मनोज कार्की
गुल्मी, ०५ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले गरेको लकडाउनलाई पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । नगरपालिका भित्र समुदाय स्तरमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेकोले नगरपालिका पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेपनी आज लकडाउन खुकुलो भएपछि सबैलाई लकडाउन पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको हो ।
सदरमुकाम सहित आसपासका क्षेत्र समेटेर बनेको रेसुङ्गा नगरपालिकाले हिजो मंसिर ४ गते राती १२ बजेदेखी मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन गरिएको जानकारी गराएको थियोे । तर आज तम्घास बजारमा चहलपहल भएको थियो । नगरपालिकाको आदेशलाई बेवास्ता गदैं तम्घासमा सवारी चल्नुका साथै पसल खुलेपछी जिल्ला प्रशासन कार्यालय गुल्मीले लकडाउन पूर्ण रुपमा पालना गर्न आदेश गरेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।
पिसिआर परिक्षणको लागि स्वाब दिएका र पिसिआर रिपोर्ट पोजेटिभ भएका ब्याक्तीहरु सुरक्षित रुपले घरमै बस्न पनि प्रजिअ शर्माद्वारा जारी बिज्ञप्तीमा भनिएको छ । घरमा नबसी अटेरी गरी जथाभावी घर बाहिर हिँडेको देखेमा तुरुन्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रेसुंगा नगरपालिकाको कार्यालय तथा सम्बन्धित वडाको वडाअध्यक्षलाई सुचना दिई सहयोग गर्न पनि प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ ।
गुल्मीमा आज थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कुल संक्रिमतको संख्या ८ सय २० पुगेको छ । ७० जनाले उपचार गराइरहेका छन् । ११ जनाको मृत्यु भएको छ ।
