टोपलाल अर्याल
गुल्मी, ७ बैशाख। रेसुंगा नगरपालिकाले भर्खरै दोस्रो नगर सभा सम्पन्न गरेको छ । तीन दिनसम्म संचालन भएको नगरसभाले महत्वपूर्ण कानुन पास गरेको छ । भने अहिलेसम्म सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुको समिक्षा गरेको छ । सोच अनुरुपको सफलता हासिल गर्न नसकेपछि नगरपालिकाले अहिलेसम्म सन्तोषजनक प्रगती गरेको छ ।
रेसुङ्गा नगरपालिकाका ११ कानुन पारित
गुल्मीको रेसुङ्गा नगरपालिकाले अहिलेसम्म ११ वटा कानुन पारित गरेको छ । नगरपालिकाले यस अघि रेसुङ्गा नगरपालिकाको नगरसभा संचालन नियमावली–२०७४, रेसुङ्गा नगरपालिकाको कार्यसम्पादन संचालन नियमावली–०७४, रेसुङ्गा नगरपालिकाको बैठक संचालन कार्यविधी–०७४, रेसुङ्गा नगरपालिकाको कार्यविभाजन संचालन नियमावली–०७४ गरि चार वटा कानुन पास गरेको थियो । भने भर्खरै सम्पन्न दोस्रो नगरसभाले रेसुङ्गा नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन–२०७५, रेसुङ्गा नगरपालिकाको (कर तथा गैर कर) ऐन–२०७५, रेसुङ्गा नगरपालिकाको सहकारी ऐन–२०७५, रेसुङ्गा नगरपालिकाको आर्थिक कार्यविधि ऐन– २०७५, रेसुङ्गा नगरपालिकाको कृषि ऐन–२०७५, रेसुङ्गा नगरपालिकाको न्यायिक कार्यविधि ऐन–२०७५ र रेसुङ्गा नगरपालिकाको सार्वजनिक खरिद नियमावली–२०७५ पास गरेको छ । त्यस्तै सभाले तीन सदस्यीय न्यायिक समिति गठन गठन गरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मुक्तीराम अर्यालले बताए ।
नगरपालिकाको बित्तिय प्रगती सन्तोषजनक
रेसुङ्गा नगरपालिकाको वित्तिय प्रगति सन्तोषजनक देखिएको छ । नगरपालिकाको सशर्त अनुदान तर्फ १२ करोड ५७ लाख ३४ हजार विनियोजन भएकोमा नौ करोड ६३ लाख २९ हजार रकम खर्च भएको छ । जसको वित्तिय प्रगति प्रतिशत ७६.६१ प्रतिशत रहेको छ । त्यस्तै समानीकरण अनुदान तर्फ १८ करोड तीन लाख २२ हजार विनियोजन भएकोमा चार करोड ९८ लाख २६ हजार रकम खर्च भएको छ । जसको वित्तिय प्रगति २७.६३ प्रतिशत रहेको प्रमुख प्रसासकीय अधिकृत अर्यालले बताए । बैशाख पहिलो सातासम्म खर्च प्रतिशतमा अझै धेरै प्रगती हुनुपर्ने भएपनि काम सम्पन्न भएपछि मात्र भुक्तानी दिने परिपाटीले गर्दा सोचे केहि भुक्तानी दिन बाँकी रहेको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । अहिलेसम्म समग्रमा सम्झौता गरिएका योजना र कार्यक्रमको संख्या र रकम हेर्दा करिव ७० प्रतिशत खर्च भएको उनले बताए । साथै भौतिक प्रगति करिव ५० प्रतिशत रहेको छ ।
नगरपालिकाको आर्थिक तथा सामाजिक विकास
रेसुङ्गा नगरपालिकामा कृषिमा आधुनिकीकरण, व्यावसायीकरण तथा कृषि र पशुपन्छी विकास मार्फत आयआर्जनको विभिन्न कार्यक्रहरु संचालन भएका छन । उद्योग तर्फ विभिन्न सिपमूलक कार्यक्रमहरु संचालन भएका छन् । आर्थिक विकास तर्फ कुल दुई करोड ३६ लाख ८८ हजार विनियोजन भएकोमा अहिलेसम्म ७८ लाख ५८ हजारको कार्यक्रम सम्झौता भई १७ लाख ६० हजार रकम खर्च भएको नगरपालिकाको आर्थिक विकास समिति संयोजक खुम बहादुर खत्रीले बताए ।
त्यस्तै नगर क्षेत्र भित्रको शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्राविधिक शिक्षाको विकास र विस्तार, विद्यालय क्षेत्र सुधार, शिक्षामा गुणस्तरको प्रवद्र्धन जस्ता कार्यक्रमहरु संचालन भएका छन् । सवै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउन प्राथमिक स्वास्थ्य सेवा, नगर स्वास्थ्य क्लिनिक स्थापना र व्यवस्थापन तथा आकस्मिक सेवाका कार्यक्रम संचालन, आयुर्वेदिक स्वास्थ्य प्रवद्र्धन, स्वास्थ्यचौकीहरुको व्यवस्थापन सुधार, तम्घास अस्पताल व्यवस्थापन जस्ता समग्र स्वास्थ्य क्षेत्रको विकासका कार्यक्रमहरु संचालन भएको सामाजिक विकास समिति संयोजक पदम अर्यालले बताए । यसरी सामाजिक विकास कार्यक्रम तर्फ सात करोड सात लाख ६० हजार विनियोजन भएकोमा अहिलेसम्म तीन करोड ८५ लाख १५ हजार रकमको कार्यक्रम सम्झौता भएर ५१ लाख ७६ हजार रकम खर्च समेत भएको अर्यालले बताए ।
भौतिक पूर्वाधार तथा वातावरण र विपद् व्यवस्थापन
नगरपालिका भित्र रहेका मोटरबाटो तथा पुलहरुको निर्माण, स्तरोन्नत्ति एवं मर्मतका कार्यक्रम संचालन गरिएका छन् । कृषि उत्पादनमा बृद्धि गर्नको लागि सिंचाई कुलो निर्माण तथा मर्मत, विभिन्न सरकारी तथा सामुदायिक भवन निर्माण, विधुतीकरणका कार्यक्रमहरु संचालित छन् । सडकवोर्ड तर्फ ३५ लाख रकम विनियोजन गराई तम्घास वजार क्षेत्रमा पिचसडकमा खाल्टा परेको ठाउमा प्याचिङ्गको कार्य अगाडी सारिएको पुर्वाधार विकास समिति संयोजक अखिलेश्वर प्रसाद पाण्डेय बताए ।
्त्यस्तै भौतिक पूर्वाधार कार्यक्रमका लागि पाँच करोड ५० लाख ९७ हजार विनियोजन भएकोमा चार करोड ५३ लाख तीन हजार रकमको कार्यक्रम सम्झौता भई एक करोड १० लाख २८ हजार रकम खर्च भएको पाण्डेयले बताए । त्यस्तै वन तथा भू संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण र विपद् व्यवस्थापन तथा फोहोमैला तथा ढल व्यवस्थापनका कार्यक्रम संचालन भएका छन् । जसका लागि नगरपालिकाले एक करोड ११ लाख २२ हजार विनियोजन गरेको थियो । त्यो रकममध्ये ६५ लाख ५९ हजार रकमको सम्झौता भएको र ३० लाख ५७ हजार रकम खर्च भएको बिपद व्यावस्थापन तथा वातावरण समिति संयोजक गन बहादुर गुरुङ्गले बताए ।
संस्थागत विकास,सेवा प्रवाह र सुशासन
रेसुङ्गा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने कामको शुरु गरेको छ । जसका लागि सेवालाई सरल, सहज, मितव्ययी, निस्पक्ष, पारदर्शी एवं प्रतिस्पर्धी बनाउन १४ वटै वडामा वडा कार्यालय स्थापना गरि प्रविधि मैत्री वनाइएको छ । साथै नगरपालिकाले संस्थागत विकास, क्षमता विकासका विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जनशत्ति तथा क्षमता विकास समिति थम्मपन बहादुर खत्रीले बताए । त्यस्तै कर्मचारीहरुलाई विभिन्न तालिम संचालन गरिएको छ । जसका लागि नगरपालिकाले ४३ लाख विनियोजन गरेको थियो । अहिलेसम्म १० लाख ४२ हजारको कार्यक्रम सम्झौता भएर छ लाख ७९ हजार खर्च भएको खत्रीले बताए । त्यस्तै नगरपालिकाले सवै वडा कार्यालयमा नागरिक वडापत्रको व्यावस्था गरेको छ । साथै नगरपालिकाको कार्यालयमा बिद्युतीय हाजिरी प्रणालीको विकास गरिएको संयोजक खत्रीले जानकारी दिए
नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रम
रेसुङ्गा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम तर्फ पाँच करोड तीन लाख निकासा गरेको थियो । अहिलेसम्म तीन करोड ५१ लाख चार हजार खर्च भएको छ । जस मध्ये जेष्ठ नागरिक एक हजार छ सय ७४ जना, विधुवा तथा एकल महिला एक हजार ३५ जना, अपाङ्गता भएका व्यक्ति एक सय ५४ जना, वालवालिका चार सय चार जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । उनीहरुलाई सहज रुपमा रकम उपलब्ध गराउन गाउँगाउँमै पुगेर भक्ता बितरण गरिएको नगरपालिका शाखा अधिकृत बिनोद मरासीनीले बताए ।
राजस्व चुहावट नियन्त्रण गर्न सफ्टवेयर प्रणाली
रेसुङ्गा नगरपालिकालाई क्रमश ः आत्मनिर्भर वनाउन तथा नागरिकलाई विकास निर्माणको लागि आवश्यक पर्ने श्रोत जुटाउन करको दायरालाई फराकिलो बनाइएकोे छ । साथै कर प्रणालीलाई व्यवस्थित वनाउन वडा कार्यालयवाट नै कर उठाउने व्यवस्था मिलाइएको राजश्व परामर्श समिति संयोजक तथा उपप्रमख सीता भण्डारीले बताइन् । राजस्व चुहावट नियन्त्रणका लागि राजस्वलाई सफ्टवेयर प्रणालीमा आवद्ध गरिएको नगरपालिकाका उनले बताइन् । नगरपालिकाको राजस्वका विभिन्न शिर्षकहरुवाट ४६ लाख २५ हजार छ सय उठ्ने अनुमान गरिएको थियो । जसमा हालसम्म ३९ लाख ९२ हजार राजस्व संकलन भएको छ ।