गुल्मी, असार २८ । वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका-६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौँ सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।
अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास-इन्द्रेगौँडा र तम्घास-मुसिकोट सडक पनि अवरुद्ध भएका छन् । मुसिकोट नगरपालिका-३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो ।