टोपलाल अर्याल
गुल्मी, २२ भदौ । भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रको आयोजना तथा गुल्मी उद्योग बाणिज्य संघको समन्वयमा जिल्लाका मासु ब्याबसायी तथा सरोकारवालाहरुसंग जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उपभोक्तालाई सफा र स्वस्थ मासु उपभोग गराउने उदेश्यले मासु पसलको व्यावस्थापनका बिषयमा व्यावसायी र सरोकारवालाबिच छलफल गरिएको हो ।
केहि दिनपछिबाट मासु पसलको अनुगमन तथा नियमनको कामलाई निरन्तर अगाडी बढाइने भएकाले पुर्वसन्ध्यामा व्यावसायीहरुका व्यावसायीक समस्या र अहिलको अवस्थाको बारेमा अन्तरक्रिया गरिएको थियो । सोहि क्रममा व्यावसायीहरुले बाहिरबाट झोलामा ल्याउने मासुलाई प्रतिबन्ध लगाउन र साना ठुला व्यावसायी दुवैलाई सहयोग गर्न कार्यालयको ध्यानाकर्षण गराएका थिए । मासु व्यावसायी खेत बहादुर श्रीसले मासु लाई गुणस्तरिय बनाउन क्वारेन्टाइन र बधशालाको व्यावस्था गरेर गाउँबाट झोलामा बोकेर पसलमा मासु बेच्ने प्रवृतिको अन्त्य गर्न आग्रह गरे ।
व्यावसायी तथा उत्पादक रुपलाल श्रेष्ठले मासु पसलको डेकोरेशन हेरेर र देखेर मात्रै मासु गुणस्तरिय नहुनेमा जोड दिए । कृषक दान बहादुर तङनामीले उत्पादकले मूल्य नपाएका कारण झोलामा मासु बोकेर बजार धाउन बाध्य भएको बताए । साथै उनले कार्यालयले बनेका संरचनाको मुल्यांकलन गरेर अनुदान दिनुपर्नेमा समेत जोड दिए । उत्पादक तथा वितरक लिल बहादुर बस्नेतले किसानले मुल्य पाउन बजार हेरेर व्यावसाय गर्नुपर्नेमा जोड दिए । उनले बजारमा कहिले मासुनै नपाउने र कहिले मासुनै उठाउन नसकिने अवस्था भएकाले बजार हेरेर लागनी गर्न सुझाब दिए । बस्नेतले व्यावसायसंगै त्यसका आचारसंहिता सवैभन्दा पहिला व्यावसायी आफुले जान्न आवश्यक रहेको बताउँदै बधशाला निर्माण र नियमित अनुगमनमा जोड दिए ।
उपभोक्ता हित संरक्षण मञ्चका युवराज भण्डारी, पत्रकार महासंघका तर्फबाट अध्यक्ष टोपलाल अर्याल, होटल व्यावसायी मञ्चका जंग बहादुर कुवंरले मासु व्यावसायीलाई मासु पसलको सरसफाईमा जोड दिन आग्रह गरेका थिए । उपभोक्ताले सफा र स्वस्थ मासु खोज्ने भएकाले व्यावसायीक अब्बलता प्रर्दशन गर्न र उपभोक्ताको उत्पादनको मुल्यमा बिशेष ख्याल गर्दिन सवै व्यावसायीलाई सरोकारवालाले सुझाव दिए । गुल्मी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्रीप्रसाद भलामीले व्यावसायीहरुले व्यावसायीक हकहितसंगै उपभोक्ताको अधिकारको पनि ख्याल गर्नुपर्नेमा जोड दिए ।
गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले आफुहरु व्यावसायीको सचेतना, व्यावसायीक विकास र समृद्धिको पक्षमा भएकाले सचेतनामूलक कार्यक्रमको समन्वय गरेको बताए । उनले सचेतना बिनाको अनुगमन र नियमनले व्यावसायीकलाई घाटा हुने भएकाले सचेत बनाउन व्यावसायीहरुकैबिचमा अन्तरक्रिया गरिएको बताए । पौडेलले बधशालाको बिषयमा मासु व्यावसायी सकरात्मक भए सहजीकरण गर्न बाणिज्य संघ तयार भएको बताए ।
कार्यक्रममा उठेका व्यावसायीका समस्याको जवाफ दिदै भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले कानुन र व्यावसायीक धर्म निर्वाह गर्न सवै व्यावसायीलाई आग्रह गरे । उनले सानो ठाउँका कानुन अनुसारका सवै आधार खोजेर संभव नभएपनि न्यूनतम मापदण्डहरु पुरा गरेर व्यावसाय संचालन गर्न सुझाव दिए । केहि समयमै मासु पसलहरुको अनुगमन गरिने भएकाले कार्यालयको तर्फबाट सचेत बनाउने र उपभोक्तालाई सफा र स्वस्थ मासु उपभोगको वातावरण सृजना गर्नकै लागि अन्तरक्रियाको आयोजना गरिएको बताए । उनले कार्यक्रममा बधशाला, क्यारेन्टाइन, मासु पसल र व्यावसायीक मापदण्डका कानुनी व्यावस्था र अवस्थाको बारेमा व्यावसायी तथा सरोकारवालाई जानकारी दिएका थिए ।