टोकियो, अगस्त १७ । जापानमा गुल्मीकी एक महिला मृत भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी ति महिला शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्लाको चन्द्रकोट वार्ड नं १ दिब्रुङ माईती तथा मुसिकोट नगरपालिका वार्ड नं ६ कुर्घा स्थायी घर भई टोकियोस्थित किता कु ईताबासिमा अन्दाजी २९ वर्षीया महिला मृत फेला परेकाे जनाइएकाे छ । बेलुका श्रीमानसँगै सुतेकी ति महिलालाई बिहान एम्बुलेन्समा अस्पताल पुर्याईएको थियो । अस्पतालले करिब ६ घण्टा पहिले नै उनको मृत्यु भएको जानकारी दिएको थियो ।
मृतक महिलाको श्रीमानलाई नियन्त्रणमा लिई स्थानिय प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
मृतक रायमाझी श्रीमानको ’डिपेन्डेन्ट’ भिसामा जापानमा बस्दै आएको बुझिएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।