जिल्ला समाचार

मन्त्री बरालद्वारा गुल्मीमा झोलुङ्गे पुल शिलान्यास सँगै विद्यालयको भवन उद्घाटन

माधव ज्ञवाली
गुल्मी, मङ्सिर २७ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मीमा आज एक कार्यक्रमको बिचमा एकैसाथ झोलुङ्गे पुलको शिलान्यास सङ्गै विद्यालयको भवन उद्घाटन गर्नुभएको छ । मन्त्री बरालले जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.२ स्थित देउराली र कोलौंँदीलाई जोड्ने झोलुङ्गे पुलको शिलान्यास र सोही स्थानकै ग्वादी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्नुभएको हो।

शिक्षा विकास तथा निर्देशनालयको आर्थिक सहयोग तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त ४० लाख बजेटमार्फत निर्मित चारकोठे भवन र रास्टृय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा गुल्मीको रु. २५ लाख ६ हजार बजेटमा निर्मित अर्को दुईकोठे भवनको आज एकैसाथ मन्त्री बरालले उद्घाटन गर्नुभएको हो।खरको छानोबाट स्थापित भएको सो विद्यालयलाई आज सिमेन्टको पक्की भवनमा रुपान्तरण गर्न पहल गरेकोमा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले मन्त्री बराललाई धन्यवाद प्रकट गर्नुभएको छ।अझैपनी विद्यालयका भौतिक ,प्राविधिक देखि विविध पक्षहरुमा समस्या रहेको विद्यालयले जनाएको छ र आगामी दिनहरुमा विद्यालयको विविध पक्षहरुलाई मजबुत बनाउन प्रदेश सरकारबाट बजेटको अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

यता देउराली र कोलौँदी जोड्ने झोलुङ्गे पुलको उद्घाटन भएपछि त्यहाँका स्थानीय सबैको मुहारमा खुसी छाएको छ। त्यहाँका स्थानीयहरु साविकको वडा न.६,७ र ८ बाट काम विशेषले देउराली सम्म आइपुग्न करिब डेढ घण्टाको बाटो हिंड्नुपर्छ । त्यति मात्र हैन साविकको वडा न. ६,७ र ८ बाटै देउराली स्थित ग्वादी माध्यमिक विद्यालयमा पढ्न आउने साना साना विद्यार्थीहरु सोही लामो बाटो घुमेर आउनुपर्ने बाध्यता रहेको छ। स्थानिय विनोद ज्ञवालीका अनुसार कतिपय विद्यार्थीहरु साबिकको वडा न.८ बाट पढ्नको लागि रिमुवा र अश्लेवा पुग्नुपर्ने बाध्यता रहेको छ ।

तर अब सो पुल बन्ने भएपछि त्यो समस्याबाट मुक्त हुने कुरामा सबै विश्वस्त रहेका छन। त्यहाँ बन्ने सो झोलुङ्गे पुलको लम्बाई १३७ मि. रहेको छ।जम्मा रु. ५७ लाख ९७ हजार ९९९ लागतमा सम्पन्न हुने सो पुलको लागि सडक पुर्वाधार विकास कार्यालयले वि.स २०७७ भदौ ३० गते चन्द्रोदय निर्माण सेवा बझाङ सङ्ग सम्झौता गरिसकेको छ। काम वि.स २०७८ मङ्सिर २८ सम्म सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। काम समयमै सप्पन्न भए अबको एक बर्षमा ग्वादिका स्थानीयले ठूलो राहत पाउनेछन् । अहिले डेढ घण्टाको बाटो हिड्नुपर्ने स्थानीय त्यसपछि केही मिनेटमै आफ्नो गन्तव्य पुग्नेछन। ग्वादी माध्यमिक विद्यालयमा पढ्न आउने विद्यार्थीहरुको सङ्ख्यामा पनि वृद्धि हुने विस्वास पनि लिइएको छ।

उद्घाटन तथा शिलान्यास कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नो मन्त्रालयले शिक्षा ,खेलकुद ,कृषि ,सिँचाइ ,सडक,पुल इत्यादिमा पर्याप्त रुपमा काम गर्दै आएको र विकास निरन्तर बढ्ने शृङ्खला भएकोले यस्ता विकास निर्माणका कार्यलाई निरंतरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विकास निर्माणका कार्यहरु सबै स्थानीय सरकार मार्फतनै हुने र यसैको जगमा मात्रै प्रदेश र संघीय सरकार खडा हुने भएकोले स्थानीय सरकार सुदृढ हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। स्थानीय सरकार जनताको प्रत्यक्ष सम्पर्कमा हुने भएकोले सो मार्फत नै काम हुनुपर्छ भन्ने हेतुले गत बर्षदेखी नै ससर्तका कार्यक्रमलाई बढाइएको उहाँले बताउनुभएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले यस्तै यस्तै विकास निर्माणका कार्यले यस् गाउँपालिकामा निरंतरता पाइराख्ने बताउनुभएको छ। त्यहाँका विद्यार्थी तथा स्थानीयले भोग्दै आएको लामो दुरि अबको एक बर्षमा समाप्त हुने बताउँदै भवन निर्माण सङ्गै पुल निर्माणका लागि पहल गरेकोमा प्रदेश सरकारप्रति धन्यवाद प्रकट गर्नुभएको छ। कार्यक्रममा बोल्दै उपाध्यक्ष लक्ष्मी पन्थले आजसम्म आइपुग्दा सम्म गाउँपालिकाले जनताको आधारभुत आवश्यकतालाई प्राथमिकतामा राख्दै काम गर्दै आइरहेको बताउनुभएको छ ।

कार्यक्रममा भौतिक पुर्वाधार विकास कार्यालयका प्रमुख गोपि पुन,भौतिक पुर्वाधार विकास कार्यालय गुल्मीका इन्जिनियर संजिप पछाइँ, रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरि,लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वकीय सचीव यदु ज्ञवाली ,नेकपा रुरुक्षेत्र गाउँपालिका इन्चार्ज हिमाल श्रेष्ठ ,नेकपा रुरुक्षेत्र गाउँपालिका सचीव नारायण पौडेल,छायाँ सरकार प्रमुख देवेन्द्र मल्ल , विभिन्न वडाका जनप्रतिनिधिहरु पत्रकार,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D