प्रवास

लण्डनमा आयोजना हुने ओपन कन्सर्टको तैयारी पुरा, सागर आले लगायतका चर्चित कलाकारहरुको प्रस्तुती रहने

ओम प्रसाद थापा
लन्डन । नेपाली ख्याती प्राप्त राष्ट्रिय कलाकारहरूको साथ लण्डनमा हुने ओपन कन्सर्टको तयारी पुरा भएको छ । फार्नब्रोको फार्नब्रो फुटबल क्लव मैदानमा आगामी शनिबार अर्थात जुन ९ मा हुने नेपाली ओपन कन्सर्टमा नेपाल आइडल मार्फत उदाएका गायक सागर आलेले पनि प्रस्तुती दिने छन् ।

प्रथम नौमती बाजा गुल्मी युके समुहको मंगल नौमती धुनको साथ शुभ साईत गर्दै शुरु हुने कार्यक्रम अघिल्ला बर्षहरुमा भन्दा अझ ब्यवस्थित सँग सम्पन्न गर्ने हिसाबले तयारी गरिएको आयोजकहरुले बताएका छन् । नेपालबाट आउने चर्चित कलाकारहरू नै कार्यक्रमको मुख्य आकर्षण रहने छन् ।

आयोजक नेपाल मगर संघ युकेले शनिबार एक पत्रकार सम्मेलन गरी सो कन्सर्टमा आउने कलाकारहरुको बारेमा जानकारी गराएको थियो । संघका अध्यक्ष नेम थापाका अनुसार सो ओपन कन्सर्टमा सागर आलेका अलावा लोकगायिका तथा बेली डान्सर प्रीती आले, लोकगायक विमलराज क्षेत्री, इन्द्रेणी कार्यक्रमकी सञ्चालक समेत रहेकी गायिका मीना लामाको भिषा स्वीकृत भइसकेको र गायक एवं सञ्चारकर्मी पदम थापाको पनि छिट्टै टुंगो लाग्ने बताएका थिए ।

सन् २००७ मा शुरु भएको सो ओपन कन्सर्ट गत वर्षदेखि फार्नब्रो फुटबल क्लवमा हुने गरेको छ । सो क्लवमा करिब ५ हजार दर्शकलाई पानी परे पनि ओत लाग्न मिल्ने सिट क्षमता रहेको संयोजक बम थापा सूर्यवंशीले बताए । त्यसैगरी कार पार्ककका लागि क्लवकै कारपार्क र सिक्स्थ फर्म कलेजको कार पार्कको ब्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा करिब ३ देखि ५ हजार दर्शक आउने आयोजकको अपेक्षा छ । कन्सर्टका लागि जुनियर र सिनियर सिटिजनका लागि १० पाउण्ड, अग्रिम बुकिङमा १२ पाउण्ड र सोही दिन किन्दा १५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।

कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष तथा मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीले गतवर्षको अनुभवलाई ख्याल गरी यसपटक दर्शकहरुको सुविधाका लागि धेरै परिमार्जन गरिएको बताए । ‘म्यूजिक फर युनिटी’ को अवधारणामा सबै नेपालीलाई जोड्ने र मनोरञ्जन दिलाउने सो कन्सर्टको उद्देश्य रहेको उनले प्रष्ट गरे ।

एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहाले सो दिनको टिकट विक्री तथा स्टलका बारेमा जानकारी दिएका थिए । उनले उपलब्ध प्रविधिलाई प्रयोग गरी सजिलो र छरितो प्रवेशको व्यवस्था गरिएको बताए ।
कार्यक्रमकी सहसंयोजक सीता पुनले प्रेस विज्ञप्ति वाचन गरेकी थिइन् भने संघका पदाधिकारीहरु तथा गायक विमलराज क्षेत्रीले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

ओपन कन्सर्ट बेलुकी ८ बजे सकिना साथ नवयुवा समुहहरूले बेलायतका बिभीन्न ब्याण्डहरूको साथ सोही स्थानको कल्व हल भित्र साड्ग्तिक साँझ पनी सन्चालन गर्ने जानकारी गराईएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D