gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रमबाट १० हजार पाउण्ड बढि संकलन

लण्डन, १७ मङ्सिर । गुल्मी जिल्ला समाज यूकेले लण्डनमा आयोजना गरेको च्यारिटी कार्यक्रमबाट १० हजार पाउण्ड बढि कोष जुटाइएको छ ।

विश्व अपांगता दिवसको अवसरमा समाजले हरेक वर्ष गर्दै आएको च्यारिटी कार्यक्रम आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा सम्पन्न भएको थियो ।

समाजका कोषाध्यक्ष तारानाथ भण्डारीका अनुसार कार्यक्रमका लागि सहयोगदाताहरुबाट ७ हजार ३ सय पाउण्ड तथा कार्यक्रमस्थलमा ३ हजार गरी कुल १० हजार ३ सय पाउण्डको सहयोग जुटेको छ । सहयोदाताहरुमध्ये धेरैले प्रतिबद्धता गरेको रकम जम्मा गराइसकेको पनि उनले जानकारी दिए ।

संकलित रकमबाट कार्यक्रमको खर्च कटाएर बांकी रकम सामाजिक काममा खर्च गरिनेछ । यो रकमको आधा रकम आशा अपांग केन्द्र तम्घास र बांकी रकम अन्य परोपकारी कार्यमा लगाइने समाजले बताएको छ ।

च्यारिटी कार्यक्रममा प्रथम नौमती बाजा गुल्मी युके समुह , एनआरएन यूके र मगर संघ यूकेको पनि सहकार्य थियो ।

कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीले विभिन्न कामको शिलशिलामा गुल्मीबाट बेलायतमा आएर बसोबास गरिरहेका गुल्मेलीहरुले आफ्नो जन्मभुमिलाई सम्झिएर सहयोगको हात बढाउनु सहनीय कार्य रहेको धारणा व्यक्त गरे ।

विशेष अतिथि आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझीले झण्डै एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले लगातार रुपमा केन्द्रलाई प्रदान गरिरहेको सहयोगका लागि आभार प्रकट गरिन् । पावरपोइन्ट प्रिजेन्टेसनमार्फत केन्द्रको अवस्था र गतिविधीहरु देखाउंदै रायमाझीले गुल्मी जिल्ला समाज यूकेले मात्रै अहिलेसम्म ४० लाख रुपिया भन्दा बढिको सहयोग केन्द्रलाई उपलब्ध गराएको जानकारी दिइन् ।

एनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगरले गुल्मी जिल्ला समाजले सामाजिक क्षेत्रमा उदाहरणीय कार्यहरु गरेको भन्दै यस्ता परोपकारी कार्यका लागि सहकार्य गर्न एनआरएन सधै तयार रहेको बताए ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राम गलामीले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । आफु नेतृत्वको समाजको पांचौं कार्यसमितिले ३ वर्षको कार्यकालमा अहिलेसम्म नेपालमा ६९ लाख रुपियाको सहयोग पठाइसकेकोे जानकारी अध्यक्ष गलामीले गराए ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र पूर्व अध्यक्ष अर्जुन गौतमले समाज स्थापनाको पृष्ठभुमिदेखि अपांगता दिवस च्यारिटी कार्यक्रमको अवधारणासम्मका विषयमा जानकारी गराएका थिए । दुवै खुट्टा गुमाएर पनि साहसिक पर्वतारोहण गरिरहेका भूपू गोर्खा हरि बुढा मगरले प्रेरणादायी मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न अपांगता भएका कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । उनीहरुमध्ये अमृता गिरी गजुरेलले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने बियंका पुनले गीत र एलिसा रानाले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा काठमाडौंस्थित ग्रिन सिटी अस्पतालका निर्देशक एलबि टण्डनले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सुरुमा समाजका उपाध्यक्ष तथा पत्रकार फडिन्द्र भट्टराईले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई समाजको तर्फबाट स्वागत गरेका थिए ।

महासचिव शिव भण्डारी र प्रवक्ता मञ्जु भण्डारीले आकर्षक शैलीमा कार्यक्रमको सञ्चालन गरेका थिए । सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टी ब्रिफ गराएका थिए । कवि रेशम अर्यालले अपांगता भएकाहरुको सम्मान र हौसलामा आफ्नो एक कविता वाचन गरेका थिए । मुस्कान घिमिरेले आकर्षक नाच देखाएकी थिइन् ।

कार्यक्रमको दोस्रो चरणमा लोकदोहोरी गायिका सुशिला गौतमले विभिन्न गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई निकैबेर नचाएकी थिइन् । प्रथम नौमति बाजा यूकेको प्रस्तुतिमा समेत कार्यक्रमका सहभागीहरुले कम्मर मर्काएका थिए । अन्त्यमा डिजे हेम विष्टले समेत विभिन्न गीतहरु बजाएर नचाएका थिए ।

समाजले कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु, अपांगता भएर पनि विभिन्न प्रेरणादायी कार्य गर्न सफल व्यक्तिहरु, समाजकी सदस्य माया केसी लगायतलाई सम्मान गर्दै प्रशंसापत्र वितरण गरेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी र संस्थापक अध्यक्ष नविन पोखरेल, बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ र महासचिव अर्जुन कटुवाल, एनसिआई ग्रुप यूके अध्यक्ष मोहन गुरुङ, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिलबहादुर थापा, पशुपति मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी, गल्कोट समाज यूकेका उपाध्यक्ष भोजराज कंडेल, एनआरएन यूके सल्लाहकारहरु दयानिधी सापकोटा, नरेन्द्र कंडेल, एलएन पाण्डे, पण्डित निलहरि घिमिरे लगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु अतिथि थिए ।

त्यस्तै, समाजका सल्लाहकारहरु मोती भण्डारी, बालजंग अर्याल, कमल भण्डारी, विनोद ज्ञवाली, केशव भण्डारी, दासुराम पाण्डे, रोमनाथ पाण्डे, रणबहादुर केसी, फत्त थापा, मिन दर्लामी, खड्क रेश्मी, दुर्गा पाण्डे, झपट भुजेल, मतिप्रसाद पुन लगायत पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा सहभागी हुन लण्डन र आसपासका क्षेत्रहरुबाहेक बर्मिंगहम, नटिंगहम, लेस्टर र वेल्सबाट समेत गुल्मेलीहरु लण्डन आएका थिए ।

कार्यक्रममा ग्रिनविचस्थित माउण्टेन भ्यू रेस्टुरेण्टले उपलब्ध गराएको नेपाली खाना खुबै रुचाइएको थियो । -नेपाली पत्र डट कमबाट फोटो: शिव भण्डारी

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D