गुल्मीका स्थानिय निकायले घरभाडामै खर्चिए डेढ बर्षमा डेढ करोड रुपैँया, तीन गाउँपालिकाको केन्द्र अझै टुङ्गिएन

हुमाकान्त पोखरेल
गुल्मी, ०७ असौज । गुल्मीका स्थानिय निकायहरुले घरभाडामै डेढ करोड रुपैँया खर्च गरेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहले हालसम्म कुल एक करोड ३७ लाख ५२ हजार १३५ घरभाडामै खर्च गरेका हुन् । २०७३ फागुन २७ गते स्थानीय तह स्थापना भए पस्चात २०७५ असार मसान्तसम्म जिल्लाका सबै स्थानीय तहले घरभाडाबापत सो रकम बुझाएका हुन् । चन्द्रकोट गाउँपालिकाले हालसम्म घरभाडास्वरुप २२ लाख ६६ हजार ६ सय खर्च गरेको छ । यो रकम जिल्लाका स्थानीय तहले बुझाउने मध्येको सबैभन्दा धेरै हो ।

गाउँपालिकाको वडा नम्बर ६ समेत भाडामै संचालित छ । गाउँपालिकाको कार्यालय संचालनको लागि १६ कोठासहितको स्थानीय क्याम्पस भाडामा लिइएको छ । प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी सहितका केहि कर्मचारी र गाउँपालिका उपाध्यक्ष राधिका अर्याल बस्ने कोठा पनि भाडामै लिइएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७३-७४ मा ६० हजार घरभाडामै बुझायो । त्यस्तै आर्थिक बर्ष ०७४-७५ मा ८ लाख ९२ हजार तथा आ.व. ०७५-७६ मा १३ लाख १४ हजार ६ सय खर्च भएको लेखापाल बाबुराम भुसालले जानकारी दिए ।

मदाने गाउँपालिकाले ०७५ असार मसान्तसम्म कुल ६ लाख ४५ हजार भाडा बुझाएको छ । गाउँपालिकाका दुई वडा समेत भाडामै संचालित छन् । जसमध्ये आ.व. ०७३÷७४ मा ३ महिनाको ७५ हजार गाउँपालिकाको घरभाडा बुझाएको छ । ०७४÷७५ मा मासिक २५ हजारका दरले तीन लाख तथा ०७५÷७६ मा मासिक १५ हजारका दरले एक लाख ८० हजार घरभाडामा खर्च भएको सुचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

कालिगण्डकी गाउँपालिकाका वडा नम्बर ३, ४ र ७ का कार्यालय भाडामै संचालन भएका छन् । भने गाउँपालिकाको कार्यालय पनि भाडामै संचालित छ । वडातर्फ आ.व. ०७३÷७४ मा १ लाख ५ हजार, ०७४÷७५ मा २ लाख ५२ हजार तथा ०७५÷७६ मा २ लाख ५२ हजार बुझाएको छ । भने गाउँपालिकाको भाडास्वरुप आ.व. ७३÷७४ मा ४८ हजार बुझाएको छ । त्यस्तै आ.व. ०७४÷७५ मा १ लाख ४४ हजार र आ.व. ७५÷७६ मा पनि १ लाख ४४ हजार बुझाएको छ । गाउँपालिकाले ०७५ असार मसान्तसम्म वडा तथा गाउँपालिका कार्यालयको गरी कुल ९ लाख ४५ हजार बुझाएको सुचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिए ।
सत्यवती गाउँपालिकाले आ.व. ०७३÷७४ मा ४ महिनाको घरभाडा ३ लाख १० हजार बुझाएको छ । आ.व. ०७४÷७५ मा ७ लाख ९५ हजार तथा ०७५÷७६ मा ९ लाख ४५ हजार बुझाएको सुचना अधिकारी नेत्र प्रसाद पाण्डेले जानकारी दिए । गाउँपालिका कार्यालय स्थापना भएदेखि ०७५ असार मसान्तसम्म कुल २० लाख ५० हजार घरभाडामै खर्च भएको पाण्डेले बताए ।

छत्रकोट गाउँपालिकाका पनि गाउँपालिका कार्यालय सहित विषयगत सबै शाखा भाडाकै घरमा संचालित छन् । सबै विषयगत शाखासहित आ.व. ०७४÷७५ देखि मासिक ४८ हजार १ सय का दरले गाउँपालिकाले भाडा बुझाउदैँ आएको छ । यसरी २४ महिनाको ११ लाख ५४ हजार ४ सय घरभाडामै खर्च भएको सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

जिल्लाको रुरु गाउँपालिकाको वडा नम्बर ४ को स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र लगायत अन्य विषयगत शाखाका कार्यालय पनि पनि भाडामै संचालित छ । गाउँपालिका कार्यालय वडामा संचालन गरिएको छ । यसभन्दा अगाडी संचालन गरिएको गाउँपालिका कार्यालयमा अहिले अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष छ । गाउँपालिकाले कुल १० लाख १० हजार ५३५ घरभाडामै खर्च गरेको स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिए ।

इस्मा गाउँपालिका गठन हुँदा सुरुमा इस्मा स्वास्थ्य चौकी भवनमा कार्यालय व्यवस्थापन ग¥र्यो । त्यसपछि ०७४ असार १ गतेदेखि ०७५ मंसिर मसान्तसम्म प्रतिकोठा ३ हजारका दरले ७ कोठाको मासिक २१ हजार बुझाउने गरी घर भाडामा लिएको सुचना अधिकारी नारायण महतले जानकारी दिए । ०७५ पुष १ गतेबाट ३ कोठा थप गरी भाडा बुझाउने सम्झौता भयो । जसअनुसार दुई आर्थिक बर्षमा कुल ५ लाख ८८ हजार भाडामा खर्च भएको सुचना अधिकारी महतले बताए ।

