gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा ठुला नेताका अलपत्र सडक, नयाँ योजनामा जोड, पुराना राष्ट्रिय राजमार्ग र रणनीतिक सडकको कन्तबिजोक

टोपलाल अर्याल
गुल्मी, ३ असार । गत १ कार्तिकमा मुसिकोट नगरपालिका ६ भुवाचिदीका नरबहादुर गुरुङको लु १ ज ३४३२ नम्बर जीप खोलाले बगायो । रुद्रवेणी–वामीटक्सार सडक अन्तरगत उल्लीखोलाले गुरुङको जीप बगाएको हो । बुटवलबाट गाउँ हिडेका आठ जना यात्रु र सामानसहितको जीप उल्लीखोलामा फस्यो । हतपत्त यात्रुहरु ओर्लिएर भागे । तर, करिव एक घण्टा गुरुङले जीप निकाल्ने कोशिस गरे । अन्तिममा खोलाले गाडी बगायो । ‘फसेपछि खोलाबाट जीप निकाल्न निकैबेर बल गरेँ कसैले गुहार दिएनन,’उनले भने,‘ म फुङगालेर बाँचे सामान र गाडी बगायो ।’

रुद्रवेणी–वामी सडकखण्डको अवस्था ।

उल्लीखोलाले बडिगाडमा पुराएपछि बेपत्ता गाडी तीन दिनपछि फेला परेको थियो । खोलागुरुङले क्रृणधन गरेर २६ लाखमा खरिद गरेको गाडी कर्वाडमा बेच्ने भए । उनले रुद्रवेणी–वामीटक्सार सडकमा १७ बर्षदेखि गाडी चलाउँछन् । बर्षौ ज्यानको बाजी थापेर यात्रु बोक्न पर्ने स्थितिमा सुधार नआएकाले नेताहरुबाट आफुलाई कुनै आश नभएको गुरुङले बताए । सोहि ठाउँमा गत ३० साउनमा पहिरोसहितको बाढीले लु १ ख ७४०६ नम्बरको ट्रक बगायो । बुटवलदेखि बाग्लुङको हटियातर्फ जाँदै मालवाहक ट्रक बगाएको स्थानीयले बताए ।

करोडौका ठेक्कै ठेक्का, काम ज्यूँका त्युँ

केहि समय अघि रुद्रवेणी–वामी सडकखण्ड अन्तरगत उल्लीखालाले बगाएका सवारी

रुद्रवेणी–वामी–दरमखोला ४० किलोमिटर सडकखण्डमा रसुवा एस.बि.ए.जेभी, ईलाइ एस.बि.ए जेभी, रौताह हरिहरि जेभी र गजुुरमुखी निमार्ण कम्पनी लगायतका निर्माण व्यवसायीले करिव ५० करोडको ठेक्का सम्झौता गरेर काम गरेका छन् । तर, कुनै पनि खण्डका काम समयमै भएका छैनन् । निर्माण व्यावसायीले विभिन्न बहाना बनाएर कामको समय थप्ने र काम नगर्ने गरिरहेका छन् । जसका कारण कालोपत्रे फुट्ने, स्तरउन्नती भएका सडकहरु भासिने, पुरिने र बिचमै खाल्डा बनेर सवारी साधनहरु गुड्नै नसक्ने अवस्था रहको युवा व्यावसायी रविलाल पौडेलले गुनासो गरे । जिल्लाको निकै पुरानो र व्यस्त सडकको हरिबिजोक देखेर नागरिक निराश छन् । रुद्रवेणी–वामी सडक गुल्मी र पश्चिम बाग्लुङका नागरिकहरुको भाग्य र भविष्यसंग जोडिए पनि नेताहरुले भोट र राजनीतिमा केन्द्रित गरेको बताए । उल्लीखोलाले अहिलेसम्म दुई दर्जन बढि साना–ठुला सवारीसाधन बगाएको छ । यो सडकखण्डको विचमा धेरै खोलाहरु छन । तर, कुुनै ठाउँमा पुल निर्माण भएको छैन । यो बाहेक अर्को बैकल्पिक सडकहरु पनि छैन । त्यसैले सवारी चालकहरुले जोखिमकैबिच गाडी नचलाउनुको बिकल्प छैन ।

एक दर्जन नेता र मन्त्री : दुई दर्जन ठुला सडक

गुल्मीबाट अहिले रामकुमारी झाँक्री शहरी विकास मन्त्री छन् । केन्द्रका दुई ठुला नेता प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट पटक–पटक मन्त्री भए । सुर्दशन बराल पनि लुम्बिनी प्रदेशका पुर्व मन्त्री हुन् । एक दर्जन बढि सांसद भए । भौतिक पुर्वाधार कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, शिवपुर सडक कार्यालय, पाल्पा सडक कार्यालय र रोल्पाबाट समेत गुल्मीमा सडकको काम भइरहेको छ । तर, योजनाको कार्यान्वयनले गति नलिएका कारण नागरिकले चर्को आलोचना गरिरहेका छन् । जिल्लामा ठुला सडक आयोजनाहरुमा कालिगण्डकी करिडोरको गुल्मी खण्डमा सडक स्तरवृद्धि गरिएको छ । त्यस्तै मदनभण्डारी राजमार्ग अन्तरगत रिडी–बल्कोटको काम शुरु भएको छ । तम्घास–सिमलटारी–प्युठान सडकखण्डमा सिमलटारीसम्म कालोपत्रे भएको छ । अरु खण्डको काम भएको छैन् । राक्से–पौदीअमराई–कृष्णनगर सडक आयोजना अन्तरगत राक्सेदेखि इस्मासम्म सडक स्तरवृद्धिको काम भएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन, तम्घास–खाम्सेपानी–नयाँगाउँ–हाडहाडे, खज्र्याङ–गौडाकोट–मजुवा, रानीबास–रुद्रवेणी लगायत करिव दुई दर्जन दुई जिल्ला र निर्वाचन क्षेत्र जोडने रणनैतिक सडकहरु रहेका छन् । यी मध्ये केहि सडकहरुको ट्रयाक खोल्ने र केहिको स्तरवृद्धि बाहेकका काम भएका छैनन् । प्रदेश र स्थानीय सरकारका पनि सयौ सडक निर्माण गरिरहेका छन् । तर, मुख्य सडक हरिबिजोग बन्दै गएका छन् ।

