टोपलाल अर्याल
गुल्मी, ३ पुस । रेसुंगा नगरपालिका वडा नं ९ ले जेष्ठ नागरिकलाई न्यानो माया प्रदान गरेको छ । वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर ७० बर्ष माथिका ८३ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङकेट) र च्यावनप्रास प्रदान गरेको हो ।
रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले १०३ बर्षीय बृद्ध परसुराम उपाध्याय पन्थीसहितका बृद्धा बृद्धालाई सम्मान गरेका थिए । साथै सोहि अवसरमा वडाले स्थानीय तहपछि गरेका विकासका काम र पारेको प्रभावका बिषयमा निर्माण गरेको विकासको दपर्ण छायाँ बृतचित्रको भुसालले बिमोचन गरे ।
उनले कार्यक्रमलाई संबोधन गर्दै प्रतिपक्षको घेराबन्दीको बिचबाट नगरका भगवान जस्ता बृद्धा बाबा–आमासहित कैयौ नागरिकमा खुसी देख्न पाउनुनै आफुको महत्वपूर्ण उपलब्धि भएको बताए ।
पुराना पुस्ता समाजको इतिहास र सम्पति भएकाले सम्मान र आर्शिवादका लागि न्यानो कपडा वितरण गरेर सम्बन्धलाई थप प्रगाढ बनाएको रेसुंगा नगरपालिका ९ का वडाध्यक्ष नारन सुनारले जानकारी दिए । आफु निर्वाचित भएपछि नागरिकबिच गरेका बाचा अनुसारका कामको दस्तावेजका रुपमा बृतचित्र निर्माण गरेर सार्वजनिक गरिएको सुनारले बताए । कार्यक्रममा स्थानीय राजनैतिक दल एवं सरोकारवालाको उपस्थिती रहेको थियो ।