श्रीराम सुबेदी
ग्लास्गो, १७ कार्तिक । ‘तपाईं आत्तिनै पर्दैन, केही व्यवस्था हुन्छ, म लागिरहेको छु,’पछिल्ला एक महिनामा टेलिफोन र अन्य सामाजिक सञ्जालमार्फत आउने फोन र सन्देशको जवाफ उनले यसरी दिने गरेका छन् ।
यसरी सन्देशमात्र होइन, उनले स्कटल्यान्डको ग्लास्गोमा जारी जलवायु सम्मेलनका सहभागी नेपालीलाई सक्दो सहयोग गरेका छन्। सरकारी तथा गैरसरकारी क्षेत्रमा जोडिएका अधिकांश नेपाली सहभागीको ग्लास्गो बसाइ उनीसँग जोडिन्छ। उनी हुन् गैरआवासीय नेपाली संघ स्कटल्यान्डको राज्य समितिका अध्यक्ष काशीराम भण्डारी।
ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलन सफलताका अन्य मानक पनि होलान् तर स्टकल्यान्डमा गत डेढ दशकदेखि बस्दै आएका भण्डारी यो प्रसंगको महत्वपूर्ण पात्र बनेका छन्। पछिल्ला ४ साता उनको समय यही सम्मेलनका लागि हरकिसिमको सहयोग गर्नमा बितेको छ।
सम्मेलनमा आउनेहरूलाई विमानस्थलबाट पिकअपदेखि बसोबास व्यवस्था मिलाउन उनलाई भ्याइनभ्याइ छ। त्यसो किनभने ग्लास्गोका होटल अत्यधिक मागका कारण छुनै नसकिने गरी महँगिएका छन्।
पहिला ५० पाउन्डमा पाइने होटलका कोठाको मूल्य अहिले ५ सय पाउन्ड पुगेको छ र होटलमा कोठा पाउनु असम्भवजस्तै बनेको छ। सम्मेलनका ४० हजारभन्दा बढी सहभागीलाई थेग्न ग्लास्गोले सक्ने स्थिति भएन।
भण्डारी नेपालबाट आएका प्रतिनिधिमण्डलका उच्च अधिकारीदेखि अन्य सहभागीका लागि बसोेबासको व्यवस्था मिलाउन दिनरात नभनी खटेका छन्। लन्डनस्थित नेपाली दूतावासले सम्मेलनका लागि आवश्यक सहयोग जुटाउन सम्पर्क गर्ने व्यक्ति पनि उनै हुन्।
‘नेपाली दाजुभाइलाई गरिने सहयोगको छुट्टै अर्थ हुँदोरहेछ,’ ग्लास्गोनजिकैका अन्य सहरमा समेत गरी १ रेस्टुरेन्ट र २ वटा होटल सञ्चालन गर्दै आएका भण्डारी भन्छन्। यसअघि स्कटल्यान्डमा पढ्न आउने नेपाली विद्यार्थी तथा अन्यलाई सहयोग गर्दै आएका भण्डारीलाई यो स्तरको चाप पहिलोपटक परेको हो।
‘यति ठूलो स्तरमा आफ्ना दाजुभाइलाई सहयोग गर्न पाएको यो पहिलो अनुभव हो,’ उनी भन्छन्। सम्मेलनका नेपाली सहभागीमध्ये १० जना उनको पर्थस्थित होटलमा बसेका छन्। होटल अभाव र महँगीका कारण अधिकांश सहभागी अपार्टमेन्ट तथा स्कटल्यान्डमा रहेका नेपालीसँग मिलेर बसेका छन्। आफ्ना दाजुभाइसँग सम्पर्कमा आउन पाउँदाको अनुभव सुनाउदै ५१ वर्षीय भण्डारी भन्छन्, ‘मलाई त अहिले नेपाल गएजस्तै भएको छ।’
सबै प्रवासी नेपालीजस्तै भण्डारी पनि एकपछि अर्काे देश गर्दै स्कटल्यान्ड आइपुगेका हुन्। सन् २००४ मा बेलायत आउनुअघि दुबईमा उनले रेस्टुरेन्ट म्यानेजरको काम गरेका थिए भने त्यसअघि भारतको मुम्बईको एक रेस्टुरेन्टमा किचन हेल्परदेखि म्यानेजरसम्मको भूमिका उनले निर्वाह गरेका थिए। २ छोरी,१ छोराका बाबु भण्डारीले छोराछोरीको बिहेबारीपछि पत्नीसहित नेपाल फर्कने योजना बनाएका छन्। ‘म त नेपाल नै फर्कने हो,’ गुल्मी खैरेनीका उनी भन्छन्।
बेलायत सरकारले यहाँ आवश्यक पर्ने पेसा तथा कामदारको सूचीमा रेस्टुरेन्ट कामदार पनि राखेकाले भिसा अनुमति पाउन सहज हुनेमा रेस्टुरेन्ट कामदार पनि पर्छन्। त्यसो त स्कटल्यान्डमा लगभग ६ हजार नेपाली रहेकोमा अधिकांश रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्। सुरुमा कामदार भएर केही वर्षमै आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने धेरै नेपाली भएको भण्डारी बताउँछन्।
भण्डारीले थोरै भए पनि योगदान पुर्याएको ग्लास्गो सम्मेलन जलवायु परिवर्तनका प्रभाव र चुनौतीलाई सम्बोधन गर्न ‘अन्तिम तर सबैभन्दा उपयुक्त (लास्ट वेस्ट होप)’ मानिएको छ। अर्काे साताको अन्त्यसम्म चल्ने यो सम्मेलनमा विश्व समुदाय कति सफल होला, नतिजा आउन पर्खनैपर्छ।
आगामी दशकमा वन विनाश रोक्ने दिशामा चीन, ब्राजिल र अमेरिकाले अर्बाैं डलरबराबरको सहयोग प्याकेजमा मंगलबार सहमति गरेका छन्। सम्मेलनको सफलताका लागि यो सहमति किन महत्वपूर्ण छ भने पृथ्वीलाई तातो बनाउन जिम्मेवार हरितगृह ग्यास उत्सर्जनको एक चौथाइ हिस्सा बन विनाशको छ।
सन् २०५० सम्म कार्बन उत्सर्जनलाई खुद शून्यमा झार्न तथा गरिब राष्ट्रलाई वर्षैपिच्छे उपलब्ध गराउने भनेर वाचा गरिएको सय अर्ब अमेरिकी डलरबराबरको लक्ष्य सुनिश्चित गर्नेतर्फ विश्व कति सफल होला, केही दिनमा प्रस्ट हुनेछ। तर भण्डारीको योगदानलाई पनि यो शृखलामा जोड्दा अन्यथा नहोला।
साभार: नागरिक