मनोरन्जन

किन सुनिन छाडे सारङ्गीका धुनहरु?

म्याग्दी, १२ भदौ । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फोकल्याणका टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन्।

देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरु लोप हुँदैछन्। सारङ्गीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउथे । गीत संगीतका माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचीत बनाउने गन्धर्वका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छाडेका छन्।
gaine
सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ। सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो। त्यसैले त गाउँघरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन्।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन् केही गन्धर्वले। गुल्मी जिल्ला गडगाउँ गाविस–५ घर भई (हाल बागलुङ नगरपालिका–२ बस्ने) टोपबहादुर गन्र्धवले परम्परागत जातीय पेशाबाट आफ्नो चार जना परिवारको गर्जाे टार्ने गरेका छन्।

काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारङ्गी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु २००-३०० रुपियाँ आम्दानी हुने बताउछन्। सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारङ्गीको महत्व ह्वात्तै घटेको छ। टोपबहादुरले भने, “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा पर्यो। सञ्चार माध्यमले सारङ्गीको महत्वलाई उचित स्थान नदिए सारङ्गी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भने, “यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्छ।”

नेपाली संस्कृतिको महत्व र विरताको गाथा बोकेको सारङ्गीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ। सांगीतिक कक्षाको पाठ्यक्रममा सारङ्गी बाजालाई समावेश गरे सारङ्गीले जीवन्तता पाउने बुद्धिजीविको भनाइ छ। युवा वर्गमा जातीय पेशाप्रति हिनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ। रासस

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker