gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा पर्यटक आकर्षित गर्दै ट्री-हाउस, ३ महिनामा २० हजार जनाले गरे अवलोकन

टोपलाल अर्याल
गुल्मी, ७ मंसिर । गुल्मीको रेसुंगा नगरपालिका– ७ उनायचौरमा निर्माण गरिएको ट्री-हाउसले आन्तरिक पर्यटक आकर्षित गर्दै गएको छ । ट्री- हाउसको उधोग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले शनिबार उद्घाटन गरे । उनले प्रदेश ५ कृषि पर्यटनबाट मात्रै समृद्ध बन्ने भएकाले आफुहरु योजनाबद्ध रुपमा लागेको बताए । उनायचौरको ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । त्यहाँ पुग्न सतहबाट एक सय सिँढी उक्लनु पर्छ । त्यहाँ बस्ने, रमाइलो गर्ने, तस्बिर खिच्ने र तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिने रेसुङा नगरपालिका-७ का वडा अध्यक्ष मोहन पान्डेयले बताए ।

‘ट्री हाउस’ मा चढ्न टिकट काट्नुपर्छ । विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क छ । फुर्सद मिलाएर कर्मचारी, विद्यार्थी र अन्य युवा युवती मनोरञ्जनको लागि त्यहाँ पुग्ने कारण रुखमा चढ्नेको दैनिक घुइँचो लागेको छ । उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र उपभोक्ताको गरि १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको समितिका सचिव युवराज मरासिनीले बताए । समितिले दुई लाख रुपैयाँ लगानी गरेको छ । ३ महिनादेखि सञ्चालनमा छ । ‘पहिले चौर र मन्दिर मात्रै भएकाले कम मान्छे आउथे,’ मरासिनीले भने, ‘अहिले ट्री हाउसमा चढ्न दैनिक ३ सयसम्म आन्तरिक पर्यटक आउँछन् ।’ गत भदौ ३ गतेदेखि अहिलेसम्म करिब २० हजारले अवलोकन गरिसकेको उनले बताए । टिकट बिक्रीबाट १ लाख ८९ हजार रुपैयाँ रकम संकलन भएको मरासिनीले बताए । यो सख्या र रकममा विद्यार्थी र जेष्ठ नागरिक समावेश गरिएको छैन । रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने उनले बताए ।

तम्घासको उच्च भूगोलमा भएकाले शीतल, स्वच्छ हावा, सुन्दर मनमोहक दृश्यले त्यहाँ पुग्ने अधिकाशले धेरैले समय उनायचौरमा बिताउने गरेका छन । मदाने गाउँपालिका ३ सिर्सेनीबाट ट्री-हाउस आएका विवेक केसीले अब उनायचौरमा राम्रो होटलको आवश्यकता रहेको बताए । उनले अबको पुस्ताले नयाँ कुरामा बढी चासो राख्ने भएकाले ट्री-हाउस सबैको रोजाइमा परेको बताए । अहिले बालकदेखि वृद्धासम्म रुख चढ्न जानेको भीड छ । अब छिट्टै वडा र नगरपालिकाबाट बजेटको व्यवस्था गरेर रुख चढ्न आएका पर्यटकलाई बस्ने र खाने व्यवस्था गर्न रिसोर्ट निर्माण गर्न लागिएको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । जंगल नै पर्यटकीय गन्तव्य बनाउन र पर्यटक तान्न रुखको टुप्पामा फलामे घर निर्माण गरिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत मदन ढुंगानाले बताए । रुखबाट पनि पर्यटन प्रवर्द्धन गरी पर्यटकीय गन्तव्य निर्माण गर्न सकिने यो गत्तिलो उदाहरण भएको ढुंगानाले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D