gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका काशीरामको कथाः ‘देशको नामै थाहा थिएन अस्ट्रेलिया पो आइयो’

छत्र शंकर
सिड्नी, बैशाख ११ । काशीरामको पालामा गुल्मी बागलुङतिरका मानिसहरु काठमाडौं भन्दा पनि रोजगारीको खोजीमा भारतमा जान्थे। कति उतै भारतीय सेनामा भर्ती हुन्थे भने कतिपय वर्षभरि कमाएर ठन्नै लुगाफाटा र खानेकुरा बोकेर गाँउ फर्कन्थे। २०१६ सालमा गुल्मीमा जन्मेका काशीराम पौडेल त्यति बेला १८ बर्षको थिए। बाल्यकालमा देखेका यी रमाइला दृश्यले काशीलाई लोभ्याइ रहन्थ्यो।

भारतबाट फर्किएका साथीभाइका ‘बा’लाई देखेर काशी मनमनै भन्थे म पनि कहिले यसरी कमाएर ल्याउने होला। त्यसैले चार कक्षा पढ्दापढ्दै उनले एक दिन पढाइमा बिट मार्ने निधो गरे र तल्लाघर माथिल्लाघरका जस्तै रोजगारी लागि पोकापतेरा ठीक पारे अनि मुग्लानतिर होमिए। भारतका विभिन्न होटलमा काम गर्न थाले। १०-१२ वर्ष भारतमा बस्दा उनको जवानीे उतै बित्यो। उनको लगातारको संघर्षले कुकसेफ भएर काम गर्ने अवसर पाए। काम गर्दागर्दै उनले सुन्ने गर्थे, साथीहरु विदेश पनि जान थालेका छन् रे। कुन विदेश हो त्यति बेला अत्तोपत्तो थिएन काशीरामलाई। उनी त काशीराम किचनको चौघेराभन्दा बाहिर आउन सकेका थिएनन्। तर, उनी बेलाबेला भने पत्रपत्रिका पढ्न छुटाउँदैनथे। उनका लागि कतै नसुनेको देशको नाम एउटा त्यो पत्रिकामा थियो। काशी भन्छन्, ‘अस्ट्रेलिया पनि देश छ भन्ने त थाहा थिएन कसरी आउँछु भनेर सोच्नु, तर आइयो।’

रेष्टुरेण्टको मालिक भएर पनि न त उनले टाईसुट नै लगाएका छन्। न त कुनै भड्किलो स्वभाव नै छ। मात्र उनमा छ नेपालीपन। शिरमा नेपाली ढाका टोपी र सरल स्वभाव छ उनको।

पत्रिका पढेकै भरमा उनको जीवनले नयाँ मोड लियो। ‘सन् १९८८ तिरको कुरा हो। मलाई एउटा होटलले स्पोन्सरसिप गरेर अस्टे«लिया ल्यायो। मैले उनीहरुकै होटलमा काम गरे,’ काशी भन्छन्, ‘कुक सेफ भएर काम गरेको मलाई त सबै कुरा आउँथ्यो किचनमा। त्यसैले जति आयो त्यति नै बढी काम गर्नु पथ्र्यो।’ अस्ट्रेलियामा पनि काशीले १२-१५ वर्ष अर्काकै होटल तथा रेष्टुरेण्टमा बिताए।

कसरी बने काशीराम रेष्टुरेण्ट मालिक?