मालिका गाउँपालिकाका वडा नम्बर ४ र ५ का कार्यालय समेत भाडामै संचालित छन् । आ.व. ७३÷७४ मा वडा कार्यालयको भाडास्वरुप २५ हजार र ०७४÷७५ मा ७५ हजार खर्च भयो । आ.व. ०७५÷७६ मा ५ नम्बर वडा कार्यालयको मात्रै ३२ हजार तथा सोहि आ.व.मा गाउँपालिका कार्यालयको ८८ हजार भाडामा खर्च भयो । वडा तथा गाउँपालिकाको गरी मालिका गाउँपालिकामा २ लाख २० हजार खर्च भएको सुचना अधिकारी जगत बहादुर पौडेलले जानकारी दिए । २०७६ वैशाख २५ गतेबाट गाउँपालिकाले बहुउदेश्यीय सभाहलबाट कार्यालय संचालन गरेको पौडेलले बताए ।

रेसुगां नगरपालिकाले सात वडासहित नगरपालिकाको भवनको घरभाडा बुझाउदै आएको छ । भवन तथा वडासहितको ०७५ असार मसान्तसम्म कुल १४ लाख ५७ हजार ४० घरभाडा बुझाएको छ । नगरपालिका सुरुमा तम्घास बृहत खानेपानी आयोजनाको घर भाडामा लिएर बसेको थियो । त्यहाँ मासिक १४ हजार ६६५ का दरले १६ महिनाको कुल २ लाख ३४ हजार ६४० बुझाएको सुचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिए । त्यसपछि खानिगाउँको एक घरमा अहिले नगरपालिकाले मासिक ७६ हजार भाडा बुझाउछ । एक वडासहित नगरपालिकाले हालसम्म घरभाडाबापत ९ लाख ९८ हजार ६४० खर्च भएको छ । यो बाहेक नगरपालिकाका सात वडा भाडामा छन् । गत आर्थिक बर्षमा मात्रै नगरपालिकाका वडा कार्यालयको भाडा ४ लाख ५८ हजार ४ सय खर्च भएको छ । यसरी हिसाव गर्दा नगरपालिकाका सबै वडासहित हालसम्म कुल १४ लाख ५७ हजार ४० खर्च भएको सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिकाले ७ लाख ५० हजार र धुर्कोट गाउँपालिकाले ७ लाख ८० हजार घरभाडामै खर्च गरेका छन् ।

तीन गाउँपालिकाको केन्द्र नै टुङ्गिएन

जिल्लाका तीन गाउँपालिकाले गाउँपालिकाको केन्द्र नै टुङ्गाउन सकेका छैनन् । जिल्लाको इस्मा, मालिका र मदाने गाउँपालिकाले हालसम्म गाउँपालिकाको केन्द्र नै टुङ्गो लगाउन सकेका छैनन् । मदानेको केन्द्रबारे खासै चर्चा नभएपनि आधिकारिक रुपले टुङ्गाउन भने गाउँपालिकाले अझैसम्म पनि सकेको छैन् । मालिका गाउँपालिकाको केन्द्रको विषयमा अहिले अदालतमा मुद्धा छ । मुद्धाको केहि छिनोफानो नभएपनि गाउँपाकिा भने बहुउदेश्यीय सभाहलमा कार्यालय संचालन गरेको छ । इस्मा गाउँपालिकाको केन्द्र टुङ्गगो लगाउन अहिले कार्यदल पनि गठन भएको छ । तर कार्यदलको काम पनि अहिलेसम्म केहि आएको छैन् । प्राविधिकले सुरुमा चाप्टारीलाई केन्द्र बनाउन उपयुक्त हुने बताएका थिए । पछि गाउँपालिका कार्यालय वडा नम्बर ५ रजस्थलमा संचालन भयो । तर गाउँपालिकाको केन्द्र तोकिने समयबारे आफुहरु पनि अनविज्ञ रहेको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । मदाने गाउँपालिका हाल वडा नम्बर ६ को वडा कार्यालयमा संचालन भएको छ ।

कसैको छैन आफ्नै घर

जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै भवन बनाउन सकेका छैनन् । धुर्कोट गाउँपालिकाले तालिम केन्द्र भनेर बनाएको भवनमा अहिले गाउँपालिका कार्यालय संचालन गरेको छ । मदाने गाउँपालिका वडा कार्यालयमा बसेको छ भने मालिका गाउँपालिका बहुउदेश्ययीय भवनबाट काम गरेको छ । सबैभन्दा धेरै घरभाडा बुझाउने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले आफुहरुले क्याम्पसलाई सहयोगस्वरुप रकम दिएको बताए । दुई महिनाभित्र जग्गाको टुङ्गो लगाउने र केन्द्रले रकम दिए भवन बनाउने खत्रीले जानकारी दिए । रेसुङ्गा नगरपालिका केहि महिनापछि आफ्नै घरमा जाँदै छ । अन्य स्थानीय तहको केन्द्र टुङ्गो लागेपनि जग्गाको पहिचान हुन नसक्दा भवन निर्माण कार्य सुरु हुन सकेको छैन् । जसले गर्दा अझै पनि धेरै रकम घरभाडामै खर्च हुने देखिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D