जिल्ला समाचार

२०२० मा गुल्मी आउने पर्यटकलाई होटलको आवासमा २० प्रतिशत छुट दिईने

गुल्मी, पौष २१ । यतिबेला भ्रमण वर्ष शुरु भएको छ । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेसँगै भ्रमण वर्ष प्रारम्भ भएको हो । भ्रमण वर्षलाई अवसरको रुपमा लिनुपर्ने धेरैको बुझाई छ । पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षले बिशेष महत्व राख्दछ ।

यो समयमा स्थानीयस्तरमा रहेका ऐतिहासिक पहिचानका वस्तु, स्थानीय साधन र स्रोतलाई उजागर गर्न सके मात्र यसले महत्व राख्दछ । देशमा रहेका पर्यटकीय एवं ऐतिहासिक स्थान तथा वस्तुहरुको प्रचार–प्रसार गर्न सके मात्र पर्यटकको आगमन बढ्न सक्दछ । बाहिरबाट आउने पर्यटकका लागि होटल पहिलो गन्तव्य हुन्छ । होटल व्यवसाय पर्यटन व्यवसायको पहिलो आधारस्तम्भ पनि हो । समग्र जिल्लाको भ्रमणका लगि आउने पर्यटकका लागि सर्वप्रथम कहाँ बस्ने ? भन्ने चिन्ता हुन्छ । त्यसका लागि उनीहरुले गुणस्तरीय सेवा सहितको होटलको खोजीमा हुन्छन् ।

आउने पर्यटकका सुरक्षित आवास, तथा गुणस्तरी भोजनका लागि होटल व्यवसाय नै महत्वपूर्ण अङ्गको रुपमा रहेको हुन्छ । त्यस कारण पनि यसबाट प्रदान गरीने सेवा तथा सुविधालाई गुणस्तरीय एवं मिजाशिलो शैलीको व्यवहार आवश्यक पर्दछ, भन्नुहुन्छ होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेल । जिल्लामा आउने पर्यटकका लागि हालै बसेको होटल व्यवसायी मञ्च गुल्मीको बैठकले २० प्रतिशत आवासमा छुट दिने निर्णय गरेको छ । जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गुल्मीको एक सदस्य समेत रहनुभएका कंडेलले यो निर्णयलाई व्यवहारमा रुपान्तरण गर्न होटल व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो ।

‘भ्रमण वर्षलाई सफल बनाउन हामीले आवासमा बीस प्रतिशत छुट दिने संस्थागत निर्णय गरेका छौँ ।’ कंडेलले भन्नुभयो ‘पर्यटन वर्ष हाम्रै लागि हो । हाम्रै व्यवसायका लागि हो ।’ यसलाई सहि सदुपयोग गर्न सके आम्दानीको स्रोत पनि बढने बताउनुभयो । भ्रमण वर्षमा जिल्लामा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि स्थानीयस्तरका परिकारलाई बढवा दिने लक्ष्य समेत राखिएको छ । स्थानीय परिकालाई प्रचार गर्दै प्रयोगमा ल्याइने भएकाले पर्यटका लागि यो नयाँ स्वाद हुने अध्यक्ष कंडेलको भनाई छ । होटलमा बन्ने खानालाई गुणस्तरीय, स्वादिलो बनाउन बेला–बेलामा तालिमको पनि आयोजना गर्ने गरिएको छ । यसलाई मध्यनजर गर्दै स्थानीय र प्रदेशसरकारसँग पनि तालिमका लागि कार्यक्रम माग गएिको उहाँले जानकारी दिनुभयो ।

होटलबाट प्रवाह गरिने सेवामध्ये खाना सबैभन्दा पहिलो प्राथमिकतामा पर्दछ । ‘खानामा त एकदमै ध्याँन पु–याउनु पर्छ । होटलमा खाना खाने र हस्पीटलमा डक्टरले गर्ने अप्रेसन एउटै हो ।’ कंडेलले भन्नुभयो ‘हस्पीटलमा डक्टरले एउटा मात्र फल्ट गरे बिरामीको ज्यान जान सक्छ । होटलमा पनि खाना बनाउँदा ध्यान दिईएन, बिशाक्त पदार्थ मिसियो भने पनि ग्राहक बिरामी पर्न सक्छ ।’ यसतर्फ ध्याँन पु¥र्याउनु पर्ने उहाँको भनाई रहेको छ ।

खाना मात्र होइन, पर्यटकका लागि आवास देखी शौचालय सम्मका स्थान सफा हुनुपर्दछ । घरमा आउने पाहुनालाई गरिने व्यवहार होटलमा गर्न सकिए होटल व्यवसाय पनि फष्टीन सक्ने उहाँको भनाई रहेको छ । होटल व्यवसाय मञ्चकै प्रस्तावमा जिल्लामा फुड फेष्टीभल समेत आयोजना गरिने जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि राज्यका निकाय तथा स्थानीयवासी जिम्मेवार हुनुपर्ने अध्यक्ष कंडेलको भनाई छ । उहाँका अनुसार गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्नका लागि रेसुङ्गा विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छ ।

पाल्पादेखि प्युठानसम्मको मोटरबाटो दुई लेनको बनाउनुपर्ने, रुरुक्षेत्रधाम र रेसुङ्गाक्षेत्रको राष्ट्रिय सञ्चार माध्यमबाट प्रचार गर्नुपर्ने उहाँको तर्क छ । सरकारले यस तर्फ ध्याँन केन्द्रित गरे तम्घास बजारमा होटल व्यवसायीहरु आकर्षित भएर स्तरीय तथा पर्यटकीय होटल खुल्नेमा कंडेल विश्वस्त हुनुन्छ । साथै विगत ५ वर्षदेखि गुल्मी जिल्लामा केही स्तरीय होटल सञ्चालनमा आएका छन् । यसले गर्दा सेमिनार गोष्ठी तथा संघसंस्था, पार्टीका कार्यक्रमहरु होटलमै भएको पाइन्छ । विगत दुई वर्षको तथ्याङ्ग हेर्ने हो भने गुल्मी जिल्लामा १ हजार एक सय ४० साना चिया पसलदेखी मिष्ठान्न रेष्टुरेण्ट र स्तरीय लजहरु सञ्चालनमा रहेको कंडेलले उल्लेख गर्नुभयो ।

संघियताले गर्दा सदरमुकामका स्तरीय होटलहरु बन्द भएको अवस्था छ । केही चिसा पसल, चमेना गृहहरु गाउँपालिकामा नयाँ सञ्चालनमा आएका उहाँले जानकारी दिनुभयो । कँडेलका अनुसार तम्घास बजारमा ७० वटा लजहरु सञ्चालनमा छन् । जसमा ५ वटा पार्टी प्यालेस, १ जना देखी एक हजारसम्म अटाउन सक्ने क्षमता छ । स्तरीय होटल २४ वटा छन् । जसमा २ सय जना बस्न सक्ने क्षमता छ । बाँकी होटल सामान्य रहेका छन् । सबैलाई मिलाउँदा तम्घासमा १२ सय जना पाहुना राख्न सक्ने क्षमता छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D