gulminews logo
शुक्रबार, २०८० चैत्र १६

बर्षाका कारण गुल्मीका गाउँगाउँबीच संपर्क विच्छेद

हुमाकान्त पोखरेल
गुल्मी, असार २९ । असार १८ गते राति इस्मा गाउँपालिका १ हस्तिचौर जुकेपानीमा परेको अविरल बर्षासँगै ठुलो पहिरो गयो । ५० घर विस्थापित भए । कयौँ जनावरको पहिरोमै परेर मृत्यु भयो । पहिरोले जुकेपानीका कतिपयका गोठ बगायो त कतिपयका घर उच्च जोखिममा राख्यो । पहिरोमा परि मृत्यु भएका जनावरहरुको उचित व्यवस्थापन गर्नु र पहिरो प्रभावितलाई राहत पु¥याउनु अहिलेको मुख्य आवश्यकता हो ।

सदरमुकाम तम्घासबाट हुलाके–नयाँपोखरा–ढाड हुँदै जुकेपानी पुगिन्छ । तर १८ गते राति परेको अविरल बर्षाले जुकेपानीको बस्ती मात्र होइन, त्यहाँसम्म पुग्ने सडक पनि बगाएर लग्यो । उक्त सडकअन्तरगतको ढाड भन्ने स्थानमा करिब २० मिटर भन्दा बढी चौडाई तथा सय मिटर भन्दा बढी लम्बाइमा गएको पहिरोले जुकेपानी र अन्य गाउँको सम्बन्ध विच्छेद गराएको छ । जसले गर्दा पहिरो प्रभावितलाई राहत र उद्धारमा समस्या भएको छ । ‘सवारी चल्न त परैको कुरा, पैदल हिडेर पहिरो प्रभावित कहाँ पुग्न पनि कठिन भइरहेको छ ।’ इस्मा गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले भने, ‘बर्षाले हाम्रो मनसँगै सडक सञ्जाल पनि छियाछिया बनाएको छ ।’ सडक अवरुद्ध भएसँगै अहिले जुकेपानीमा खानेपानी, विद्युत, सञ्चार लगायत अत्यावश्यक सेवा–सुविधा छ दिनदेखि बन्द छन् ।

सदरमुकाम तम्घासबाट मल्दी–हर्पुकोट–निस्तीखोला, हुलाके–नयाँपोखरा, भञ्ज्याङ–मुसिकोट–निस्ती र देराली–अमराई सडक जुकेपानीसम्म पुग्ने वैकल्पिक सडक हुन् । बर्षाका कारण सबै सडक अवरुद्ध छन् । अन्य सडक बनाउने कुनै उपाय नभएपछि मल्दी–हर्पुकोट–निस्तीखोला सडक बिग्रिएको ठाउँमा मर्मत गरी बनाउने र त्यसै बैकल्पिक सडकबाट जुकेपानीसम्म राहत लिएर पुग्ने गाउँपालिकाको योजना छ । तर निरन्तर पानी परिरहेकोले उक्त सडक मर्मतमा पनि कठिनाई आएको छ । जसले गर्दा पहिरो पीडितलाई मलम लगाउन गाहे परिरहेको छ । ‘जुकेपानीसम्म पुग्ने सबै सडक अवरुद्ध छन्, राहत र उद्धारमा कठिनाई भएको छ ।’ गाउँपालिकाका प्रवक्ता अधिकारीले भने, ‘सडक सूचारु गर्ने निरन्तर प्रयासमा छौ, तर बर्षाका कारण सफल हुन सकेका छैनौ ।’
सेउघा–सिमाघाट–पुर्कोट सडक गुल्मीको पश्चिम क्षेत्रमा पर्ने महत्वपूर्ण सडक हो ।

जिल्ला सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकाको केहि भाग, धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा उक्त सडक पर्दछ । अहिले उक्त सडकको स्तरोन्नतीको लागि मदाने गाउँपालिका वडा नम्बर ७ भनभने स्थित खहरेखोला–कोलहाले सडकमा बाटो चौडा बनाउने काम भइरहेको छ । बर्षायाममा सडकमा पानी र डोजर एकैसाथ निरन्तर चलिरहे । जसले गर्दा काम गर्दागर्दै असार १६ गते कोलहालेमा माथिबाट पहिरो गयो । सडक अवरुद्ध पनि भयो । त्यसदिनदेखि सदरमुकामसँग उक्त क्षेत्रको सम्बन्ध विच्छेद भएको वडाध्यक्ष काशिँबहादुर बोहोराले जानकारी दिए । सडकमा पहिरो गएसँगै भनभने, पुर्कोट दह, म्यालपोखरी, मलागिरी, बाँझकटेरी हुँदै अग्लुङसम्मका नागरिक प्रभावित भएको उनले बताए ।

