जिल्ला समाचार

न्यायिक संवादका लागि जिल्ला न्यायधिश आफै गुल्मीका गाउँगाउँमा

टोपलाल अर्याल
गुल्मी, १० बैशाख । न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि जिल्ला अदालत गुल्मीले इस्मा गाउँपालिका १ को हस्तिचौरमा न्यायिक संवाद गरेको छ । गाउँ–गाउँ र जनस्तरसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत गुल्मीले चार स्थानमा न्यायिक संवाद गरेको श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए । जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर, मालिका गाउँपालिकाको सिमलटारी, धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको हस्तिचौरमा कार्यक्रम सम्पन्न भएको अदालतले जनाएको छ । जिल्ला अदालतका न्यायधिस रामप्रसाद न्यौपाने न्यायिक संवादका लागि आफै गाउँ–गाउँमा पुगिरहेका छन् ।

सोमबार इस्मा गाउँपालिकाको हस्तिचौरमा न्यौपानेले न्यायिक सार्वजनिक संवाद मार्फत अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहका प्रक्रिया एवं अदालतप्रति समुदायको जिज्ञासाबारे छलफल गरे । कार्यक्रममा जिल्ला न्यायधिस रामप्रसाद न्यौपानेले नागरिकका जिज्ञासाको जवाफ दिदै कानुनको अज्ञानता क्षम्य नहुने बताए । उनले गाउँमा कानुनी सचेतना नभएकाले धेरै जना फसिएको बताए । उनले अझै पनि कानुनको हेक्का नराखेर प्रहरी तथा सरोकारवालालेनै फौजदारी मुद्धा पनि गाउँबस्तीमै मिलापत्र गराउने गरेको ज्यादै दुखद पक्ष समाजमा रहेको औल्याए । साथै न्यौपानेले कानुनको अज्ञानता देखाएर प्रहरी, राजनीतिक दल, गाउँका अगुवाहरु लगायतले विभिन्न घटनामा अनुपयूक्त भूमिका खेल्दा अपराध लुक्ने र भोली त्यसले समाजमा झनै खतरा निम्त्याउने बताए । उनले नयाँ मुलुकी संहिताको बारेमा समेत जानकारी गराउँदै न्यौपानेले यो कानुन नागरिकलाई अनुशासनको कडिमा बाँध्न आएको बताए ।

त्यस्तै जिल्ला अदालत गुल्मीका बैतनिक वकिल बिष्णु बलालले अदालतमा विगत जस्तो झन्झटिलो अवस्था अहिले नभएको दावी गरे । उनले गरिव र कम्जोर हुँदैमा न्याय नमर्ने नभएकाले पीडा सहेर घरमै नबस्न स्थानीयलाई सुझाव दिए । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले अपराधीलाई राजनैतिक आड मिलेकाले समाजमा समस्या बढ्दै गएको बताए । उनले समाजमा बितण्डा मच्चाएर लुक्न पार्टी नेता वा कार्यालय पुग्ने कोहि कसैलाई संरक्षण गर्न नहुने कुरामा जोड दिए । त्यस्तै उपप्रमुख तथा न्यायिक समिति संयोजक बिमला खत्रीले न्यायिक समिति र प्रहरीमा आउने धेरै जस्तो मुद्धा मदिराका कारण सृजित समस्या भएकाले अहिले बिस्तारै कम भएको बताइन् । उनले गाउँका धेरै नागरिक न्यायिक सचेतनाभन्दा बाहिर रहेकाले आफुहरुले थप योजना मार्फत कार्यक्रम गर्दै जाने बताइन् ।

प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले समाजका धेरै सरोकारवालानै कानुनको बिषयमा जानकार नभएकाले आफुहरुलाई कहिलेकाँहि व्यावहारिक पक्षमा दवाव आउने गरेको बताए । उनले कर्मचारी र जनप्रतिनिधीको काममा व्यावहारिक र कानुनी दुवै खाले बिषय हुने भएकाले दुवै पक्ष सचेत रहेर जनताको सेवामा लाग्नुपर्नेमा बस्नेतले जोड दिए । कार्यक्रममा बोल्दै इस्मा गाउँपालिका ३ दर्लामचौरका स्थानीय राम बहादुर नेपालीले पहिलो पटक अदालत नागरिकको माझमा आउनु खुसीको कुरा भएको बताए । ‘गाउँका धेरै बिपन्न र गरिवहरुलाई अदालत कहाँ छ पत्तै छैन, त्यसैले अज्ञानतामा धेरै फसिएका छन्,’उनले भने,‘बस्ती–बस्तीमा कानुनी सचेतनाको आवश्कता छ ।’

गाउँका नागरिकहरुले पहिलो पटक प्रत्यक्ष रुपमा न्यायधिससंग सवाल जवाफ गरेका थिए । नागरिकतामा देखिएका कानुनी समस्या, नयाँ कानुन र व्यावहारिक पक्ष, गाउँमा देखिएको छुवाछुतको अवस्थाका बारेमा स्थानीय तथा जनप्रतिनिर्धी एवं सरोकारवालाले न्यायधिसलाई प्रश्न गरेका थिए । साथै उनीहरुले अदालतको लामो र झन्झटिलो प्रक्रियाका बारेमा पनि ध्यानाकृष्ट गराएका थिए । कार्यक्रममा जिल्ला अदालतका तहसिलदार राम बहादुर कुवंरले आफ्नो शाखा र केहि अदालती प्रक्रिया र शब्दको बारेमा जानकारी गराएका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D