अहिले काशीराम ६० वर्षका भए। काशीको आधाभन्दा बढी जिन्दगी अरुकै होटलमा काम गर्दागर्दै बित्यो। काममा मेहनती तथा सिपालु उनी आफैं केही गर्छु भन्ने भावनाका थिए। कर्म गर्दै जानुपर्छ, सफलता मिल्छ भने भावनाबाट ओतप्रोत भएका काशीराम सन् २००४ ताका पश्चिमी अस्ट्रेलियाको एडिलेडमा आफैं रेष्टुरेण्टका मालिक बन्न सफल भए। व्यापार गर्न पैसा त पहिलो प्राथमिकता हो नै, तर लगनशीलता, मेहनत पनि चाहिने काशीरामको अुनभव छ। अहिले काशी एडिलेडमा एकसय भन्दा बढी क्षमता भएको टेस्ट अफ नेपाल रेष्टुरेण्टका मालिक हुन्। चार कक्षा मात्र अध्ययन गरेका काशीरामको सफलता लोभलाग्दो छ। रेष्टुरेण्टमा नेपालीभन्दा बढी ‘गोरा’ नै आउँछन्। उनलाई भ्याइनभाइ छ ग्राहकको सेवा गर्न।

रेष्टुरेण्टको मालिक भएर पनि न त उनले टाईसुट नै लगाएका छन्। न त कुनै भड्किलो स्वभाव नै छ। मात्र उनमा छ नेपालीपन। शिरमा नेपाली ढाका टोपी र सरल स्वभाव छ उनको। अस्ट्रेलियामा खुलेका नेपाली रेष्टुरेण्टहरुमा नेपाली ग्राहक नै बढी भेटिन्छन्। तर, काशीको रेष्टुरेष्टमा नेपालीभन्दा अन्य देशका ग्राहक नै बढी भेटिन्छन्। उनी भन्छन्, ‘टेस्ट अफ नेपालको टेस्टमा गोराहरु पनि लोभिएका छन्। सफा र मीठो लागेर विदेशीहरु बढी आएका हुन्। यहाँ सबै नेपाली मेन्यू नै छ।’ रेष्टुरेण्ट खोल्न ठूलो लगानी नगरेको उनी बताउँछन्। ‘ग्राहकले मन पराए त्यसपछि सिटको क्षमता पनि बढाउँदै गइयो,’ उनले भने। कोभिड-१९ संक्रमण अघिसम्म उनको रेष्टुरेण्ट ग्राहकले खचाचख भरिएको हुन्थ्यो।

रेष्टुरेण्टका भित्ताहरु नेपालको कला संस्कृतिले भरिएका छन्। सफल व्यवसायीका रुपमा चिनिएका काशीको रेष्टुरेण्टका भित्तामा उनको मेहनत र इमान्दारिता झल्किएको छ। उनले थुप्रै प्रशंसाका प्रमाणपत्र पाएका छन्।

नेपाली टेस्टको स्वादमा मस्त ग्राहकहरु गफगाफमा व्यस्त थिए भने काशी नेपाली ढाका टोपी लगाएर उनीहरुको सेवामा खटिरहेका थिए। चार कक्षा पढे पनि उनी अंग्रेजी खरर बोल्छन्। भन्छन् ‘अहिलेसम्म भाषाले समस्या दिएको छैन।’

त्यसो त अस्ट्रेलियामा दर्जन बढी नेपालीका रेष्टुरेण्ट छन्। उनीहरु सबै काशीका चेला हुन्। किनकि, उनकै रेष्टुरेण्टमा काम गरेर उनीहरु आफैं सक्षम भएर रेष्टुरेण्ट खोलेको काशी बताउँछन्। ‘मैले धेरैलाई सहयोग गरें, रेष्टुरेण्ट कसरी चलाउने भनेर सिकाए। त्यसैले आज उनीहरुले गरेको प्रगति देख्दा खुशी लाग्छ,’ उनी भन्छन्, ‘म आफ्नो विगतबारे सोच्छु गुल्मीको सामान्य पढेको मान्छे आज अस्टे«लियामा व्यापार र घर बनाउन सफल भएँ। म जस्तो सामान्य लेखपढ भएको मान्छे मेरो आफ्नै संघर्षले गर्दा सफल भएको छु।’

‘जीवनमा धेरै अप्ठ्याराहरु आउँछन् आत्तिनु हुँदैन। जिन्दगीको कुनै पनि मोडमा सफलता मिल्छ,’ यो काशीरामको जीवनभोगाइको अनुभव हो। –नेपाल न्युज डट कमबाट साभार

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D