बजेटमा प्रतिस्प्रर्धा र प्रचार : कार्यान्वयनमा समस्या

जिल्लामा अहिले टेण्डरको सूचना सामाजिक संजालमा राखेर कार्यकर्तामा पार्टी प्रचार गर्ने अहिले होडबाजी चलिरहेको छ । तर, बजेट कार्यान्वय फितलो छ । नेताहरु संचालित आयोजना भन्दा नयाँ विकास आयोजनाले कार्यकर्ता बटुल्ने होडमा रहेका कारण पुराना आयोजना ओझेलमा परेका छन् । रिडी–तम्घास सडक जिल्लाको पुरानो र मुख्य सडक हो । सडक बिस्तार भएको करिव चार दशक भए । चार दशकपछि केहि ठाउँमा घुम्टी मिलाउने र सडक चौडा पार्ने काम भएको छ । तर, समयमै कालोपत्रे नभएका कारण पुरानो कालोपत्रे उप्किएर कच्ची सडकभन्दा कम छैन । गुल्मेलीका लागि सालझण्डी–पटौती–खज्र्याङ–तम्घास–ढोरपाटन सडक सिद्धबाबाको विकल्प हो । सिदार्थ राजमार्गको वुटवल–पाल्पा सडकखण्ड अन्तरगत सिद्धबाबामा कैयन गुल्मेलीले ज्यान गुमाए । ७४ किलोमिटरमा पुर्व–पश्चिम राजमार्ग जोडिने भएकाले २२ किलोमिटर दुरी कम छ । तर, राजनैतिक प्रतिसोधका कारण अलपत्र परेको छ । सुरुमा त्यो सडकमा कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको भुमिका देखिएकाले एमाले नेतृत्वको प्रदेश र संघिय सरकारले प्राथमिकता नदिएर बजेट बिनियोजन नगरेको एमालकै एक नेताले गुनासो गरे । तर, पछि कांग्रेस र माओवादीको संयुक्त गठबन्धनमा सरकार निर्माण भएपनि यो सडकले प्राथमिकता पाएका छैन । यी बाहेक करिव दुई दर्जन रणनैतिक सडक अलपत्र छन् । केहिको कटिङ मात्रै भएको छ । कुनै सडक नाली नभएर बिग्रेर बेहाल छन् ।

योजनामा नागरिकको आवश्यता भन्दा नेताकै होड

तम्घासबाट खाम्सेपानी हुँदै नयाँगाउँ–हाडहाडे जोड्ने सडक निर्माण भएका कैयौ बर्ष भए । केहि भाग कालोपत्रे भयो । एक÷डेढ सयको फरकमा अर्को तम्घास–नेटा सडक निर्माण गरिएको छ । तम्घास–खाम्सेपानी–नयाँगाउँ–हाडहाडे सडकका कारण माथिल्लो तम्घास–नेटा सडक एकै ठाउँ हुने अवस्था रहेको छ । सडककै कारण एक दर्जन घर परिवार पहिरोको जोखिममा छन् । रातचौर–हर्पुकोट–इस्मा सडकको कारण बर्षातमा छल्दी पनाह–रातडाँडा–इन्द्रेगौडा सडक अवरुद्ध हुने गरेको छ । रातचौर–हर्पुकोट–इस्मा सडकले स्तर उन्नतीको नाममा स्थानीयलाई सुविधाभन्दा समस्या थोपरेको छ । पनाह–रातडाँडा–इन्द्रेगौडा सडकको केहि भाग मात्रै कालोपत्रे गरियो । अरु खण्डमा समयमै कालोपत्रे भएन । बर्षातमा भन्ज्याङ–इन्द्रेगौडा जिल्लाकै जोखिमपूर्ण सडक बनिरहेको छ । नागरिकको आवश्यता भन्दा नेताको लहडबाजीका कारण विकासको नाममा राज्यको सम्पति दुरुपयोग भइरहेको सुशासन अभियान गुल्मीका सचिव तथा अभिवक्ता बिनोद पाण्डेयले बताए । नेताको दवाबमा प्राविधिकको बिज्ञता डगमगाएको कारण गलत योजना र डिजाइन, स्टिमेट र मुल्यांकलने विकास निर्माणका आयोजना अलपत्र पर्ने, बद्नामी र बदमासी हुने प्रवृति बढेको पाण्डेयले बताए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले स्थानीय तहले प्रदेश र केन्द्रका योजनाहरुको अपनत्व नलिनु, बजेट अभाव, जनशक्ति अभाव, कार्यालय आफैमा स्वतन्त्र हुने र निर्माण व्यावसायीले समयमै काम नगर्नु लगायतका कारण विकास निर्माणमा अहिलेको अवस्था देखिएको बताए । भौतिक पुर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनीयर सागर मरासिनीले ठुला सडकमा भन्दा साना सडक धेरै भएकाले कार्यालयहरुलाई योजना कार्यान्वयनमा समस्या भएको बताए । उनले कम जनशक्ति र ठुलो योजनामा बजेट भन्दा साना योजना धेरै भएकाले कार्यान्वयन र नियमन दुवैमा चुनौति रहेको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D