मदाने पहुँचमार्गअन्तरगत उक्त सडक आयोजनाको काम अहिले मदन भण्डारी राजमार्गले दायित्व लिएको छ । सडकमा पहिरो गएको जानकारी सम्बन्धित निकायमा गराएपनि अहिलेसम्म पहिरो हटाउने कुनै काम हुन नसकेको बोहोराको भनाई छ । ‘दर्जनौ गाउँ सडक सञ्जाल बिहिन भएका छौ, अत्यावश्यक काम परे पनि गाउँ बाहिर जान सकिदैँन ।’ उनले भने, ‘बर्षायाममा गरिने कामले विकासभन्दा विनाश निम्ताएको छ ।’ त्यसका साथै उनले एउटा घर पनि जोखिममा रहेकोले बाटो मर्मत गरी सुचारु गर्ने कार्य थप जटिल भएको बताए ।

मालिका गाउँपालिका वडा नम्बर १ नेटास्थित घैयाखेत भन्ने स्थानमा सडक चौडा बनाउने काम चलिरहेको थियो । सडकमा घुम्ती काट्नुपर्ने भएकोले अन्य ठाउँभन्दा अलि चौडा बनाउनुपर्ने थियो । अविरल बर्षाका बाबजुत पनि सडक चौडा गराउदा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध पा¥यो । उक्त सडकमात्र होइन्, त्यसभन्दा तलबाट अर्खबाङ्ग जोड्ने सडक पनि पहिरोले अवरुद्ध पा¥यो । जसको परिणामस्वरुप अहिले नेटाका बस्ती सडक सञ्जालबिहिन भएका छन् । कोहि बिरामी परे वा कसैको अत्यावश्यक काम परे पनि गाउँबाट बाहिर निस्कन मिल्दैन् । ‘विकासको नाममा खनिएका सडकले धेरै दुःख दिएका छन्, अहिले गाउँपालिका केन्द्र अर्खबाङ्ग लगायत सदरमुकाम सँग पनि हाम्रो सडक सञ्जाल बिग्रिएको छ ।’ नेटाका स्थानीय महेन्द्र विश्वकर्माले भने, ‘सडक नबनाए विपत्मा गुहार नपाइने, मर्मत गरे झनै पहिरो जाने डर !’ त्यसका साथै उनले भौगर्भिक अध्ययन गरेर मात्र सडक निर्माण गर्न आग्रह गरे ।

बतासे–खुप्चापानी–परिवारटोल–पढेलपोखरा सडकअन्तरगतको रेसुङ्गा नरपालिका ३ भाडगाउँस्थित मन्दिरटोल नजिकै पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै सिङ्गो गाउँ नै विस्थापित भयो । भाडगाउँका दलित बस्ती अहिले सडक सञ्जाल बिहिन छन् । उनीहरु सदरमुकामसम्म जान मात्र होइन्, घासँ दाउरा काट्ने लगायतका नियमित काम गर्न पनि नपाएको स्थानीय अनिल खत्रीले बताए । कुनै पनि सडक निर्माण गर्दा आई.ई. र डिपिआर गर्नुपर्छ । तर कुनै पनि अध्ययन नगरिकन खनिएको उक्त सडक अहिले स्थानीयका लागि पासो बनेको छ । ‘निरन्तर बर्षा हुँदा या नहुँदा माटोको लेदो झरिरहन्छ, पहिरो गएको स्थानमा मात्र नभएर त्यसभन्दा तलपट्टिको भागमा पनि जोखम उत्तिकै छ ।’ खत्रीले भने, ‘पैदल हिड्ने यात्रु र केटाकेटीलाई जोखिम झन पछि झन बढ्दै गएको छ ।’ सडक अवरुद्ध भएको विषयमा वडा, नगरपालिका र प्रशासनलाई जानकारी गरापनि सुचारु गर्ने बिषयमा कसैले चासो नदिएको खत्रीले गुनासो गरे ।

पछिल्ला दिनमा परेको अविरल बर्षाले जिल्लाको इस्मा, मदाने, रेसुङ्गा र मालिका मात्र होइन, धेरै गाउँ र बस्तीबीचको सम्बन्ध विच्छेद गराएको छ । मुसिकोट नगरपालिकामा १८ गते राति परेको अविरल बर्षासँगै पहिरो जाँदा पौँदी अमराईको सडक अवरुद्ध भयो । जसले गर्दा अहिले विद्युतको सब स्टेशनको काम रोकिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । जिल्लाको गुल्मीदरबार, कालिगण्डकी, चन्द्रकोट लगायतका स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

प्रमुख जिल्ला अधिकारी एवम् विपत् व्यवस्थापन समितिका संयोजक भरत कुमार शर्माले राजमार्गहरु सम्बन्धित आयोजनाले बनाउने र शाखा सडकहरु सम्बन्धित स्थानीय तहहरुले बनाउने सहमति भएको बताए । मदन भण्डारी राजमार्ग, पूर्वाधार विकास कार्यालय लगायतका कार्यालयहरुलाई राजमार्गका ठाउँमा बिग्रिएको सडक मर्मत गर्न निर्देशन दिएको बताए । तर केहि बस्ती र शाखा सडक भने सम्बन्धित स्थानीय तहले नै सुचारु गर्ने सहमती भएको उनको भनाई छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले पहिरो गएका स्थान र पहिरो नगएका विभिन्न स्थानमा समेत मेसिनहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको उनले बताए । तर अविरल बर्षाका कारण पहिरो गएको ठाउँमा समेत मेसिन प्रयोग गरी सडक सुचारु गराउन नसकिएको उनको भनाई छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D