गुल्मी, बैशाख १ । गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका – ३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनिहरुको परिवार सहित १६ जना सवार गाडी दुर्घटनामा परेको हो ।
यो पनि पढ्नुस्: गुल्मीमा नयाँ बर्षकै दिन टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर
प्यूठान प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको घटना स्थलमै रहेका प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिए । रानाका अनुसार मृत्यु हुनेहरुमा चालक मुसिकोट नगरपालिका –३ का केशव कार्की, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका –७ का सूर्य पन्थी, खरिदार धुर्काेट गाउँपालिका–७ का इश्वरी भण्डारी, स्याङजा कालीगण्डकी गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रशासकीय अधिकृत श्याम न्यौपाने र धुर्काेट गाउँपालिकाकै यमलाल पन्थीको रहेका छन् ।
कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका धुर्कोट ७ निवासी ईश्वर भण्डारी र खरिदार यमलाल पन्थीको घटनास्थलमै मृत्यु भएको हो भने प्रशासकीय अधिकृत श्याम न्यौपाने र मुसिकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष २२ को जील चालक केशब कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको रानाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका वडा नं. ४ बस्ने वर्ष २३ की सुनिता कडेल, वर्ष २९ की बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष ३० की गिता मुखिया, वर्ष १२ का अनिश बोहोरा, रेसुङ्गा नगरापालिका वडा नं. २ बस्ने वर्ष २४ की तारा भण्डारी, वर्ष ६ का आशिष भण्डारी, वर्ष ३३ का दिलबहादुर थापा, वर्ष २७ की कमला ज्ञवाली, वर्ष १२ का सार्थक ज्ञवाली, वर्ष ४ की निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३० का सन्दिप परियार रहेका छन् ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको छ ।
जीप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।