुलाई पनि हचुवामा खसी नबेच्न सुझाव दिन्छु ।’
gulmi agriculture news
सोहि स्थानकै पुतला घर्ति मगरले बिहिबार सहकारीमा सवै भन्दा ठुलो ६३ किलोको बोका जोखेरै बेचिन । झण्डै २३ हजार पाएकी उनी खुसी हुँदै घर फर्किन् । उनकोमा अझै पाँच वटा माउ सहित १० वटा बाख्रा रहेका छन् । त्यस्तै पार्वता घर्तिको घरमा अझै चार वटा माउ बाख्रा छन् । उनले पनि सहकारी मार्फत दुई वटा २५÷२५ किलोका बोका जोखेर बेचिन् । ५० किलोको मुल्य १८ हजार प¥यो । ‘अब किसानलाई गर्न सके पैसा कमाउन दुख छैन,’ पैसा बुझ्दै उनले भनिन,’बजार र मालको मुल्य दिने काम सहकारीले गर्छ ।’ उनले पनि थुप्रै पटक हचुवाकै भरमा बाख्रा पाठाहरु बेच्ने गरेको भएपनि अव त्यसो नगर्ने बताइन् । अमृता पोख्रेलको घरमा दुई बर्ष अघि एउटा पनि बाख्रा थिएनन् । अहिले माउ र पाठापाठी गरेर १० वटा बाख्रा छन् । गएको दशैमा एउटा खसी काटिन । एउटा बेच्ने भइसको छ । समुह मार्फत उपहार ल्याएका पाँच वटा माउ पनि फिर्ता गरिन् । ‘अव सवै मेरा सम्पति बनाइसके,’उनले भनिन,‘मेहेनत गरे यिनै बाख्राले खान पुग्छ ।’

गाउँघरमा पालिने कुनै पनि वस्तुमा परिश्राम र लगानी बढी हुन्छ । अतिरिक्त मूल्य तथा श्रमको मुल्य समेत बाहिर जान पाउँदैन । आफैँ मालिक आफैँ श्रमिक भएपछि किसानलाई जोखेर बेच्दा केही न केही फाइदा हुने हिमचुली कृषी तथा पशु विकास सहकारी संस्थाका अध्यक्ष बिमला खनालले बताइन् । हचुवामा भन्दा जोखेर बेच्दा कम्तीमा दुई हजारदेखि तीन हजारसम्म फाइदा हुने बिमलाको अनुभव छ । अहिले प्रति किलो तीन सय ६५ रुपैयाँ सहकारीको दरभाउ रहेको छ । त्यसमा पाँच रुपैयाँ सहकारीले राख्ने छ ।

पहाडी क्षेत्रका खसी चिलला, रसिला र कसिला हुन्छन । अन्न कम खाने र घाँसमा आधारित पशुपालन हुने हुँदा बोसो पनि कम हुन्छ । पुष्ट हुने र चिसो ठाउँमा रहेकाले रोग पनि कम लाग्छ । त्यसैले पनि पहाडका खसी बोका व्यापारीले मन पराउँछ । लैजाँदा पनि नघट्ने र मासु पनि मिठो हुने भएकाले सहरका खसीभन्दा गाउँका खसी मनपराउने गरेको मासु व्यावसायी तेजेन्द्र गुरुङ्गले बताए । किसानका लागि उन्नत बिउबिजन कार्यक्रम (बाख्रा विकास परियोजना)को आर्थिक सहयोगमा एकिकृत ग्रामिण विकास समाज गुल्मीले जैसीथोका २५ वटा महिला समुहलाई बाख्रा वितरण गरेको छ । साथै उन्नत जातको किम्मु, मल्लातो, इपिलीपी, अम्रिसो, मेन्दुला, इन्दु, भटमासे र राइखन्यु लगायता घाँसका विरुवा पनि वितरण गरेको छ । साथै कृषक महिलाहरुको क्षमता विकास र उत्पादनको बजारीकरणमा समेत परियोजनाले सहयोग गरेको जैसीथोकका फिल्ड संयोजक बिष्णु भण्डारीले बताए ।

किसानले श्रमको उचित मुल्य पाओस भनेर सहकारीमार्फत बजारीकरणमा लागेको हेफर इन्टरनेसनलका जिल्ला संयोजक सरोज श्रेष्टले बताए । उनले यसबाट क्रेताले घाटा खाना नपर्ने साथै किसानको पनि आफ्नो मेहनतको सहि मुल्य पर्ने बताए । ‘यो सवैका लागी सुखद र पहिलो अभियान हो,’उनले भने,‘ हेफरको कार्यक्रम सकिएपछि पनि किसान र क्रेताको पक्षमै भएकाले निरन्तरता पाउनेमा आशावादी छौ ।’ जिल्लाका साविकका छ वटा गाविसमा यो परियोजना लागु भएको छ । जिल्लाका जैसीथोक, धुर्कोट रजस्थल, बस्तु, अर्जे, अम्मरपुर र इस्मा रजस्थलमा परियोजनाले काम गरिरहेको छ । जैसीथोकमा सहकारी गठन भैसकेकाले खसीबोका जोखेर बेच्न थालिएको साथै अरु स्थानहरुमा सहकारी गठन प्रक्रिया चलिरहेकाले केहि समयमै काम हुने परियोजना संयोजक श्रेष्टले बताए ।
फोटो ः गुलमीको धुर्कोट गाउँपालिका ४ जैसीथोकको हिमचुली कृषी तथा पशु विकास सहकारी संस्था मार्फत किसानले ज्यूँदो खसीबोका जोखेर बेच्दै ।

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।