gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका राजनले मलेसियामा ईण्डोनेसियन केटीसँग दिल साटेपछी…….

जनकराज सापकोटा
चमकधमकले भरिएको र सानसौकतले अग्लिएको मलेसियाको राजधानी क्वालालम्पुर । नियोन लाइटको प्रकाशमा लुटपुटिने सहरको रात र तीव्र आर्थिक वृद्धिदरमा हुइँकिरहेको सहरको जीवन ।

यो पनि पढ्नुस्: जाने हैन त गुल्मीबाटै डुंगा चढेर रानीमहल? शुरु भयो जलयात्रा

गुल्मीमा जन्मेका तर तन्नेरी जीवनको आधा समय मलेसियामा दु:खको अँध्यारो गर्तमा बिताएका गुल्मीका राजन थापा, ३७ लाई यस्ता कुराको ‘छु मतलब’ । क्वालालम्पुरबाट करिब ३० किलोमिटर परको ग्यान्टिङ हाइल्यान्डको सानो पहाडी थुम्कोमा करिब १५ वर्षयता पहाड खोस्रिरहेका उनलाई दायाँ–बायाँ सोच्ने त फुर्सदै छैन । उनी जहाँ बस्छन्, त्यहाँबाट आकाश खुला भएका बेला नियालेर हेर्‍यो भने क्वालालम्पुरको छेउछाउमा अग्लिरहेका अट्टालिकाहरू देख्न सकिन्छ । तर पहाडको उचाइमा बसेर हेर्दा ती सबै होचा र पुड्का लाग्छन् । आफ्नै दु:खको अग्लो पहाडमा उभिएपछि पराई देशको विकास र चमकधमकजस्तो लागे पनि के अर्थ ?

२१ वर्षे उमेरमा मलेसिया छिरेका राजनको जीवन ग्यान्टिङ हाइल्यान्डका पहाडी थुम्कोमा उक्लिएका बाटाहरूजस्तै घुम्तीहरूले भरिएको छ । अनि ती प्रत्येक घुम्तीमा ठगिएका, हेपिएको र आपत्मा परेको कथा मात्रै छ । सन् २००२ मा मलेसिया छिर्दा उनी २१ वर्षका मात्रै थिए । जुंगा भर्खरै बाक्लिन थालेको थियो । काम थालेको केही महिनामै उनले थाहा पाए, उनी मेडिकल फेल भएछन् । नेपालमा पास भएको मेडिकल जाँच मलेसियामा कसरी फेल भयो ? पास र फेलको घनचक्कर त उनले बुझ्न सकेनन् तर उनले यति कुरा भने थाहा पाए, मेडिकल फेल भएपछि घर फर्किनुको विकल्प छैन ।
rajan thapa

यो पनि पढ्नुस्: धामीले सवैको मृत्यु तोकेपछि सिङ्गो वस्ती नै विस्थापित

एक रात राजन सटुक्क कम्पनी छाडेर भागे । यसरी भागेपछि सुरु भयो उनको अवैध अर्थात् कागजातविहीन कामदारको परिचय । किनकि कम्पनीले होल्ड गरेर राखेको पासपोर्ट उनीको हातमा हुने कुरै भएन । एकाध दिनको भागदौड र आलसतालसपछि उनले एउटा क्यासिनोमा गार्डको काम पाए । त्यहाँ पनि उनलाई सोचेजस्तो र भनेजस्तो भएन । कतिखेर प्रहरीले आएर पक्रेला र नेपाल फर्काइदेला भन्ने डरले उनलाई कोपररिह्यो । त्यसपछि उनी अनेकन नेपालीको सम्पर्क सूत्र पहिल्याएर आइपुगे, ग्यान्टिङ हाइल्यान्डको पहाडी थुम्कोमा ।

झन्डै १४ वर्षयता स्वेदश नर्फकी यहीको पहाडी थुम्कोको माटो खोस्रिरहेका उनी बासको टेकोमा फ्लेक्स प्रिन्टले बारेर सानो कटेरोजस्तो घर बनाएर बसेका छन् । त्यही नजिकै उनले एक जना चिनियाँका २ हेक्टर जमिन वार्षिक पाँच हजार रिंगिट अर्थात् करिब एक लाख २५ हजार नेपाली रुपैयाँ तिर्ने सर्तमा भाडामा लिएका छन् । जहाँ उनी मौसमअनुसार खुर्सानी र सिमी फलाउँछन् । मौसमको जस्तै खेतीको पनि केही भर हुन्न भन्ने कथ्य सुनाउँदै राजन केही बेर थकथकाए । कारण के परेछ भने, केही दिनअघि मात्रै परेको ठूलो झरीेपछि उनको सिमी बारीभरि कीराहरू सलबलाएछन् र सप्पै सिमीको बोट नासिएछन् । उनले सानो स्वरमा भने, ‘झन्डै दुई/तीन हजार रिंगिटको लगानी खेर गयो ।’

