gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

सिंगो गुल्मी जिल्ला जेब्राक्रसिङ विहीन

हुमाकान्त पोख्रेल
गुल्मी, मंसिर ०३ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आवश्यकतानुसार निश्चित ठाउँमा जेब्राक्रसिङ र सडकको दायाँबायाँ आवश्यकतानुसार ट्राफिक चिह्न राख्ने गरिन्छ । तर, सिंगो गुल्मी जिल्लामा कुनैपनि ठाउँमा न त जेब्राक्रसिङ नै बनाइएको छ न त सदरमुकाममा ट्राफिक चिह्न नै । सडकबाट दायाँ, बाँया, उकालो, ओरालो, घुम्तीलगायतका दिशामा सवारीसाधनलाई संकेत दिन ट्राफिक चिह्न राख्नुपर्नेमा सदरमुकाममै सो नभएको भेटिएको हो ।

सुन्दा अचम्म लाग्न सक्छ, जिल्ला सदरमुकाममा एउटा पनि ट्राफिक चिह्न छैन भनेर । तर, जिल्ला सदरमुकाम तम्घासका लागि भने यो कुनै नौलो विषय होइन । त्यस्तै अस्पताल, विद्यालयलगायतका क्षेत्रमा गरी २ सयभन्दा बढी ट्राफिक संकेत राख्नुपर्ने स्वयं ट्राफिक नै बताउँछन् । तर, हालसम्म एक ठाउँमा पनि ट्राफिक चिह्न नहुँदा सवारी चालकहरू अलमलमा पर्ने गरेका छन् । ‘सवारी चलाएबापत हजारौं रकम कर तिर्नुपर्छ, तर ट्राफिक चिह्न नराखेर राज्यले आफ्नो दायित्व बिर्सेको छ,’ एक चालकले बताए ।

सडकको दायाँबायाँ राखिएका ट्राफिक संकेतका माध्यमबाट सवारी चालकले आफ्नो सवारी सोहीनुसार नियन्त्रण गरी दुर्घटना हुनबाट जोगाउँछन् भने पैदल यात्रुका लागि निश्चित ठाउँबाट मात्र बाटो काट्न र सोही ठाउँमा सवारी बिस्तारै चलाउने संकेत दिनेगरी जेब्राक्रसिङ बनाइन्छ । तर, जिल्लाका भीडभाड हुने ठाउँमा पनि जेब्राक्रसिङ नहुँदा र सदरमुकाम तम्घासमा ट्राफिक चिह्न नहुँदा सवारी दुर्घटना हुने जोखिम बढेको छ ।

गुल्मीमा जिल्लाको प्रवेशद्वारा रिडीदेखि सदरमुकाम तम्घास र तम्घासदेखि मालिका गाउँपालिकाको सिमलटारीसम्म पक्की सडक छ । जसमध्ये सदरमुकाम तम्घासका सबैजसो ठाउँमा जेब्राक्रसिङको आवश्यकता छ । त्यस्तै रिडीबजार, बलेटक्सार, विरवास, चोयघा, गौडाकोट, देउरालीलगायतका स्थान पनि बजार क्षेत्र भएको हुनाले बढी पैदल यात्रु ओहोर–दोहोर गर्ने ठाउँ हुन् । तम्घासको बाघमारे, अर्खले, सेउघा, पनाहा, गुर्वा, हुलाके, तथा सिमलटारी बजारमा पनि अन्य ठाउँको तुलनामा यात्रु बढी नै ओहोरदोहोर गर्छन् । तर, अति संवेदनशील क्षेत्रमा जेब्राक्रसिङ नहुँदा पैदल यात्रु र यातायात व्यवसायीलाई समस्या परेको छ ।

‘जुन ठाउँबाट बाटो काटे पनि छुट छ, यातायात प्रणाली सिस्टमभन्दा बाहिर छ,’ रेसुंगा नगरपालिका–९ की सरला पन्थीले भनिन्, ‘कतिबेला गाडीले ठक्कर दिने हो, पत्तै हुँदैन ।’

जेब्राक्रसिङ नहुँदाको मारमा विद्यार्थी पनि पर्ने गरेका छन् । पक्की सडकको बाटो भएर विद्यालय पुग्नुपर्ने सबैजसो विद्यार्थीलाई बाटो काट्ने राम्रो ज्ञान नहुँदा समस्या पर्ने गरेको छ । सदरमुकाम तम्घासमा त शिक्षक–शिक्षिका आफैं सडकमा उपस्थित भई बाटो कटाउने गर्दछन् ।

गुल्मी सदरमुकाम तम्घास जिल्लाकै अति भीडभाड हुने क्षेत्र हो । त्यसका साथै घुम्ती सडकमा पैदल यात्रुले आफूखुसी बाटो काट्दा पनि समस्या पर्ने गरेको छ । ‘सडकमा धेरै घुम्ती छन्, त्यसैमाथि निश्चित समयमा गन्तव्यमा नपु¥याए कारबाहीमा परिन्छ,’ बस चालक भीम पाण्डेले भने, ‘सडकमा ट्राफिक चिह्न कतै नराख्ने, अनि केही दुर्घटना भए चालकलाई दोष दिने ?’

जिल्लाभरमा जेब्राक्रसिङ र सदरमुकाममा ट्राफिक चिह्न राख्ने विषयमा सरकारी निकायबीच नै कुरा बाँझिएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले जेब्राक्रसिङ र सदरमुकाममा ट्राफिक चिह्नको आवश्यकता भए पनि आफूहरूसँग रकम नहुने बताए । ट्राफिक चिह्न राख्ने सदर्भमा आफूहरूले सहयोग मात्रै गर्ने तर नगरपालिका र सम्बन्धित सडक विभागले राख्नुपर्ने उनले बताए । तर, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जेब्राक्रसिङ राख्ने दायित्व सडक विभागको र ट्राफिक चिह्न राख्ने काम ट्राफिक प्रहरीको भएको बताए । मरासिनीले ट्राफिकसम्बन्धी विषयवस्तु नगरपालिकासँग सम्बन्धित नहुने उल्लेख गरे ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D