बाग्लुङ, मङ्सिर १४ । बाग्लुङको बुर्तिबाङ्गदेखि भारतको नयाँदिल्ली सम्म सिधा बससेवा शुरु हुने भएको छ। गुल्मी यातायात प्रालिले यहि मङ्सिर १६ गतेदेखि बुर्तिबाङ्गबाट दिल्लीको लागि बस संचालन गर्न लागेको हो ।
प्रत्येक हप्ताको सोमबार र शुक्रवार बुर्तिबाङ्ग- नयाँदिल्ली, बुर्तिबाङ्ग- पन्जाबमा यात्रुबाहक बस संचालन गर्न लागेको गुल्मी यातायातका उपाध्यक्ष नारायण ज्ञवालीले जानकारी दिए। उनका अनुसार हप्ताको हरेक बुधबार र आइतबार दिल्ली- बुर्तिबाङ्ग, पन्जाब- बुर्तिबाङ्ग सिधा बससेवा संचालन हुनेछ।
यस अगाडी गुल्मीको सदरमुकाम तम्घासदेखि नयाँदिल्ली र नयाँदिल्ली देखि तम्घासको लागि सिधा बससेवा संचालनमा आइसकेको छ। ‘यात्रुहरुको मागलाई मध्यनजर गर्दै बुर्तिबाङ्गबाट दिल्ली र पन्जाबको लागि सिधा बससेवा संचालनमा ल्याउन थालेका छौं।’ उपाध्यक्ष ज्ञवालीले भने।