ग्यान्टिङ आएपछि राजनको जीवनमा पहिलेजस्तो भागदौड त छैन । तरकारी खेतीबाट हुने नाफा घाटाको हिसाबकिताबले पनि उनलाई त्यति धेरै पिरोल्दैन । तर उनको मनमा भने स–सानो आँधी तुफान हरदम मच्चिरहन्छ । उमेरको उपल्लो विन्दुमा पुगेकी बूढी आमाले जब घरबाट फोन गरेर ‘कहिले आउँछस् नेपाल ?’ भनेर सोध्छिन् तब उनलाई आपत् पर्छ । दिव्य १५ वर्षमा नेपाल कति बदलियो होला ? आफ्नो गाउँ कस्तो भयो होला ? आमाको गालामा कति चाउरी परे होलान् ? राजनलाई केही थाहा पत्तो छैन । उनीसँग केही अनुमान त छन् तर त्यसका केही आधारहरू छैनन् । आफू मलेसिया आएपछि गाउँमै बितेका बाको सम्झना त राजनको स्मृतिमा मधुरो हुन आँटिसक्यो । उता बा बिते, यता राजन गैरकानुनी हैसियतमा थिए । बाको किरियाकर्ममा पनि सामेल हुन नपाएको छटपटी पनि अब त वर्षौं पुरानो भइसक्यो ।

ग्यान्टिङ आएपछि राजनलाई केही सजिलो भएको छ । किनकि ग्यान्टिङको माटो खोस्रिँदाखोस्रिँदै राजनको दिल एक जना इन्डोनेसियन केटीसँग साटिएको पनि पाँच वर्ष बितिसक्यो । नसाटियोस् पनि किन, उमेरको रापतापमा पनि उनले भर्खर बिहे गरेर घरमै पत्नी छोडेर आएका थिए । त्यसो त खेतीको काममा बिहान घाम झुल्केदेखि साँझ घाम नडुबेसम्म उनी व्यस्त भइरहनुपथ्र्यो । काममा सहयोग गर्ने कोही भइदिए नि हुन्थ्यो भन्ने उनी सोचिरहेका थिए । त्यही बेला इन्डोनेसियन केटी डिन्डासँग सुटुक्टै मन साटिएको उनले पत्तै पाएनन् ।

वर्षौं घर नर्फकिने र कहिले घर फर्किने भन्ने टुंगो पनि नभएका श्रीमान् कुरेर उनकी पत्नी कतिन्जेल बस्ने ! पति इन्डोनेसियन केटीसँग बस्न थालेको दुई वर्षपछि पत्नी पनि आफ्नो बाटो लागिन् । त्यसपछि राजन यतै अड्किएको अड्कियै छन् । उनकी आमाले उनलाई, जुन देशकी केटी भएपछि ल्याए पनि लिएर आइज भनेकी छन् । तर, डिन्डाको नेपाल जान पटक्कै रुचि छैन ।

मन लागेका बेला घर फर्किन राजनसँग कुनै वैधानिक कागजपत्र छैन । आमाको यादले मात्रै उनलाई घरसम्म तान्न पनि सकेको छैन् । बढो अनौठो मजधारमा फसेको छन् उनी । डिन्डाको मायाले उनलाई यतै लपेटेको छ । मासिक २०/२५ हजार रुपैयाँ भए पनि आम्दनी भइरहेको छ । राजनले भने, ‘न भन्नेबित्तिकै नेपाल फर्किन सक्छु । फेरि उता गएर पनि के पो गर्ने ?’

ग्यान्टिङमा थुप्रै नेपालीहरू छन्, जो दशकभन्दा लामो समयदेखि नेपाल नर्फकी बसेका छन् । तीमध्ये इन्डोनेसियन केटीसँग लिभिङ टुगेदरमा बस्नेहरूको संख्या पनि दर्जनभन्दा धेरै छ । ग्यान्टिङमा ५० हेक्टरभन्दा धेरै जमिन भाडामा लिएर उन्नत तरिकाले तरकारी खेती गरिरहेका टीकाराम श्रिसका अनुसार यहाँका पहाडमा दर्जनौं यस्ता गैरकानुनी हैसियतका नेपाली छन्, जो इन्डोनेसियनसँग घरजम गरेर वर्षौंदेखि बसेका छन् । राजनले कुरामा सही थप्दै र मुसुक्क हाँस्दै भने, ‘यसरी बस्ने धेरैका नेपाली स्वास्नी आफ्नो बाटो लागिसक्या छन् ।’

वर्षौंसम्म इन्डोनेसियन केटीसँग घरजम गरेर बसे पनि नेपालीहरू हत्तपत्ती बच्चा भने जन्माइहाल्दैनन् । धेरैको बुझाइ के छ भने, बच्चा जन्मिएपछि तिनकै मायाले नेपाल फर्किन सकिँदैन । ग्यान्टिङका केही नेपालीका अनुसार बच्चा जन्मिएपछि पत्नीको पछि लागेर इन्डोनेसिया पसेर उतै हराउने नेपाली पनि छन् । राजनले डिन्डातिर देखाउँदै भने, ‘हामी त सँगै बस्ने मात्रै हो । बच्चा त नपाउनै है ।’ -ईकान्तिपुर डट कमबाट

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D