सडक खबर

कालीगण्डकी करिडोरलाई थप २० करोड बजेट विनियोजन, गुल्मी खण्डलाई १० करोड रुपैँया

रासस
गलकोट, माघ १८ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गर्नका लागि रु २० करोड बजेट विनियोजन गरिएको छ । त्रिदेशीय सिधा सम्पर्कका लागि निर्माण थालिएको कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

नेपालका दुई छिमेकी मुलुक उत्तरमा चीन र दक्षिण भारतलाई जोड्ने सबैभन्दा छोटो नाकाका रुपमा विकास गर्ने उद्देश्य राखिएको कालीगण्डकी करिडोरमा बजेट अभावका कारण पछिल्लो समय काम हुन सकेको थिएन । बजेट नभएका कारण बागलुङ खण्डमा करिडोरको काम अगाडि बढ्न नसकेको भन्दै निरन्तर पहलभएपछि सरकारले रु २० करोड बजेट विनियोजन गरिएको सांसद डा सूर्य पाठकले बताए । २० करोडमध्ये १० करोड रुपियाँको काम बागलुङ खण्डमा र १० करोड रुपियाँको काम गुल्मी खण्डमा हुनेछ ।

राष्ट्रिय गौरवका आयोजनालाई छिटो पूरा गर्ने सरकारको प्राथमिकता भएका कारण बजेट पार्न सफल भएको सांसद पाठकले बताए । आगामी चैतदेखि वैशाखसम्म काम सक्नेगरी नेपाली सेनाको निर्माण कार्यदललाई आग्रह गरिएको छ । अहिले तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ । यो वर्ष सरकारले बजेट नदिएपछि बर्खाको पहिरोसमेत सेनाले आन्तरिक स्रोतबाट खर्च गरेर यातायात सञ्चालन गर्नसक्ने बनाएको थियो ।

लामो समयसम्म अगाडि बढ्न नसकेको कालीगण्डकी करिडोरको काम नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो । बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रु ३३ करोड बढी खर्च भएको छ ।

अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ । बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङ खण्ड कालोपत्रका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका बन्नेछ । चीनको कोरलादेखि भारतको सुनौलीसम्मको ४३५ किमीको यो छोटो दूरीको सडक आयोजना हो ।

यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतसम्म जोड्नेछ । यो सडक आयोजनाले त्रिदेशीय व्यापार तथा पारवहनमा महत्व राख्ने हुँदा यसलाई थप व्यवस्थित बनाइ ट्रान्जिट रुटका रुपमा विकास गर्नुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गामा शनिबार १० मिटर चौडा पार्ने कार्यको शुभारम्भ अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने कार्यक्रम छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D