gulminews logo
मंगलवार, २०८० चैत्र ६

रोकियो गुल्मीमा रंगशालाको काम

गुल्मी, भदौ २४ । पहाडी जिल्ला गुल्मीको ग्रामीण भेगमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रंगशालाको काम बजेट अभावमा अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ रामडलचौरमा नेपालका प्रथम सहिद लखन थापाको नाममा १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको रंगशालाको फिल्ड निर्माण र वाल उठाउने काम सम्पन्न गरी दुबो रोपिएको छ । प्यारापिट निर्माणलगायत दोस्रो चरणको काम मन्त्रालयबाट बजेट स्वीकृत नहुँदा मंसिरदेखि ठप्प छ ।

पहिलो चरणमा गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ लगानीमा फिल्ड सम्याउने र वाल उठाउने काम सकिएको थियो । त्यसपछि बजेट विनियोजन नहुँदा प्यारापिट निर्माणसहित अन्य भौतिक संरचना निर्माणको काम अगाडि बढ्न सकेको छैन । फिल्डमा नाली बनाउने, फिल्ड घेरबार गर्ने, ट्वाइलेट ब्लक र गार्ड रूम निर्माण गर्न १ करोड ५५ लाख रुपैयाँको ठेक्का सुनकोसी अभियान जेभीलाई परेको छ ।

ठेक्का परेको एक वर्ष भइसक्यो तर सम्झौता नभएकाले काम अगाडि बढ्न नसकेको सुनकोसीका सञ्चालक गणेश आचार्यले बताए । ‘ठेक्का भयो तर सम्झौता नभएर अड्किएको छ,’ उनले भने, ‘खेलकुद मन्त्रालयबाट सम्झौता हुन सकेको छैन । पहिला भएन, अहिले मन्त्री नभएकाले फाइल अगाडि बढेन ।’ मन्त्रालय जति धाए पनि बजेट नभएको भन्दै फर्काइदिएको उनले सुनाए ।

तम्घासदेखि २० किमि दूरीमा निर्माणाधीन उक्त रंगशालामा ७ हजार दर्शक क्षमताको बनाउने लक्ष्य छ । पहिलो चरणको काम सकिएलगत्तै दोस्रो चरणमा प्यारापिट निर्माण गर्ने लक्ष्य भए पनि मन्त्रालयले बजेट उपलब्ध नगराउँदा रंगशालाको काम १० महिनादेखि ठप्पै छ । पहिलो चरणको काम मंसिरमा सकिए पनि पुरानो सरकारले बजेट दिएन । अहिले नयाँ सरकार गठन भएपछि खेलकुदमन्त्री नहुँदा रंगशालाको काम अलपत्र परेको हो । प्यारापिट निर्माणको काम गर्न सुरुमा ६० करोड रुपैयाँ लाग्ने इस्टमेट गरिएको थियो ।

धेरै रंगशाला ठूला सहरमा निर्माण भएका छन् । पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा गाउँमा रंगशाला निर्माण हुने भएपछि खेलाडीसहित जिल्लावासीमा खुसीयाली छाएको थियो । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु भएपछि निरन्तर काम गरेर छिट्टै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । दोस्रो चरणको कामका लागि बजेट नआएपछि अहिले काम ठप्पै भएको इस्मा गाउँपालिका–६ का वडाध्यक्ष हीराबहादुर जीसीले बताए । ‘ग्रामीण भेगमा निर्माण हुन लागेको रंगशालालाई संघीय सरकारले बजेट रोक्नुहुँदैन,’ उनले भने, ‘कतै अलपत्र पर्ने हो कि भन्ने चिन्ता लागेको छ ।’ रंगशाला निर्माण सम्पन्न भएपछि खेल प्रतियोगिता सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधिमा परिर्वतन हुने आशा स्थानीयको छ ।

सुन्दर, हरियाली र रमणीय प्राकृतिक मनोरम दृश्यसँगै रंगशालामा खेल गतिविधि सञ्चालन गर्ने र ठूलो खेल प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेर निर्माण सुरु गरिएको हो । ठूला खेल प्रतियोगितामा आउने खेलाडी र दर्शकलाई खान र बस्नका लागि स्थानीय सरकारले गाउँमा होमस्टे निर्माण गरी गरिब तथा विपन्न परिवारको आर्थिक स्थिति सुधार्ने योजना बनाएको वडाध्यक्ष जीसीले सुनाए । ‘संघ सरकारले रंगशाला निर्माण गरिदिए, घरैपिच्छे होमस्टे, स्थानीय खानाका परिकारका लागि कोदोलगायत बाली उत्पादनमा वृद्धि ल्याउने तयारीमा छौं,’ इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर विष्टले भने, ‘यहाँ भएको दहमा ठूलो ताल निर्माण गर्ने र खेलसँगै पर्यटकीय हब बनाउने लक्ष्य हो ।’

गुल्मीमा पहिलो अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला निर्माण हुन लागेको राष्ट्रिय खेलकुद परिषद्का प्राविधिक माधव देवकोटाले बताए । यस रंगशालामा अन्तर्राष्ट्रिय स्तरका सबै खेल हुने उनले बताए । ग्रामीण बस्तीका बेरोजगार युवाहरू कृषि उत्पादन, खसीबोका, रैथाने कुखुरालगायत पशुपालन, होटल तथा होमस्टेबाट र खेल पर्यटनबाट स्वरोजगार बन्ने आशा गरिएको छ ।

रंगशाला निर्माणको दोस्रो चरणको कामका लागि अर्थ मन्त्रालयले बजेट रोकिदिएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले बताए । ‘अहिले बजेट अर्थ मन्त्रालयले रोकेको छ,’ उनले भने, ‘नयाँ सरकार गठनपछि योजनाका काम अगाडि बढेको छैन । बजेटको छिनोफानो भएपछि रंगशाला निर्माणका लागि बजेट उपलब्ध हुने र बजेटका कारण रोकिएको रंगशालाको काम अगाडि बढ्नेछ ।’ बिरेन्द्र के.सी / ईकान्तिपुर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D