कौरव खत्री
गुल्मी, भदौ ०४ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा एकल तीजगीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
कोभिड-१९ को प्रभावले गर्दा यस वर्ष पनि एकल तीजगीत प्रतियोगिता अनलाइन माफत गर्ने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए । साथै प्रतियोगितामा अष्ट्रेलियाभित्र रहेका नेपाली महिला कलाकारहरु तथा बिश्वका अन्य जुनसुकै देशका नेपाली कलाकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने समाजले जनाएको छ । तीजगीत प्रतियोगिता यही अगस्त २१ देखि शुरू भई सेम्टेवर ११ सम्म प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा सहभागी कलाकारहरूकाे फेसबुककाे लाइक र शेयरलाई आधार बनाएर ५०%, इन्स्टाग्राम र युटुवलाइ आधार बनाएर ५० % अंक निर्धारण गरि मुल्यांकन गरिने जनाईएकाे छ । प्रतियोगितामा सहभागिता जनाउनकाे लागि कलाकारहरूले समाजकाे इमेल आइडी gulmisamajvictoria@gmail.com मा आफ्नो प्रस्तुतीको भिडियो मेल गर्न सकिने समाजले जनाएको छ ।
त्यस्तै तीजगीत प्रतियोगितामा विशेष गरि तीजको पूरानो मौलिकपन र कला संस्कृतिको भएको गीत तथा नृत्यलाई प्राथमिकता दिइने छ ।
तीजगीत प्रतियोगितामा अष्ट्रेलियाबाट प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ७५० डलर, ५०० डलर र २५० डलर पाउने छन । भने विश्वका अन्य देशबाट सहभागी भएर प्रथम, द्वितीय, तृतीय हुनेले नेपाली रकम नगद रु.२१ हजार, १५ हजार, १० हजार र सम्मान पत्र पाउने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।
यस तिजगित प्रतियोगिता कार्यक्रमलाई मुख्य प्रायाेजनकाे रूपमा अष्ट्रेलियाको मेलबर्नमा स्थित रहेकाे ओल्ड दरवार नेपाली रेष्टुरेन्टले सहयोग गरेकाे छ । साथै अन्य धेरै सस्थाहरुले समेत प्रायाेजन गरि सहयोग गरेका छन् ।